खाद्य मिसावट: नसोचेका गल्ती भइरहेको छ हामीबाटै, अबबाट प्रतिवाद गर्ने कि ?

खानामा मिसावट पाइए यसरी गर्नुहोस् उजुरी...

काठमाडौं । ‘छ्या खाँदाखाँदै ढुङ्गा टोकिएजस्तो भयो’ । कुनै कुरा सहजताका साथ भइरहेको वेला एक्कासी अड्चन आइप¥यो भने भनिने वाक्य हो यो ।
तर यो प्रतीकात्मक भनाइ हाम्रो दैनिक जीवनको वास्तविकता बनेको छ ।

मीठोगरी खानेकुरा खाइरहेका वेला एक्कासी दाँतले ढुंगा टोक्छ । अनि त्यो खाना नै अस्वादिलो लाग्छ । लागेर गर्नु के ? नेपालीहरु आजभोलि यही कुरासँग अभ्यस्त हुन सिकिसकेका छन् ।

मरिचमा मेवाका दाना भेटिने, असली घिउमा वनस्पति घिउ (डाल्डा) पाइने, १ केजी काउलीमा आधा डाँठ हुने, दुधमा पानी आदि हाम्रा लागि सामान्य जस्तै भइसकेका छन् । यति सामान्य कि हामी यस्ता गलत अभ्यासको प्रतिवाद गर्दैनौं । बरु यसैमा आफूलाई ढाल्छौं । आफ्ना आदतहरुलाई नै फेरिदिन्छौं ।

चामललाई घण्टौं लगाएर केलाएपछि मात्रै खाना पकाउँछौं ।

पानी मिसाएको दुध पातलो हुन्छ भनेर चिया बनाउँदा त्यसमा पानी हाल्दैनौं ।

काउलीसँगै थोरै डाँठ पनि मिसाएर पकाउँछौं ।

खासमा हामीलाई व्यापारीहरुको लालचको सानो उदाहरण जस्तो मात्रै लाग्ने यो गलत अभ्यास ‘खाद्य मिसावट’को विद्रुप स्वरुप हो । गल्ती मात्रै होइन अपराध हो ।

हामीले दिनै खाना खाँदा टोकेका ढुंगाले, घिउ सोचेर खाएको डाल्डाले, बेसार भनी खाएको काठको धुलोले स्वास्थ्यमा कतिसम्म असर गर्न सक्छ भन्ने कुराको आँकलन गर्न नसकेर पो हो कि ?

मिसावटका उजुरीहरु…

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको तथ्याङ्कले देखाएअनुसार आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा देशभरिबाट ११ सय ८९ वटा उजुरी दर्ता भएका छन् जसमा ७० वटा नमूना खाद्य मिसावट सम्बन्धि रहेको छ ।

प्रवक्ता मोहन कृष्ण महर्जनका अनुसार अखाद्य वस्तु उत्पादन तथा बिक्री गर्ने ३४ वटा उद्योग तथा व्यवसायको कारोबार रोक्का गरिएको र २६ वटा उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गरिएको उजुरीको आँकडा अझै बढी छ । चालू आर्थिक वर्षको ५ महिनाभित्रै उपभोक्ताको हित विपरीत काम भएको भन्दै १२ सय उजुरी ‘हटलाइन’ मार्फत् परिसकेको छ । जसको आधाभन्दा बढी उजुरी खाद्य सामाग्रीको गुणस्तर र मूल्यसँग सम्बन्धित छ ।

नियामक निकाय नै चुकेको होः उपभोक्ता अधिकारकर्मी

सरकारी निकायले निरन्तर अनुगमन÷नियमन भइरहेको दाबी गरेको छ । यता उपभोक्ताहरु पनि पहिले भन्दा जागरुक भइरहेका छन् । यस्तो हुँदा समेत बजारमा मिसावटको धन्दा कम भएको छैन । आखिर किन ?

उपभोक्ता अधिकारकर्मी भन्छन्, ‘नियामक निकाय नै चुकेको हो ।’

‘उनीहरुले त बजारको अनुगमन गरिरहेको, दोषीलाई दण्ड दिइरहेको दाबी गर्छन् नि ?’ हामीले प्रश्न ग-यौं ।

‘२–४ वटा पसलमा ताला लाउँदैमा, २–४ वटा होटललाई अयोग्य भन्दैमा समस्या समाधान हुँदैन,’ उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना अगाडि थप्छन्, ‘एउटा सामान्य व्यक्तिको भान्सामा कतिसम्म अखाद्य वस्तु पुग्छ भनेर सोचे पो ?’

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले वर्षको ३६५ दिन र दिनको २४ घण्टा नै बजारमा निगरानी गर्नुपर्ने उनी बताउँछन् । खाद्य उत्पादन, खाद्य आयात/निर्यात आदिलाई लिएर उचित मापदण्ड नभएको तिमल्सिनाको गुनासो छ ।

‘खानेकुरामा हुने मिसावटले स्वास्थ्यमा कतिसम्म दीर्घकालीन असर पु-याउँछ भनेर नबुझेको हो कि बुझ्न नचाहेको हो थाहा भएन तर, यस क्षेत्रलाई अत्यन्तै हल्का तरिकाले लिइँदै आइएको छ,’ उनले आक्रोश पोखे ।

तिमल्सिनाका अनुसार दोषीलाई दण्ड दिने त आफ्नो ठाउँमा छँदैछ तर, राम्रो गर्नेलाई पुरस्कार मार्फत् प्रोत्साहन पनि गर्नुपर्दछ । यसो गर्दा उत्पादक तथा वितरकहरु पनि सही तरिकाले काम गर्न उत्प्रेरित हुन सक्छन् ।

मिसावट गर्नेलाई कानूनमा यस्तो सजाय…

संशोधित खाद्य ऐन २०२३ का अनुसार कुनै व्यक्तिले दुषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न वा सो मध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न पाउँदैन ।

यस ऐनले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटेर वा झुक्याएर बिक्री, वितरण गर्नुलाई पनि अपराधिक क्रियाकलापको संज्ञा दिएको छ ।

यदि यस्तो कार्य गरेको पाइएमा सो व्यक्तिलाई पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख गरिएको छ ।

कस्ता खानामा के मिसाइएको हुनसक्छ ?

हामी लचिलो छौं । गलत अभ्यास वा अवस्थासँग जुध्नु भन्दा त्यही अवस्थामा समायोजन हुनु वा घोत्लिनु हामी सहज र सही मान्छौं ।
“तर कहिलेकाहीँ गरिने/हुने कुरा भए पो नजरअन्दाज गर्ने वा जे चलिरहेको छ त्यसैमा ‘एडजस्ट’ गर्ने,” अपभोक्ता अधिकारकर्मी माधव तिमल्सिना अगाडि थप्छन्, “हरेक दिन खाइने खानामा मिसावट हुन थालेपछि आफ्नो स्वास्थ्य नै जोखिममा कसरी राख्ने उपभोक्ताले ?”

खाद्य क्षेत्रमा हुने गलत अभ्यासलाई जरैबाट उन्मूलन गर्न अझै समय र सक्रियता आवश्यक भएकाले तत्काल यस्ता दुष्प्रयासबाट उपभोक्ता स्वयम् सजग हुनुपर्ने उनको भनाइ छ ।

‘कम्तीमा केके खानेकुरामा कस्ता मिसावट हुन्छन् भन्ने थाहा भयो भने त्यस्ता सामान किन्दा उपभोक्ता होसियार रहन्छन्, ठगीमा पर्दैनन्,’ उनले भने ।
यही उद्देश्यले लोकपथले कस्ता खानेकुरामा कस्तो किसिमको मिसावट हुन्छ भनेर उपभोक्ताकर्मी तथा उपभोक्ताको अनुभवबाट समेटेर मिसावट सम्बन्धि केहि जानकारी जम्मा पारेको छ ।

चामलमा ढुङ्गा, बियाँ, कनिका वा कम गुणस्तर भएको चामल मिसाउनु

दुधमा पानी मिसाउनु अथवा बाक्लो बनाउनलाई पीठो, सोडा, दुध पाउडर आदि हाल्नु

राम्रो गुणस्तर भएको दालमा निम्न स्तरीय दाल मिसाउने, स साना गिर्खा, ढुङ्गा मिसाउनु

गुणस्तरीय चियामा कमसल चियारङ्ग मिसाउनु, प्रयोग भइसकेको चियालाई सुकाएर मिसाउनु

कुराउनी खुवामा बिस्कुटको धुलो वा पीठो मिसाउनु

तेलमा कमसल तेल मिसाउनु जस्तैः तोरीको तेलमा भटमासको तेल मिसाउने

घिउमा बोसो, मैन, पिडालु आदि मिसाउनु

मरिचमा मेवाको दाना

बेसारमा काठको धूलो, रङ्ग्याइएको पीठो

धुलो मसलामा पनि काठको धुलो, धानको ढुट्टो

महमा चिनीको चास्नी, सख्खर

कहाँ र कसरी उजुरी दिने ?

समाजमा प्राय दुई प्रवृत्तिका मानिस छन्ः एक जो खाद्य मिसावटलाई नजरअन्दाज गर्छन् र अर्काथरी, जो मिसावटको खिलाफ आवाज उठाउन चाहान्छन् तर, थाहा हुँदैन कहाँ र कसरी ?

उपभोक्ताहरुको हकहित संरक्षणका लागि मूख्यतः यी दुई क्षेत्र जिम्मेवार छन्ः

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग  ।

अहिले प्रायजसो सरकारी कार्यालयहरु ‘डिजिटल’ माध्यममा आइसकेकाले दुवै विभागको आआफ्नै वेबसाइट छ र ती वेबसाइटमार्फत् उजुरी गर्न सकिने प्रावधान पनि ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको वेबसाइटमा उपभोक्ताहरुको उजुरी तथा गुनासो सङ्कलनका लागि एउटा छुट्टै खण्ड राखिएको छ । त्यहाँ दिइएको फाराममा आफ्नो नाम, इमेल ठेगाना र फोन नम्बर राखेर आफूलाई चित्त नबुझेका वा उजुरी गर्न मन लागेका कुराहरु लेख्न सकिन्छ । वेबसाइटमै विभागका सूचना अधिकारी शिवराज सेढाइको सम्पर्क नम्बर पनि दिइएको छ । सिधै फोनमार्फत् पनि आफ्ना समस्याहरु राख्न सकिन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पनि उजुरी दर्ताका लागि अनलाइन फाराम राखिएको छ । आफ्नो पूरा नाम, ठेगाना र इमेल राखेर गुनासोलाई त्यहीँ दिइएको बक्समा लेख्न सकिन्छ ।

यसका साथै सरकारले जनताको गुनासो तथा समस्याहरुको सम्बोधन गर्नका लागि ‘हेलो सरकार’ नामक ‘डिजिटल गुनासो पेटिका’को व्यवस्था गरेको छ । जसमा जुनसुकै समय र स्थानबाट गुनासो राख्न सकिन्छ । साथै ४२११०२५, ४२११०४०, ४२११०३५, ४२११०८०, ४२११०७३, ४२११०२१, ४२११०३८ नम्बरमा सम्पर्क गरेर पनि समस्या बताउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?