बन्दकर्ताको शैलीः कतै अनुरोध, कतै आक्रोश

पोखरा । नेकपाको दाहाल–नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल गर्दा धेरैतिर तोडफोड, कुटपिट, अवरोध, आगजनीका घटना घटे । तर, पर्यटकीय सहर पोखरामा भने बन्दकर्ताको शैली अन्यत्रको भन्दा केही फरक देखिन्थ्यो । बन्द भन्दाभन्दै पनि सवारी चलाएका चालकलाई बन्दकर्ताले सम्मानपूर्वक सवारी नचलाउन अनुरोध गरिरहेका थिए । सीमित समर्थकले मात्र सवारीचालकमाथि बढी आक्रोश पोखेको देखिन्थ्यो ।

बन्द, हडताल भन्नासाथ आम नागरिक सकेसम्म सवारी चलाउन चाहँदैनन् । केहीले बाध्यताका लागि मात्र सवारी चलाएका हुन्छन् । बाध्यतावस सवारी चलाउनेको पीडा सबै बन्दकर्ताले बुझ्दैनन् । बन्दकर्तामध्ये पनि केही सीमित समर्थक हुन्छन्, जसले नागरिकको बाध्यतालाई पनि बुझिदिन्छन् र उनीहरूको सवारीलाई सहजै पार गराइदिन्छन् । त्यस्तै दृष्य देखिन्थ्यो, बिहीबार पोखरामा ।

मोटरसाइकल चलाउनेलाई कतिपय बन्दकर्ताले सभ्य तरिकाले अनुरोध गर्दै सवारी थन्क्याउन अनुरोध गरेका थिए । बन्द आयोजक दाहाल–नेपाल समूहका नेता तथा गण्डकीका प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने भन्छन्, ‘हामीले शान्तिपूर्वक बन्द आह्वान गरेका हौ । त्यही भएर कतै पनि केही भएन ।’ संवैधानिक कु हुँदा आन्दोलनमा उत्रन बाध्य भए पनि जनताको बाध्यतालाई आफूहरूले बुझेको उनले बताए । ‘सधैं तोडफोड हुनुपर्छ भन्ने छैन । हो बन्दका कारण अप्ठेरो भएको होला, तर, आन्दोलन संयमतापूवक गरेका हौ,’ लामिछानेले भने, ‘हामीले अत्यावश्यक काममा हिडेकालाई कतै अप्ठेरो पारेनौ ।’ नागरिक दैनिकमा सन्तोष पोखरेलले समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?