बिहानैदेखि काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलीको कदमका विरुद्ध आयोजित आम हडताल सफल पार्न आह्वान गर्दै बिहीवार बिहानदेखि बागवजार , भोटाहिटी , जमल , रत्नपार्क क्षेत्रमा जुलुसहरु भइरहेका छन् ।

नेकपा प्रवक्ता एवम् आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बिहानैदेखि ती जुलुसहरुको नेतृत्व गरिरहेका छन् । यस क्षेत्रको प्रदर्शनमा अनेरास्ववियू र मजदुरको टोली खटिएको छ । टोलीमा अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ , मजदुर नेता जगत सिंखडा , विद्यार्थी नेता सुरेन्द्र बस्नेत , पञ्चा सिंह , दिपेश पुन , इन्द्र भुषाल , आरती लामा , पवन कार्की लगायतको सहभागिता रहेको छ ।

बागवजारवाट बिहानै अनेरास्ववियूका पुर्व अध्यक्ष रमेश मल्ल , तिलकराज भण्डारी , रविनजंग बस्नेत , सपिम खरेल सहितको टोली गिरफ्तार गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जनाए ।

प्रदर्शनका क्रममा ‘राज्यको ढिकुटी रित्याउन पाइंदैन , सरकारी पञ्चर्याली चाहिँदैन’ , ‘असंवैधानिक कदम खारेज गर’ , ‘असंवैधानिक नियुक्ति खारेज गर’ जस्ता नारा लगाइएको बस्नेतले बताए ।

राजधानी उपत्यकामा बन्दको प्रभाव खासै नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार केही जुलुस भएको स्थानमा सवारी साधनलाई डाइभर्ट गरेर वैकल्पिक बाटो प्रयोग गर्न सुझाइएपनि खासै अवरोध नरहेको जनाएको छ।

यद्यपी राजधानीमा सार्वजनिक सवारीसाधन छिटपुट रुपमा मात्रै चलेका छन् । जति सवारीसाधन चलेका छन् उनीहरु निर्वाध रुपमा चलेका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?