जीवनको सहारा बन्ला भन्ठानेको छोरा गुमाएपछि…

RSS
0
Shares

सानेबहादुर नेपाली /तनहुँ । श्रीमानले अर्को श्रीमती ल्याएपछि नसिमुन मियाँ एक छोरा र एक छोरीलाई साथमा लिएर पालनपोषण गर्दै आएकी थिइन् । श्रीमानले वास्ता नगरेको कम्तीमा १५ वर्ष बितेको उनको भनाइ छ । साथमा रहेका एक छोरा पनि साथीसङ्गतमा लागेर गाँजा तान्न थालेको थाहा पाएपछि छोरा बिग्रने डरले आमा नसिमुन मियाँले १७ वर्षीय छोरा अजिज मियाँलाई सुधारगृहमा राख्ने निर्णय गरिन् ।

सुधारगृहमा राख्ने सिलसिलामा जिल्लाको व्यास नगरपालिका–१ गल्बुबेँसीस्थित न्यू डे फेलोसिप नेपालमा मासिक १५ हजार तिर्ने गरी असार २७ गते छ महिनाका लागि सम्झौता गरी उक्त सुधारगृहमा राखेको उनले बताइन् । पुस २७ गते सम्झौता अवधि सकिँदै थियो, छोरा सुध्रिएर आउला र जीवनको एउटा सहारा बन्ला भन्ने सपना देखेकी आमाले एक्कासि छोरा गुमाउन पुगेपछि ‘खुर्पाको चोट अचानोलाई मात्रै थाहा हुन्छ’ भने जस्तो हुन पुग्यो । “सोही रात नराम्रो सपना देखेँ । उठेर घडी हेरेँ रातको १ बजेको रहेछ”, उनले भनिन्, “छोरालाई फोन गरुँ कि झैँ लाग्यो । होइन रातिको समयमा नगरुँ झैँ लाग्यो र गरिनँ ।” बिहान करीब ४ बजेको समयमा फोन आयो । तपाईंको छोराले आत्महत्या गरेछन् । छाँगाबाट खसे झैँ भएँ र बेहोस भएछु, आँसु झार्दै नसिमुन मियाँले दुःखेसो पोखिन् ।

घटनास्थलमा गएर हेर्दा टाउको निहुराउनुपर्ने स्थानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेको रहेछ, बचाउन सकिन्छ कि भनेर पासो काटेको भनी सुधारगृह सञ्चालकले जानकारी दिएको उनको भनाइ छ । घटनास्थलको अवस्था हेर्दा झुण्डिएर आत्महत्या गरेको विश्वास लागेन र जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिन जाँदा लिन नमानेको उनको दुःखेसो छ । तीन पटकसम्म प्रहरी कहाँ धाएँ सञ्चालकको नाउँ नहटाएसम्म जाहेरी लिन मानेन । प्रहरीको भनाइअनुसारको जाहेरी लिएर गएपछि मात्रै प्रहरीले नाउँमा पूरक जाहेरी दिन जाँदा प्रहरीले लिन नमानेपछि सरकारी वकिलको कार्यालयमा गएर जाहेरी लिन नमानेको भन्दै निवेदन दिएपछि सरकारी वकिलको कार्यालयबाट पत्र पठाएपछि मात्रै प्रहरीले जाहेरी दर्ता गरेको उनले बताइन् ।

सुधारगृह सञ्चालक पवन चुमी थापामगर र कर्मचारी जीतेन्द्र खत्रीविरुद्ध किटानी जाहेरी दर्ता भएको छ भने अन्य चारजनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ । गत मङ्सिर २७ गते सुधारगृहमा रहेका छोरालाई भेट्न जाँदा सुधारगृहका कर्मचारी खत्रीले कुटेर यातना दिने गरेको बताएका थिए । एक्लो छोरा भएकाले कुटपिट नगर्न आग्रह गर्दै आए पनि बेवास्ता गर्दै यातना दिने र कुटपिट गर्ने गरेको जानकारी पाएको आमा नसिमुन मियाँले बताइन् । सुधारगृहमा बसेको तीन महिनापछि मोबाइल लिन पाउने प्रावधानअनुरुप छोरालाई मोबाइल पठाइदिएको भए पनि मोबाइल नदिई तिनै कर्मचारी खत्रीले नै लिएको खुल्न आएको छ ।

पुस २७ गते सुधारगृहबाट भाइलाई निकालेर माघको १ गतेदेखि चितवनमा लगेर आफूसँगै राख्ने र भाइको आनीबानीमा सुधार गर्ने अभिलाषाका साथ सुधारगृहमा जाने सपना चकनाचुर भएको स्वास्थ्यकर्मी एवं दिदी रविना मियाँले बताइन् ।

