बदलिँदो सामाज : ‘लिभिङ टुगेदर’ बस्नेहरुको उजुरी बढेको बढ्यै, छैन कानून !

घटना १

आजभन्दा ४ वर्षअघि निशा राईले कालीमाटी महिला सेलमा अरुण श्रेष्ठविरुद्ध बहुविवाहको उजुरी दिइन् । बुझ्दै जाँदा उनीहरु १० वर्षदेखि काठमाडौंको सोह्रखुट्टेमा ‘लिभिङ टुगेदर’मा बस्दै आएका रहेछन् । अरुणले निशालाई थाहै नदिइ अर्को विवाह गरेपछि निशा उजुरी दिन बाध्य भइन् । निशाको मेडिकल रिपोर्टदेखि हरेक कागजपत्रमा श्रीमान्को नाम लेख्ने ठाउँमा अरुणको नाम लेखिएकाले उनी सहजै कानूनको फन्दामा परे । बहुविवाहको सजायअनुरुप अरुण र उनकी नवविवाहित श्रीमतीले २ वर्ष जेलमा बिताउनुप-यो ।

१० वर्ष लामो सम्बन्ध यसरी टुङ्ग्याउनुको कारण सोध्दा अरुणले निशासँग आफ्नो ‘जात’ नमिलेकाले अर्को विवाह गरेको बताएका थिए ।

घटना २

सीमा र सौरभ एउटै घरको दुई पसलमा काम गर्थे । काममा आउँदाजाँदा उनीहरुको चिनजान भयो । विस्तारै उनीहरु साथी भए । र, मित्रता प्रेममा परिणत भयो । विवाहअघि नै उनीहरु सँगै बस्न थाले । डेढ वर्षको ‘लिभिङ रिलेसन’ पछि सीमालाई थाहा भयो सौरभको अर्की प्रेमिका रहिछ । सीमाले महिला सेलमा निवेदन दिइन् । छलफलका लागि दुवैजनालाई बोलाइयो । सौरभले सीमासँग कोर्ट म्यारिज गर्छु भन्दै त्यहाँबाट बाहिरिए । त्यसदिन देखि उनी कसैको सम्पर्कमा आएका छैनन् । परिवारको पनि ।

घटना ३

सोनिया एक मोडल हुन् । केही वर्षअघि मात्र उनका एक साथीले प्रमोदसँग उनको परिचय गराएका थिए । बोलचाल, भेटघाट बाक्लिँदै जाँदा उनीहरु एकअर्कासँग नजिकिए र सँगै बस्न थाले । दुवैजनाबीच झैझगडा भैरहन्थ्यो । कहिले ब्रेक अप फेरि प्याच अप । यसैगरी जसोतसो बाँचेको थियो उनीहरुको सम्बन्ध । तर, एकपटक त्यस्तै ठूलो झगडा भयो र उनीहरुबीच बोलचाल नै बन्द भयो । ५ महिनासम्म ।

५ महिनापछि एकदिन सोनियाको म्यासेन्जरमा यस्ता तस्वीरहरु आए जसले उनको होस् उडायो । प्रमोदको विवाह भएछ । तस्वीर उनै साथीले पठाएका थिए जसले उनीहरुको परिचय गराइदिएका थिए । सोनियाले तत्कालै महिला सेलमा उजुरी दिइन् । गर्भपतन गराउँदा मेडिकल रिपोर्टमा श्रीमान्को नाम लेख्ने ठाउँमा प्रमोदकै नाम लेखिएको थियो । यसले सोनियालाई आफ्नो र प्रमोदको सम्बन्ध भएको दाबी गर्न सहज भयो ।

घटना ४

विवाहपश्चात् रातको ११ बजेसम्म लगातार आइरहने फोन, म्यासेज र मिस्डकलले सारिका हैरान भइन् । उनका श्रीमानले पनि नवविवाहित श्रीमतीको यो हर्कत देखेर शंकाको नजरले हेरे । उनले नयाँ नम्बर लिइन् । नयाँ फेसबुक आइडी खोलिन् । यतिसम्मकी उनले आफू हिँड्ने स्कुटर समेत फेरिन् तर उनको समस्या घटेन । बरु झन् बढ्यो । कारण : विवाहअघि लिभिङ टुगेदरमा बसेको पार्टनर ।

