एकल विन्दु सेवा केन्द्रमा घटेन लगानीकर्तालाई झमेला

काठमाडौं । लगानीकर्तालाई एकै ठाउँबाट सबै सेवा प्रदान गर्न स्थापना भएको एकल विन्दु सेवा केन्द्र डेढ वर्ष बितिसक्दा पनि उद्देश्यअनुरूप पूर्णरूपमा सञ्चालनमा आएको छैन । लगानीकर्तालाई सम्पूर्ण सेवा एकै विन्दुबाट दिन सरोकारका १३ निकायको प्रतिनिधिहरू रहनुपर्ने व्यवस्था गरिए तापनि केन्द्रमा सातओटा निकायको अहिलेसम्म प्रतिनिधित्व हुन सकेको छैन ।

सरकारले ती एकाइमा सम्बद्ध निकायका प्रतिनिधि नपठाउँदा लगानीकर्ताहरूले नेपालमा भोग्ने प्रक्रियागत झमेलाको अन्त्य हुन नसकेको हो । सरकारले लगानीकर्तालाई उद्योग स्थापनाको अनुमति, दर्ता, स्थापनादेखि विस्तार हुँदै बहिर्गमनसम्म र सुविधा–सहुलियत प्रदान गर्ने सबै सेवा एकै ठाउँबाट विनाझन्झट प्रदान गर्ने उद्देश्यले गतवर्षको जेठमा सो केन्द्रको स्थापना गरेको हो ।

एकल विन्दु सेवा केन्द्रको स्थापनाले लगानीसम्बन्धी काम गर्न एकबाट अर्को निकाय धाउनुपर्ने भन्झट र ढिलाइको अन्त्य हुने अपेक्षा निजीक्षेत्रले गरेको भए तापनि अहिलेसम्म केन्द्रले आफ्नो उद्देश्यअनुसार एकद्वार प्रणालीबाट सम्पूर्ण सेवाहरू प्रदान गर्न सकेको छैन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, कम्पनी रजिस्ट्रार कार्यालय, विद्युत् प्राधिकरणजस्ता महत्वपूर्ण निकायहरूका प्रतिनिधिहरू केन्द्रमा अझै हुन नसक्दा लगानीकर्ताहरू ती निकायमै फाइल लिएर धाउन बाध्य छन् ।आर्थिक अभियान दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?