व्यवस्थापन फितलो

उक्त सुधारगृहमा तुना भएको जुत्ता, गलबन्दी, पेटीलगायत सामग्री लैजान मनाही गरिएको भए पनि गलबन्दीको पासो लगाएर आत्महत्या गरिएको भनी ढाकछोप गर्न खोजिएको मृतककी दिदी रविना मियाँले बताइन् । सर्वप्रथम सुधारगृहमा सिसी क्यामेरा जडान अनिवार्य गर्नुपर्ने व्यवस्था रहे पनि क्यामेरा जडान नगर्नु सञ्चालकको कमीकमजोरी भएको उनको भनाइ छ ।

सोही सुधारगृहमा बस्दै आएका व्यास नगरपालिका–१२ का सोमबहादुर भुजेलले सुर्ती खाना दिएको र सुर्ती खाएको निहुँमा कर्मचारी खत्रीले अजिज मियाँलाई यातना दिएको प्रहरीसमक्ष बताएका छन् । सुर्ती दिनेलाई कारवाही नगर्ने खानेलाई मात्रै किन सजाय गरियो उल्टै प्रश्न गर्दै मृतककी दिदी रविनाले भनिन्, “मेरो भाइको आत्महत्या नभई हत्या नै गरिएको हो ।” उक्त सुधारगृह विगत तीन वर्षदेखि नवीकरण नगरी अवैधानिकरुपमा सञ्चालन हुँदै आएको बताइएको छ । घटनामा संलग्न भएको आशङ्कामा छजनालाई पक्राउ गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिएका छन् ।

मेयर कप ब्याडमिन्टन प्रतियोगिता फागुन ६ गतेदेखि

जिल्ला सदरमुकाम दमौलीमा तेस्रो व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । व्यास नगर व्याडमिन्टन क्लबको आयोजनामा आगामी फागुन ६ देखि ८ गतेसम्म हुने सो प्रतियोगितामा श्रेणी ए, बी र सी तथा महिला जोडीबीच हुने निर्णय भएको क्लबद्वारा सोमबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

सी लेभलका लागि प्रथम, द्वितीय र सान्त्वनाका लागि क्रमशः १५ हजार, १० हजार र चार÷चार हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका लागि कूल दुई लाख ६७ हजार ३०० खर्च लाग्ने अनुमान गरिएको क्लबले जनाएको छ ।

भाडामुक्त बन्दै म्याग्दे

म्याग्दे गाउँपालिका–३ मा वडाकार्यालय भवनको सोमवार गाउँपालिकाकी अध्यक्ष मायादेवी राना एवं उपाध्यक्ष बालकृष्ण घिमिरले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

सो अवसरमा गाउँपालिकाकी अध्यक्ष रानाले गाउँपालिकाभित्रका वडा तथा स्वास्थ्य केन्द्रका भवन निर्माण गरेर भाडामुक्त बनाउन लागिएको बताउँदै गाउँपालिकाले विकास निर्माण, स्वास्थ्य, शिक्षा र रोजगारमूलक सीपलाई प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी दिइन् । उनले जग्गा व्यवस्थापन हुन नसक्दा उक्त वडा कार्यालय भाडामा बसेर सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएकाले अबका दिनमा सहज हुनेमा विश्वास व्यक्त गरिन् ।

भवन निर्माणका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ तनहुँका निवर्तमान अध्यक्ष कृष्णराज पण्डितले करीब एक करोड मूल्य बराबरको लालपुर्जाभित्रको आठ आना र भोगचलन गर्दै आएको अन्य दुई रोपनीसहित कूल साढे दुई रोपनी जग्गा निःशुल्करुपमा दान गरेका हुन् । गाउँपालिकामा रहेका छवटा वडामध्ये ३ नं वडाको भवन जग्गा नपाएर समस्यामा परेको आफूले जानकारी पाएपछि जग्गादान गर्ने निर्णयानुरुप उपलब्ध गराएको उनले बताए ।

म्याग्दे गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको केही समयअघि मात्रै शिलान्यास सम्पन्न गरिएको छ । वडा नं ३ र ६ वडा भवनका लागि निःशुल्क जग्गादान प्राप्त भएको गाउँपालिका कार्यालयले जनाएको छ । अन्य वडाका लागि सार्वजनिक जग्गामा भवन निर्माण गरिएको छ । उक्त गाउँपालिकाअन्तर्गतका वडामध्ये वडा नं १ र ५ को गत वर्ष टेन्डर गरी निर्माण सम्पन्नको अन्तिम चरणमा रहेका छन् भने वडा नं ४ र ७ को यसअघि नै शिलान्यास भइसकेको छ ।

त्यसैगरी वडा नं २ को वडा कार्यालयले साबिकको गाविस भवनबाट काम प्रवाह गरिँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । छवटा वडामध्ये तीनवटा वडामा आधारभूत स्वास्थ्य केन्द्रका भवन निर्माण गरिसकिएको छ भने अन्य तीनवटामा पुरानै स्वास्थ्य भवनबाट सेवा सञ्चालन गरिँदै आएको उनले जानकारी दिए । वडा नं १ मा जग्गा व्यवस्थापन गर्न नसकिए पनि स्वास्थ्य सेवाको पहुँच पुर्‍याइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?