डडेल्धुरा । डडेल्धुरामा बन्दको प्रभाव समान्य रहेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले गरेको आमहडतालसहितको नेपाल बन्द डडेल्धुरामा बिहानैदेखि प्रभाव देखिएको छैन ।
जिल्लामा बिहानैदेखि बजार व्यवसाय, सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आमहडतालसहित प्रचण्ड-नेपाल पक्षले हिजो (बुधवार) नै आज (बिहीवार)को बन्द घोषणा गरे पनि सुरक्षा हाइअलर्ट राखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।
बिहानैदेखि प्रहरीको स्कटिङमा यातायात सेवा सञ्चालन गरिएको छ । लामो तथा छोटो दूरीका यातायात सञ्चालनमा कुनै समस्या नरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म डडेल्धुरामा कुनै अप्रिय घटना नभएको प्रहरी नायब उपरीक्षक नेपालले बताए ।
अज्ञात समूहद्वारा बसमा ढुङ्गा प्रहार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० स्थित पूर्वपश्चिम राजमार्गको झलारीमा चल्दै गरेको बसमा अज्ञात समूहले ढुङ्गा प्रहार गरेको छ । काठमाडौंबाट आउँदै गरेको बसमा ढुङ्गा प्रहार हुँदा झ्यालको सिसा फुटेको छ । बिहान ६ः०० बजेको समयमा बसमा ढुङ्गा प्रहार गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।
बसका रहेका यात्रु भने सकुसल रहेको उनले जानकारी दिए । “ढुङ्गा प्रहार गर्नेको पहिचान भएको छैन”, उनले भने, “खोजी कार्य जारी राखेका छौँ ।”
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आह्वान गरेको बन्दका क्रममा विभिन्न ठाउँबाट रातिका बेला गन्तव्यमा हिँडेका यात्रुबाहक बस, ढुवानीका साधन र निजी सवारी साधनलाई प्रहरीले स्कटिङ गरी गन्तव्यमा पुर्याउने कार्य गरिरहेको छ । बजार क्षेत्रलगायत पूर्वपश्चिम राजमार्गमा सुरक्षा व्यवस्थालाई कडा पारिएको छ ।