सरोजसँग ३ वर्ष लिभिङ टुगेदरमा बसेपछि सारिका काठमाडौंको सानोभ-याङका एक युवकसँग विवाह बन्धनमा बाँधिइन् । आपसी समझदारीमै छुटेका उनीहरुबीच यो लफडा आउने कारण थियो, सरोजको एकोहोरोपन । सारिकालाई अन्तै विवाह गर्ने अनुमति दिएको सरोजलाई एक्लोपनले यसरी सतायो कि उसले सबै वाचाबन्धन भुल्यो । सरोजले लेख्ने म्यासेजहरु पनि त्यस्तै किसिमका भएको अनुसन्धानबाट खुलेको छ । यही कारणले वैवाहिक जीवनमा असर पुगेको भन्दै सारिका प्रहरीकोमा पुगिन् । जब यो सबै कुरा सारिकाका श्रीमान्ले थाहा पाए उनले आफूले गलत पार्टनर रोजेको भन्दै सारिकाबाट छुट्टिन चाहे । न प्रेमी, न परिवार, न समाज, न माया । अन्ततः सारिका यता न उताकी भइन् ।

घटना ५ 

श्रीमान् वैदेशिक रोजगारीका लागि गएको बेला सम्झना एक्लै काठमाडौंमा डेरा गरी बस्थिन् । सानो जागिर र श्रीमान्ले पठाएको पैसाबाट उनको जीवन भनेजसरी चलेको थियो । दुख पाइस् मंगले आफ्नै ढंगले भनेजस्तै अचानक उनको मति बिग्रियो र सँगै काम गर्ने ईन्द्रलाई उनले जीवनमा प्रवेश दिइन् । अर्थात् उनीहरु हप्ताको ४ दिन सँगै बस्न थाले ।

विवाहित ईन्द्रका एक छोरा, एक छोरी र श्रीमती छन् भन्ने थाहा पाएकी सम्झनाले त्यो कुरालाई सामान्य रुपमा लिइन् र आफ्नो ईच्छाअनुरुप उसलाई प्रयोगमा ल्याइन् । उनलाई चाहिएको बेला ईन्द्र खडा हुन्थ्यो । तर यस घटनाले उनको जीवनमा त्यतिबेला तरंग ल्यायो जतिबेला उनका श्रीमान् नेपाल फर्किए । श्रीमान्ले यस सम्बन्धबारे थाहा पाएपछि उनको फूलजस्तो संसार भत्कियो । लथालिंग भयो । अहिले उनीहरु अलग भएका छन् । आफू विवाहिता भएकोले ईन्द्र पनि सम्झनाको जिम्मा लिन तयार भएनन् । सम्झना अहिले पश्चतापमा बाँचिरहेकी छिन् ।

यस किसिमका धेरै घटनाहरुको उजुरी आउँछन् आजभोलि महिला सेल तथा राष्ट्रिय महिला आयोगमा । यी घटनाहरुको जरा हो, ‘लिभिङ टुगेदर’ ।

जबसम्म एउटा वैज्ञानिकले आफूले चाहेको आविष्कार गर्दैन ऊ रोकिँदैन । एउटा रसायनसँग अर्को फेरि अर्कोसँग अर्को मिसाउँदै, मात्रा घटाउँदै, बढाउँदै नौलो प्रयोग गरिरहन्छ ।

‘लिभिङ टुगेदर’ ठ्याक्कै त्यस्तै प्रयोग हो जुन एउटा व्यक्तिले आफ्नो जीवनसाथी खोज्ने क्रममा गर्छ । यस अवधारणा अनुसार दुईजना व्यक्ति प्रेममा पर्छन्, आपसी समझदारीमा विवाहअघि नै पतीपत्नी सरह सँगै बस्छन्, एकअर्कासँग तालमेल मिल्यो भने बिहे गर्छन् होइन भने आआफ्नो बाटो अलग गर्छन् । एक किसिमले विवाह गर्नुपूर्व व्यक्तिले गर्ने ‘एक्सपेरिमेन्ट’ हो यो । प्रेम सम्बन्धमा भएका दुवैजनाका लागि यो एउटा परीक्षा हो जसमा ‘पास’ भएपछि मात्र सम्बन्ध अघि बढ्छ ।

हुनलाई त यो अभ्यास पश्चिमा मुलुकहरुबाट शुरु भएको हो । त्यहाँको वातावरण र संस्कार संस्कृतिसँग सुहाउँदो भएकाले धेरै युवायुवती ‘लिभिङ टुगेदर’ मा बस्छन् । पश्चिमा संस्कृतिले त यस अभ्यासलाई यतिसम्म अपनाएको छ कि ‘लिभिङ टुगेदर’ मा बस्ने जोडीले सन्तानसमेत जन्माएका छन् । र, यस्तो सम्बन्धबाट जन्मिएको बच्चाले पनि विवाहबाट जन्मिएको बच्चासरह नै हकअधिकार पाउँछन् त्यहाँ ।

हो, विवाहको अपरिहार्यतालाई लिभिङ टुगेदरको अवधारणाले निष्क्रिय बनाएको छ अमेरिका तथा यूरोपका राष्ट्रहरुमा ।

