वीरगञ्ज । नेपाली आयातकर्ताले समुद्रपार व्यापारमा उपयोगमा ल्याएको भारतको पश्चिम बंगालस्थित श्यामाप्रसाद मुखर्जी (कोलकाता) बन्दरगाह भन्सार प्रशासन कार्गो सहजीकरणमा सक्रिय भएको छ । पछिल्लो समय बन्दरगाह भन्सारले तेस्रो मुलुकबाट नेपालका लागि आउने कार्गो ढुवानीलाई छरितो बनाउन प्रक्रियागत सुधारमा सक्रियता देखाएको हो ।
बन्दरगाह भन्सारले सूचनामार्फत कन्टेनरमा लगाइएको वन टाइम लक (सिल) फुटेको वा अक्षर नबुझिएको अवस्थामा कन्टेनर खोलेरै मालसामान जाँच गर्नुपर्ने बाध्यता हटाएको छ । बन्दरगाह भन्सारले बुधवार यस्तो सूचना जारी गरेको हो ।
यसअघि वस्तुको उत्पत्तिमा लोड भएको कन्टेनरमा लगाइएको सिल ढुवानीको क्रममा टुटफुट भएमा बन्दरगाहमा सम्पूर्ण सामान चेकजाँच गर्नुपर्ने बाध्यता थियो । बन्दरगाह भन्सारले प्रावधान संशोधन गरेकाले अब यो समस्या हटेको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासका उपमहावाणिज्यदूत सेवन्तक पोखरेलले बताए ।
यसअघि समुद्रपारबाट कोलकाता बन्दरगाहमा ल्याइएका कन्टेनरको सिलमा सामान्य कैफियत भेटिए पनि कन्टेनर खोलेर चेकजाँच गर्नु परेको आयातकर्ता बताउँछन् । यसले नेपाली आयातमा लोडअनलोड, चेकजाँचका लागि हुने समय र खर्च बढेको थियो ।
भन्सारको पछिल्लो सूचनामार्फत गरिएको व्यवस्थाले सिलमा उल्लेख भएको अक्षर र अंकमा सामान्य अन्तर देखिनेबित्तिकै कन्टेनर खोल्ने र चेकजाँचको झमेला समाधान भएको आयातकर्ताका प्रतिनिधिले बताए । सिलमा सामान्य कैफियत फेला परेमा भन्सारले कस्टम ट्रान्जिट डिक्लियरेन्समा नयाँ सिल उल्लेख गरेर गन्तव्यसम्म ढुवानी गर्न दिने भएको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया