सेवाशुल्कबाट अर्बौं आम्दानी गर्ने बैंक करोडमा सीमित

काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइ र कोभिडका कारण अधिकांश वाणिज्य बैंकको सेवाबापतको शुल्क आम्दानीमा संकुचन आएको छ । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा सार्वजनिक गरेको तथ्यांकअनुसार २७ ओटा वाणिज्य बैंकमध्ये १३ ओटाको सेवाशुल्क आम्दानी गतवर्षको तुलनामा घटेको यो खबर आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छिन् । । बैंकहरूले सेवाशुल्क धेरै लिएको गुनासो आएपछि राष्ट्र बैंकले चालू आवमा सीमा तोकेर नियन्त्रण पनि गरेको छ ।

चालू आवको पुसमा सेवाशुल्कबाट सबैभन्दा बढी आम्दानी गर्ने एनआईसी एशिया बैंकको पनि गतवर्षको तुलनामा ३४ दशमलव १९ प्रतिशतले आम्दानी घटेको छ । यो बैंकको सेवाशुल्कबापतको आम्दानी गतवर्ष अर्बमा थियो । तर, यसपटक भने करोडमा सीमित छ । चालू आवको दोस्रो त्रैमासमा उक्त बैंकले ८५ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र सेवाशुल्कबापत आम्दानी गरेको छ । गत आवको पुसमा यस्तो आम्दानी १ अर्ब ३० करोड रुपैयाँ थियो ।

पहिला दूरदराजमा कर्जा प्रवाह गर्ने, लघुवित्त र सहकारीहरूले ओगटेका तथा अन्य वाणिज्य बैंकको पहुँचमा नआएका ग्राहकसँग कम ब्याजदर लिएर सेवाशुल्क बढी लिने गरेको छ । तर, राष्ट्र बैंकले कडाइ गरेपछि सेवाशुल्क आम्दानी घटेको एनआईसी एशिया बैंकका सूचना अधिकारी अर्जुनराज खनियाले बताए । ‘दूरदराजका ग्राहकलाई सेवा दिँदा बैंकको लागत पनि महँगो पर्न जान्छ । त्यहीअनुसार ग्राहकलाई ब्याजदर कम गर्ने तर सेवाशुल्क अलिकति बढी अर्थात् लघुवित्त, सहकारीहरूले लिएजति लिने गरेका थियौं । त्यसैले बिजनेशमा पनि राम्रो वृद्धि भएको र सेवाशुल्क आम्दानी पनि राम्रो थियो,’ उनले अभियानसँग भने, ‘तर, यसबीचमा सेवाशुल्क बैंकहरूले असाध्यै लिए भनेर गुनासो आयो । त्यसपछि राष्ट्र बैंकले सेवाशुल्कमा कडाइ गर्‍यो । त्यसैले सेवाशुल्क घटेको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?