नेपाललाई पनि यस चलनको हावाले छोएको छ केही वर्ष यता । विशेष गरी शहरी क्षेत्रमा ‘लिभिङ टुगेदर’मा बस्ने जोडीको सङ्ख्या बढेको छ । त्यसो त, यस विषयमा खासै अनुसन्धान भएको छैन । अनुसन्धान गर्नलाई त यस्तो सम्बन्धमा भएका प्रेमीप्रेमिकाले खुलेर आफ्नो सम्बन्धको बारेमा बोल्न सक्नुप-यो । जुन अझै सम्भव छैन । विवाहलाई एउटा व्यक्तिगत निर्णय मात्र नभएर समाज, धर्म, परम्परा र संस्कृतिसँग जोड्ने नेपाली समाजले विवाहअघि युवायुवती सँगै बस्नुलाई कहाँ सहजै पचाउन सकेको छ र !

त्यसैले, अहिले कुनै अनुसन्धान भइहाल्यो भनेपनि सही तथ्याङ्क आउला भन्न सकिने अवस्था छैन ।

राष्ट्रिय महिला आयोगका सूचना अधिकारी ध्रुवराज क्षेत्रीका अनुसार नेपालमा ‘लिभिङ टुगेदर’लाई लिएर छुट्टै कानून नभएकाले यससँग सम्बन्धित घटनालाई घरेलु हिंंसामै राखिएको छ । ‘छुट्टै कानून नभएकाले हामीसँग लिभिङ टुगेदरको छुट्टै तथ्याङ्क त छैन,’ क्षेत्री अगाडि थप्छन्, ‘तर, आर्थिक वर्ष २०७६/७७ को मङ्सिरसम्मको तथ्याङ्क अनुसार ४ सय ८ वटा घरेलु हिंसाको उजुरी आएको छ जसमध्ये २० वटा जति लिभिङ टुगेदरसँगै सम्बन्धित छ ।’

कालीमाटी महिला सेलकी ज्ञान मञ्जरी शर्माका अनुसार प्राय उजुरी दिने व्यक्तिले शुरुमै लिभिङ टुगेदरको कुरा नखुलाउने तर, पछि अनुसन्धान गर्दै जाँदा भित्री कुरा खुल्ने भएकाले पनि यसको यकिन तथ्याङ्क राख्न गाह्रो छ ।

तर, प्रहरीकामा पर्ने हत्या, हिंसा, कुटपिट, बलात्कार आदिजस्ता उजुरीहरुको अनुसन्धान गर्दै जाँदा कतिपय घटना ‘लिभिङ टुगेदर’ मै बसेका जोडीबीच भएको खुलेपछि भने नेपालमा पनि ‘लुकीछिपी’ यो अभ्यास गरिरहेको तथ्य बाहिरिएको छ । यो कुरा बाहिरिएसँगै विभिन्न व्यक्तिले विभिन्न किसिमका अभिव्यक्तिहरु राखेका छन् । प्रश्न उब्जाएका छन् ।

संस्कृतिविद् प्रा.डा देवमणी भट्टराई भन्छन्, ‘यस्तो अवधारणाले संस्कार मासिन्छ, संस्कृतिमा आँच आउँछ ।’

उनका अनुसार हाम्रो समाजले पूर्वीय संस्कार अवलम्बन गर्दछ । यस संस्कारअन्तर्गत विवाह, सम्बन्ध, घर, परिवारको महत्त्व एउटा व्यक्तिभन्दा माथि हुन्छ अर्थात् हाम्रो संस्कारले मेलमिलाप, सम्झौता र एकतालाई प्राथमिकतामा राख्छ । यो हाम्रो पहिचान हो । प्रविधि र विकासमा पश्चिमा राष्ट्रलाई पछ्यायो भन्दैमा संस्कृति नै बिर्सनु नहुने बताउँछन् डा. भट्टराई । ‘यसरी विवाहअघि नै युवायुवती सँगै बस्न थाले भने त वर्षौंदेखि संस्थागत भएको ‘विवाह’को संस्कृति नै लोप भएर जान्छ,’ संस्कृतिविद् डा.भट्टराई अगाडि थप्छन्, ‘विवाह लोप हुनु भनेको दीर्घकालीन समाज निर्माण नहुनु हो ।’

यस्तो अभ्यासको प्रभाव बढ्दै जाने हो भने निकट भविष्यमा विवाहको अवधारणा नै बिलाएर जाने चिन्ता व्यक्त गर्दै डा. भट्टराई भन्छन्, ‘आफ्नो संस्कृतिको घाँटी ननिमोठौं ।’

संस्कृतिविद्ले ‘लिभिङ टुगेदर’लाई ‘विवाह’लाई लोपोन्मुख अवस्थामा पु-याउने तत्त्वका रुपमा हेरेका छन् भने महिला अधिकारकर्मीले यसलाई दिगो वैवाहिक सम्बन्धको आधारका रुपमा व्याख्या गरेका छन् ।

