काठमाडौंमा नाटक र नौटंकी : रसुवागढी नाकामा चीनको नाकाबन्दी, एक वर्षदेखि थन्कियो नेपाली कन्टेनर !

'व्यवसायी र उपभोक्ता चरम मारमा'

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवादले मुलुकमा राजनैतिक संकट पैदा भएको छ । यता काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच नाटक र नौटकींको दोहोरी चलिरहेको छ, उता रसुवागढी केरुङ नाकामा भने छिमेकी मुलुक चीनले अघोषित नाकाबन्दी गरिरहेको छ । यो नाकामा देखिएको नाटक झण्डै झण्डै २०७२ सालमा भारतले गरेको नाकाबन्दी जस्तै छ ।

कोरोना भाइरस ‘कोभिड १९’का कारण गत चैतयता यो नाका ठप्प प्राय छ । चिनियाँ पक्षले कोरोनाकै बहानामा नेपाली व्यवसायी र मालवाहक कन्टेनरलाई प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ । अहिले चीनले दैनिक ५ कन्टेनर सामान मात्र नेपालतर्पm पठाउने गरेको छ । त्यहीपनि चीनको कन्टेनरले नै रसुवागढी नाकामा आएर झारिदिन्छ । जब कि सामान्य अवस्थामा करिब ७० को हाराहारीमा कन्टेनर चीनतर्फ जानुका साथै चीनतर्फबाट पनि नेपाल भित्रिने गरेका थिए ।

चीनको मनपरी, व्यवसायी आक्रोशित

नाका खुलाउन नेपाल सरकारबाट कुनै पहल नभएको भन्दै रसुवाका व्यवसायीले गत शुक्रवार टिमुरेमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा उनीहरुले चीनसँग सहज व्यापार गर्नका लागि पहल गर्नुपर्ने, अघोषित नाकाबन्दी अन्त्य गरिनुपर्ने लगायतका चर्का नारा लगाए । रसुवा केरुङका व्यवसायी सुरेश थोक्राले लामो समयदेखि आफूहरुले नाका सहज बनाउन सम्बन्धित निकायमा ध्यानाकर्षण गराएपनि सुनुवाइ हुन नसकेपछि बाध्य भएर विरोध प्रदर्शन गर्नु परेको बताए ।

उनले नेपालीलाई कोरोनाको बहानामा आफ्नै भूमिमा आउजाउ गर्न समेत रोक लगाएपनि चिनियाँ नागरिकहरु भने निर्धक्क आवतजावत गरिरहेको बताए । नाकामा चीनको अघोषित नाकाबन्दीले एक वर्ष अगाडि केरुङ पुगेको गाडी समेत अहिलेसम्म ल्याउन नसकिएको उनको गुनासो छ । नाकामा चीनले गरेको मनपरीकै कारण यहाँ चल्ने गाडीहरु धमाधम बैंकले लिलाम गर्न थालेको उनी बताउँछन् ।

अर्का व्यवसायी सुरेन्द्र खनालले पनि नाकामा चीनको एकलौटी तन्त्र चलेको बताए । चिनियाँ प्रहरीले नेपालीलाई कुटपिट समेत गर्ने गरेको र उनीहरुले भने जस्तो नभए तत्कालै नाका ठप्प बनाइदिने गरेको उनको दुखेसो छ ।

आफूहरु कसरी गाडी छुटाउने भन्ने चिन्तामा रहेको भन्दै उनले एक वर्षदेखि रोकिएको गाडीहरु ल्याउनका लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । यहाँका स्थानीय व्यापारीहरुले सुरक्षामा सबै मापदण्ड पालना गर्न आफूहरु तयार रहेको भन्दै सहज आवतजावतको व्यवस्था मिलाइ दिन माग गरेका छन् ।

व्यवसायी सोनाम ताङ्दी तामाङले नाकामा भएको चीनको मनपरीले सामान ढुवानीको मूल्य निकै बढेको बताए ।

आफूहरुलाई बैठकमै सामेल नगराएको भन्दै उनले चीनले सुनेपनि नसुनेझैं नाटक गरिरहेको टिप्पणी गरे ।

यस्तै स्थानीय छेसम तामाङले पनि रसुवावासीले २५ किमी सम्म आवतजावत गर्न पाउने व्यवस्था कायम गरिएको भएपनि अहिले चीनले त्यो सम्झौता समेत उल्लंघन गरेको बताए । चीनको अघोषित नाकाबन्दीले यहाँका ढुवानी व्यवसायी, होटल, किरानालगायतका व्यवसायीहरुलाई जीवन निर्वाह गर्न निकै गाह्रो भएको र पलायन हुन बाध्य भएको उनले बताए ।

मजदुर पनि मारमा

नाकामा चीनको यो मनपरी प्रवृत्तिले व्यवसायी मात्रै होइन त्यहाँ काम गरेर गुजारा चलाइरहेको मजदुरहरुलाई पनि हातमुख जोर्न निकै धौधौ भएको छ ।

नाकामा लोड अनलोडको काम गर्दै आएका मजदुरहरु पनि पहिले कामको मारामार हुने तर अहिले काम पाउनै मुस्किल हुने गरेको बताउँछन् ।
त्सै

कारण यहाँ पहिले ६ सय भन्दा बढी मजदुरले काम गर्थे तर अहिले करिब ३५ जना मजदुर र १६ जना ड्राइभरले मात्र काम पाएका छन् ।
अहिले चिनियाँ व्यापारीले नाकासम्म सामान ल्याएर झारिदिने गरेका छन् भने त्यहाँबाट फेरि लोड गरेर नेपाल ल्याउने गरिनुका साथै पहुँच नै नहुँदा अनेकन समस्या निम्तने गरेका छन् ।

अत्याधिक भाडा, मारमा उपभोक्ता

यो नाका भएर पहिले दैनिक २ सयवटा सम्म गाडी आउँथ्यो तर अचेल बढीमा ५ वटा चिनियाँ कन्टेनरले रसुवागढीसम्म आएर सामान झारिदिन्छ ।

केरुङदेखि रसुवागढीसम्म सामान ल्याउन चिनियाँ कन्टेनरले महंगो मूल्य लिन्छन् । केरुङबाट काठमाडौँ (१२४ किलोमिटर) आइपुग्दा प्रति कन्टेनर १ लाख १० हजार नेपाली रुपैयाँ पर्दथियो । तर अहिले केरुङदेखि रसुवागढीसम्म जम्मा २४ किलोमिटर बाटोमा चिनियाँ कन्टेनरको भाडा ७० हजार आरएमबी अर्थात् नेपाली रुपैयाँ ९ लाख रुपैयाँ भन्दा बढी पर्छ । रसुवागढीदेखि काठमाडौँसम्मको ९० किलोमिटरमा नेपाली कन्टेनरले ८५ हजार भाडा लिने गर्छन् । सामान्यतया एक चिनियाँ कन्टेनरको नेपाली कन्टेनरमा हाल्दा २ कन्टेनर हुन जान्छ ।

सिधै केरुङदेखि काठमाडौं सामान आयात हुँदा टुटफुटको सम्भावना पनि उत्तिकै कम थियो तर अहिले चिनियाँ टोलीले नेपाली भूमिमा आएर सामान छोडेर हिँडेपछि मात्र नेपाली टोलीले त्यो सामान चलाउन पाउँछ ।

नाका व्यवस्थापन समिति भन्छ, ‘लगानी खेर जाने अवस्था आयो’ 

रसुवागढी नाका व्यवस्थापन समितिका अध्यक्ष कामिरुपा नोर्वु तामाङले अन्तर्राष्ट्रिय नाकाका रुपमा घोषित यो नाकामा चीनले गरेको मनपरीका कारण व्यवसायीको अवस्था नाजुक बनेको बताए । कोरोनाविरुद्धको खोप आइसक्दा समेत यसैको बहानामा चीनले नाकामा गरेको अघोषित नाकाबन्दीले व्यवसायीको जीवनस्तरमा ठूलो धक्का लागेको उनले बताए ।

अध्यक्ष तामाङले विगतमा केरुङदेखि रसुवागढीको पुलसम्म सामान ल्याउँदा मनपरी भाडा लिने गरेको बताए । नाकामा भएको चीनको नाटकले यस क्षेत्रमा गरिएको लगानी खेर जाने अवस्था आएको उनको भनाइ छ । जाडोको सामान गर्मीमा र गर्मीको सामान जाडोमा भित्रिने गरेको भन्दै उनले सम्बन्धित निकायले चाँडो भन्दा चाँडो ध्यान दिनुपर्ने बताए ।

‘जति पहल गरेपनि चीनले नाका खोल्न मानेन’ –  वडाध्यक्ष

यहाँका जनप्रतिनिधि भने नाकालाई सहज बनाउनका लागि निकै पहल गरेको बताउँछन् । रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ का वडाध्यक्ष दावा दोर्जे तामाङले आफूहरुले जति पहल गरेपनि चीनले नाका खोल्न नमानेको बताए । चीनले भने जस्तै सुरक्षाको मापदण्ड पालना गरेपनि नाकामा सहजता नआएको उनको भनाइ छ ।

नाकालाई पहिले जस्तै सञ्चालनमा ल्याउनका लागि अपनाउनुपर्ने सबै मापदण्ड पूरा गर्न आफूहरु तत्पर रहेको तामाङ बताउँछन् । नाकाबाट आउने गाडी र सामानको लोड अनलोडका लागि वडा कार्यालयले अहिले ३५ जना मजदुर र १७ जना सवारी चालकलाई क्वारेन्टाइनको व्यवस्था गरेको छ ।

प्रधानमन्त्री र परराष्ट्रमन्त्री किन मौन ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड १९’का कारण सारा विश्व नै आक्रान्त बन्यो र त्यसमा नेपालपनि अछुतो रहेन । चीनबाट नै शुरु भएको भाइरसको कारण केही समय नाका सिल हुनु स्वभाविक हो तर यत्ति लामो समयसम्म पनि त्यहाँका मजदुर र व्यवसायीको पीडामा कसैको ध्यान नजानु लाजमर्दो विषय हो ।

अझ यस्तो चर्को भाडाका कारण आम नेपाली उपभोक्ता यसको मारमा परिरहेका छन् । फेरि त्यो चर्को भाडा नेपाली व्यवसायीले होइन चिनियाँ पक्षले लिइरहेको छ । यस्तै समस्या रसुवागढी नाकामा मात्र होइन सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाकामा पनि छ ।

भारतले दक्षिणी सिमानामा लगाएको नाकाबन्दीपछि राष्ट्रवादी नेताको ट्याग भिर्न सफल प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा उत्तरी नाका रसुवागढीमा अघोषित नाकाबन्दी भइरहेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि यस क्षेत्रमा पुगेर स्थलगत भ्रमण गरिसकेका छन् । यस विषयमा सरोकारवाला व्यक्ति र संघसंस्थाहरुले परराष्ट्रमन्त्री ज्ञवालीलाई ध्यानाकर्षण पत्र समेत बुझाइसकेका छन् ।

चिनियाँ पक्षले चर्को भाडा लिएरसामान निर्यात गर्दा नेपाली बजारमा चिनियाँ सामग्रीको मूल्य ह्वात्तै बढेको छ । तर यस विषयमा सरकार भने बेखबर जस्तै छ ।

राजनैतिक जोडघटाउमै व्यस्त सरकारको ध्यान केरुङ काठमाडौं नाकाको यो अस्तव्यस्ततर्फ कहिले जाला  ?

भिडियो हेर्नुहोस् : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?