हिउँ जमेका कारण अवरुद्ध भएको त्रिभुवन राजपथ खुला

RSS
0
Shares

काठमाडौं । सडकमा हिउँ जमेका कारण अवरुद्ध त्रिभुवन राजपथमा हिउँ हटाइएपछि सवारी साधन चल्न थालेका छन् । सडक डिभिजन कार्यालय हेटौँडाअन्तर्गत दामन क्याम्पबाट खटिएका १० जनाको टोलीले सडकमा जमेको हिउँ हटाएपछि सडक सञ्चालन भएको हो ।

मकवानपुरको सीमभञ्ज्याङस्थित सडकमा हिउँ जमेका कारण आज आइतवार बिहानैदेखि यातायात अवरुद्ध हुँदा हेटौँडा र काठमाडौंबाट छुटेका सवारी साधन सीमभञ्ज्याङ क्षेत्रमा रोकिएका थिए ।

सडकमा हिउँ जम्नाका साथै आज बिहान तुषारो जमेपछि त्रिभुवन राजपथमा जोखिम बढेको सडक विभागका कर्मचारी गणेश खत्रीले जानकारी दिए । हिउँ पन्छाएर सडक खुले पनि पूर्ण होशियारीका साथ सवारी साधन चलाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालकलाई अनुरोध गरेको छ ।

सुमो दुर्घटना हुँदा मृत्यु

गए राति मकवानपुरको भीमफेदी गाउँपालिकाको गोलमोडमा हिउँमा चिप्लिएर टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनाका साथै नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

काठमाडौँबाट पालुङ हुँदै वीरगञ्जतर्फ गइरहेको ना १ ज ४१३८ नम्बरकोे टाटासुमो गोलमोडबाट हिउँमा चिप्लिएर खसेको हो । दुर्घटनामा घाइते भएका सप्तरी जिल्ला, बनौली गाउँपालिका–२ का ३३ वर्षीय प्रमाण्डु चौधरीको गए राति हेटौँडामा उपचारका क्रममा मृत्यु भएको हो ।

गम्भीर घाइते हुनेमा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, उहाँकी पत्नी २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई–१० का ३२ वर्षीय प्रदीपकुमार साह र सर्लाही अभिलाशी–७ का ३२ वर्षीय मधुकर यादव छन् । उनीहरूको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको तथा सामान्य घाइते भएका घर गइसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन्।

यही माघ १० गतेदेखि हेटौँडा–काठमाडौँ चल्ने छोटो मार्ग भीमफेदी–कुलेखानी स्तरोन्नति भइरहेकाले बन्द रहेका कारण सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?