नारायणहिटीको आमसभामा दुई पत्रकारमाथि दुर्व्यवहार

काठमाडौँ- प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपाको काठमाडौँमा आयोजित जनसभामा दुई पत्रकारमाथि दुर्व्यवहार भएको छ । जनसभाको समाचार संकलनका क्रममा कान्तिपुर दैनिक पत्रकार विनु सुवेदी र नयाँपत्रिका दैनिकका पत्रकार दिपेश शाहीलाई नेकपा कार्यकर्ताले दुर्व्यवहार गर्द समाचार संकलनमा अवरोध गरेका हुन् ।

उनीहरुलाई ओलीको विरोधमा समाचार लेखिएको भन्दै अवरोध गरिएको हो । नेपाल पत्रकार महासंघले उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौंको दरबारमार्गमा भएको आमसभाको समाचार संकलन गर्न पुगेका सुवेदी र शाहीलगायतका पत्रकारलाई प्रेसको परिचय दिएर प्रेस पास देखाउँदा देखाउँदै पनि नेकपा कार्यकर्ताबाट समाचार संकलनमा अवरोध गर्दै दुर्व्यवहार गरिएको महासंघले जनाएको छ ।

‘स्वतन्त्र रूपमा पेशागत जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई लक्षित गरी समाचार संकलनमा अवरोध खडा गर्दै गरिएको दुर्व्यवहारको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो’ महासंघले विज्ञप्तिमार्फत भनेको छ, ‘महासंघ प्रेस स्वतन्त्रताविरोधी यो घटनाको कडा शब्दमा भर्त्सना गर्दछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?