महिला अधिकारकर्मी बबिता बस्नेत भन्छिन्, ‘विवाहपछि मन नमिलेर सम्बन्ध विच्छेद गर्नु भन्दा बरु लिभिङ टुगेदरमा बसेर एकअर्कालाई बुझेर विवाह ग-यो भने वैवाहिक सम्बन्ध मजबुत हुन्छ ।’ आफूले देखेका, भोगेका अनुभव जोड्दै उनी सुनाउँछिन्, ‘अहिले नेपालको कानून महिलाको हकमा निकै बलियो छ त्यसैले, यसैलाई आधार बनाएर विवाहपछि सम्बन्ध विच्छेद गर्ने र श्रीमानको सम्पत्तिमा आफ्नो अधिकार दाबी गर्दै आधा सम्पत्ति पनि लिने विकृति फैलिएको छ ।’

बस्नेत अगाडि थप्छिन्, ‘अन्याय त केटोको बुबाआमालाई पो भएको देख्छु म किनकी नेपाली समाजमा जग्गाजमिन, धनसम्पत्ति त प्राय बाउबाजेकै पालोदेखि सञ्चित गरिएको हुन्छ तर, गलत बुहारी भित्र्याउनाले सबै स्वाहा भएर जान्छ ।’ त्यसैले अधिकारकर्मी बस्नेतका अनुसार यस्तो समस्या झेल्नु भन्दा बरु केटाकेटीले विवाह अघि नै एकअर्काको बानीव्यवहारसँग चिरपरिचित भएमा सम्बन्ध स्थायी हुन्छ ।

यति हुँदा हुँदै पनि बस्नेतलाई ‘लिभिङ टुगेदर’ले महिलाको सुरक्षामा ल्याएको चुनौतीप्रति भने निकै चिन्ता छ । केही समय सँगै बस्ने, शारीरिक सम्बन्ध राख्ने र युवती गर्भवती भएपछि सम्बन्ध तोड्ने, बच्चालाई आफ्नो नाम दिन हच्किने, असुरक्षित गर्भपतन गराउन दबाव दिने, शारीरिक तथा मानसिक यातना दिने, कुटपिट, बलात्कार आदिजस्ता समस्याहरु लिभिङ टुगेदरको नकारात्मक पक्ष भएको बताउँछिन् बस्नेत ।

फेरि, यस्तो सम्बन्धमा रहेर गर्भवती भएको र केटाले पनि बच्चा अपनाउन तयार नभएको अवस्थामा एउटा महिलाले ‘सिंगल मदर’ अर्थात् एकल आमा भएर बच्चा जन्माउँछु भन्ने वातावरण नेपालमा अझै नभएको गुनासो गर्छिन् उनी । ‘विदेशमा पो सिंगल मदरलाई सम्मान गरिन्छ र उसको बच्चाले सामान्य बच्चासरह अधिकार पाउँछ तर, यहाँ अझै त्यस्तो कानून बनिसकेको छैन,’ अधिकारकर्मी बस्नेत भन्छिन्, ‘सिंगल मदर र उसको बच्चाको अधिकार सुनिश्चित गरेपछि चाहिँ बल्ल यो अवधारणा महिलाका लागि सुरक्षित हुन्छ ।’

महिलाकै सुरक्षा चुनौतीको कुरा गर्दा समाजशास्त्रकी प्राध्यापक सविता प्रसाइँ लिभिङ टुगेदर अवधारणा आफैमा राम्रो भएतापनि नेपाली परिवेश ‘नसुहाउँदो’ भएको बताउँछिन् । ‘पश्चिमा राष्ट्रमा पो हरेक नागरिक शिक्षित हुन्छन्, आत्मनिर्भर हुन्छन् त्यसैले, सम्बन्ध टुटेपछि पनि उनीहरु सहजै अघि बढ्छन् तर, यहाँ त कतिपय अवस्थामा लिभिङ टुगेदरमा बसेका महिलाहरु पुरुषमै निर्भर भएका हुन्छन्,’ प्राध्यापक प्रसाइँ थप्छिन्, ‘सम्बन्ध टुटेपछि महिलाहरुको बिचल्ली हुन्छ ।’

सँगै बस्दै जाँदा मन मिलेन र छुट्टिने निर्णय एकतर्फी भयो भने पुरुषहरुले महिलाको चरित्र हत्या गर्ने, अश्लील फोटो/भिडियो सार्वजनिक गर्दिने जस्ता समस्याहरु पनि देखिन्छन् । त्यसैले, प्रसाइँका अनुसार शिक्षा र अवसरमा महिला र पुरुषको बराबर पहुँच स्थापित भएपछि लिभिङ टुगेदरको अभ्यासमा अपराध र असामाजिक क्रियाकलापहरु आफै न्यूनीकरण हुँदै जानेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?