अमेरिकाले हुथी विद्रोहीविरुद्ध यमनलाई गर्दै आएको सहयोग अन्त्य गर्ने

एजेन्सी । अमेरिकाले यमनमा हुथी विद्रोहीविरुद्धको कारबाहीमा गर्दै आएको सहयोग अन्त्य गर्ने भएको छ। बिहीवार विदेश नीतिबारे पहिलो पटक वक्तव्य दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले यमनमा युद्ध अन्त्य गर्न सो समर्थन फिर्ता लिएको बताएका छन्।

सो घोषणापछि अब अमेरिकाले आक्रामक कारबाहीहरू रोक्नेछ। त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई पनि हतियारहरू विक्री गर्न बन्द गर्नेछ । बाइडेन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरू बेच्न रोकिसकेको थियो।

सन् २०१४ मा यमन सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो। त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, बेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो। छ वर्षभन्दा लामो समयदेखि जारी युद्धका कारण यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएको ठानिन्छ।

बाइडनले यमनका लागि नयाँ दूतमा टीम लेन्डरकिंगलाई नियुक्त गर्ने ठानिएको बीबीसीले जनाएको छ। उनी अनुभवी कूटनीतिज्ञ र मध्यपूर्व मामिलाका विज्ञ हुन्।यसले ट्रम्प प्रशासनले चाल्दै आएको नीतिमा परिवर्तनको सङ्केत गरेको छ। ट्रम्प प्रशासनका बेला साउदी नेतृत्वको गठबन्धनलाई सहायतामा वृद्धि गरिएको थियो। नयाँ घोषणाहरूले यमनको विनाशकारी युद्ध अन्त्य गर्ने बाइडेनको प्रतिबद्धताको पुष्टि गरेको छ ।

गत महिना ट्रम्पका विदेशमन्त्री माइक पोम्पेओले हुथीहरूलाई आतङ्कवादीको संज्ञा दिन लागिएको बताएका थिए। सहायता संस्थाहरूले भने उक्त कदमका कारण खाद्यान्न सहायताको खाँचो रहेका लाखौंलाई सेवा दिन नसकिने भन्दै आलोचना गरेका थिए। संयुक्त राष्ट्रसङ्घले यमनमा ८० प्रतिशत जनसङ्ख्या सहायता र संरक्षणको खाँचोमा रहेको भन्दै त्यहाँ विश्वकै खराब मानवीय सङ्कट रहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?