काठमाडौं । नेकपा नेपाल–दाहाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सबै तहको बहुमत भएकाले निर्वाचन आयोग, अदालत सबैतिरबाट आफूहरूलाई नै आधिकारिकता मिल्ने दाबी गरे । पार्टीले छिटै श्वेतपत्र जारी गर्ने उनले बताए । उनले ओलीले सत्तामा बसेर जंगली राज र गुन्डागर्दी शैली अपनाएको आरोप लगाए । ‘यो प्रतिगमनका पक्षमा र संविधानमाथि भएको हमला हो । हामी सबै कुरा जनतालाई भन्नेछौं । अहिले किन नागरिक समाज, लेखक, बुद्धिजीवी प्रतिगमनविरुद्ध सडकमा आएका छन् ? उनीहरू कम्युनिस्ट होइनन् । यो देशका राम्रा दिमाग भएका सबै प्रतिगमनविरूद्ध छन,’ दाहालले भने ।
दाहालले आफूहरूको आन्दोलन सत्यका पक्षमा रहेको दाबी गरे । ‘२०४६ साल आसपासमा लाखौं सडकमा ल्याएर पञ्च र्याली गरिएका थिए । त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं । सत्य के हो त्यतातिर लागौं । हामी सत्यको पक्षमा छौं, न्यायको पक्षमा छाैं,’ उनले भने ।
अध्यक्ष दाहालले एमसीसीबारे पार्टीले अन्तिम निर्णय लिइनसकेको बताए । यसैकारण आफूले बिहीबारको आमहडतालमा एमसिसीविरुद्ध नारा लगाउन रोकेको स्पष्टीकरण दिए । ‘एमसिसीबारे पार्टीले अन्तिम निर्णय लिएको छैन । यो बेला प्रतिगमनविरुद्धको नारामा फोकस नभएर दसथरीको नारा लगाउनुभन्दा एउटै विषयमा फोकस हौं भनेको हो । त्यसले आन्दोलनले गर्ने प्रहारको निसाना कमजोर हुन्छ भनेर मैले नारा लगाउन रोकें,’ उनले भने, ‘एमसिसीको पक्षमा लागेको भन्ने आरोप सत्य होइन ।’ नागरिक दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया