बागलुङ । बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानूनको विद्यार्थी हुन् । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनको भविष्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो । उनलाई उभिएर बोल्ने भनेपछि उभिनु पहिले नै हातगोडा सेलाएजस्तै हुन्थ्यो ।
विद्यालयमा आन्तरिक परीक्षा चलिरहेकै समयमा उनले उभिएर बोल्न सिक्ने प्रयास गरिन । आन्तरिक परीक्षालाई तपसिलमा राखेकी थापाले बागलुङ बजारमा पाँच दिने पत्रकारिता तालीम लिइन् । अहिले कृतिको धेरै मान्छेका अगाडि उभिदासमेत हात काप्दैन् । खुट्टा लुलिएको जस्तो पनि लागेको छैन् ।
कृति र कृतिजस्तै ४० युवायुवतिका लागि बोल्ने र लेख्ने सिक्ने वातावरण पत्रकार महासङ्घ बागलुङ शाखाले मिलाएको हो । कोरोना महामारीपछिको संक्रमणका कारण भएका पत्रकारकै पेशागत सुरक्षाका लागि पौठेजोजी खेलिरहेको महासंघले नयाँ पत्रकार पेशामा प्रवेशको अभियान चलाएको छ ।
बागलुङ नगरपालिकाको साथ महासंघलाई छ । पाँच दिवसीय निःशुल्क पत्रकारिता तालीममा बागलुङका अनुभवी पत्रकारको प्रशिक्षण लिएका युवायवतीले समापनमा आशाको सन्देश प्रवाह गरे । “केही सिक्छु जस्तै लागेको थिएन, अहिले बोल्ने भोक जागेको छ” तालीमको समापनमा आफ्नो विचार निर्धक्क राखेकी कृतिले भनिन्, “सिकाइको शुरुवात भएको छ ।” कानूनी पेशा र पत्रकारितासँगै गर्ने सोच भएकाले पहिले बोल्न सिकेको उनको भनाइ थियो ।
तालीम सकिएपछि बागलुङ–६ का दिवाकर सापकोटा पनि मञ्चमा पुगेर कड्कीए, “सिकाइ शुरु भएको छ, हामी सहभागीले आयोजकलाई उपलब्धि दिन्छौं ।” लामो समय पत्रकारिता क्षेत्रमा आकर्षण घट्दै गएकोप्रति चिन्ता गर्ने पत्रकार महासंघले आफैले आयोजना गरेको तालीमबाट आशाको दियो बलेको जनाएको छ । “पत्रकारितामा हिजो अवसर थिएनन्, जनशक्ति फालाफाल हुन्थ्यो, आज अवसर छन् तर जनशक्ति पाइन्न”, पत्रकार महासंघका अध्यक्ष दिल शिरीष भन्छन्, “योग्य पत्रकारलाई अहिले जहाँ पुग्दा पनि खोसाखोस हुन्छ ।” तालीमले पत्रकारिता क्षेत्रमा लाग्ने प्रेरणा प्रदान गरेको उनले बताए ।
आधारभूत तालीममा पत्रकारिताका सबै पक्षको सामान्य जानकारी दिँदा मात्रै अहिलेको पुस्ताले त्यसको गहन अध्ययन आफै गर्नसक्ने उनको बुझाइ छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पत्रकारिता जस्तो सम्मानित पेशामा आकर्षण घट्नु दुःखद रहेको बताए ।
द्यौलागिरि एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले योग्य पत्रकारलाई अहिले पनि रोजगारीको ठाउँ खाली रहेको बताए । उनले सञ्चारमाध्यमले खोजेको जस्तो जनशक्ति पाउनै कठिन भइरहेको बताए । पाँच दिन चलेको तालीममा जिल्लामा क्रियाशील पत्रकारले सहजीकरण गरेका थिए ।
मोहनबहादुर मल्ल साहित्य पुरस्कार डा. पौडेललाई
यस वर्षको मोहनबहादुर मल्ल साहित्य पुरस्कार शोधकर्ता डा षडानन्द पौडेललाई समपर्ण गरिएको छ । साहित्यकार मोहनबहादुर मल्लको ११०औँं स्मृति दिवशका अवसरमा पौडेललाई पुरस्कृत गरिएको हो । मोहनबहादुर मल्ल स्मृति समितिका अध्यक्ष काजीरोशनले पुरस्कार समर्पण गरेका हुन् ।
मल्लको कृतिमा शोध गरेका पौडेलको योगदानको मूल्याङ्कन गर्दै उक्त पुरस्कार प्रदान गरिएको काजी रोशनले बताए । समितिले स्थापना गरेको मोहनबहादुर मल्ल पुरस्कार–२०७७ पहिलो पटक प्रदान गरिएको समितिका अध्यक्ष रोशनले बताए । २५ हजार नगद पुरस्कार दिइएको हो ।
पौडेलले मोहनबहादुर मल्लका उपन्यासमा यथार्थतावाद विषयमा पहिलो पटक विद्यावारिधि गरेका थिए । पर्वतको मल्लाजमा जन्मेका मल्ल नेपाली साहित्य, उपन्यासलगायतको लेखन विधाका उत्कृष्ठ व्यक्तित्वका रुपमा गनिन्छन् । पौडेल त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्राध्यापक हुन् । उनले लामो समयदेखि नेपाली भाषाको प्राध्यापनसँगै नेपाली साहित्यको विकासमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।
समालोचकका रुपमा उनले नेपाली साहित्यमा आफ्नो छवि स्थापित गरेका छन् । पुरस्कार समर्पण समारोहमा साहित्यकार केदारनाथ पौडेल, मुकुन्द शर्मा, चन्द्रबहादुर लामिछानेलगायतले रचना वाचन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया