एजेन्सी । नयाँ प्रजातिको कोरोना भाइरसमा खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा खोप अभियान स्थगित गरिएको छ । नयाँ प्रजातीको भाइरसमा एष्ट्राजेनिका–अक्सफोर्डको खोप प्रभावकारी नभएको भन्दै दक्षिण अफ्रिकामा खोप अभियान स्थगित गरिएको हो ।
दुई हजार व्यक्तिमा गरिएको अध्ययनले सो कम्पनीले उत्पादन गरेको खोप सामान्य र मध्यम खालका संक्रमितमा धेरै प्रभावाकरी नभएको देखाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण अफ्रिकामा कोरोना संक्रमित मध्ये ९० प्रतिशतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पाइएको छ ।
दक्षिण अफ्रिकाले एष्ट्राजेनिका–अक्सफोर्डका १० लाख डोज खोप लगाइसकेको छ । अर्को सातादेखि पुन खोप कार्यक्रम संचालन गर्ने कार्य तालिका थियो । तर सो खोप प्रभावकारी नभएपछि कार्यक्रम स्थगित गरिएको हो । थप अध्ययनको नतिजा हेरेर खोप लगाइने वा नलगाइने निर्णय हुने समाचारमा जनाइएको छ ।