७ मेगावाट बिजुली उत्पादन गर्दै सम्राट सिमेन्ट

काठमाडौं । हाल दैनिक २ हजार मेट्रिक टन (मेटन) क्लिंकर उत्पादन गर्दै आएको सम्राट सिमेन्ट उद्योगबाट दैनिक ७ मेगावाट (मेवा) विद्युत् उत्पादन हुने भएको छ । मङ्सिर १५ गतेदेखि औपचारिक रूपमा उत्पादन शुरू गरेको कम्पनीले क्लिंकर तथा सिमेन्ट उत्पादनका क्रममा निस्कने तातो हावा र फोहोर हावालाई प्रयोग गरेर दैनिक सो परिमाणमा विद्युत् उत्पादन गर्ने तयारी गरेको हो ।

सिमेन्ट र क्लिंकर दुवै उत्पादन गर्दै आएको उद्योगले क्लिंकर ४ हजार ५०० टन उत्पादन गर्दा र सिमेन्टको पनि क्षमता बढाई सबै प्लान्ट सञ्चालनमा आउँदा उक्त परिमाणको विद्युत् उत्पादन हुनेछ । यसका लागि अहिले आवश्यक तयारी भइरहेको र ३ महीनाभित्रमा सो परिमाणको विद्युत् उत्पादन भइसक्ने उद्योगका अध्यक्ष मुकुन्द तिमिल्सिनाले बताए । उद्योगबाट विद्युत् पनि उत्पादन हुन थालेपछि खरीद गर्नुपर्ने विद्युत्को परिणाम घट्ने उनको भनाइ छ ।

उद्योगलाई दैनिक करीब २२ मेवा विद्युत् आवश्यक पर्छ । तर, उद्योगबाटै उक्त परिमाणमा विद्युत् निकाल्न सम्भव पनि छ । तर, अहिले ७ मेवा उत्पादन गर्न लागिएको छ । उत्पादित विद्युत् उद्योगमै खपत गरिने उद्योगको भनाइ छ ।

क्लिंकर उत्पादन शुरू गरेको २ महीनामै उद्योगले हाल प्रतिदिन २ हजार टन क्लिंकर उत्पादन गरिरहेको छ । यो क्षमताको आधा मात्रै हो । उद्योगका अनुसार थप २ हजार ५०० टन क्लिंकर १ महीनाभित्र उत्पादन शुरू गरिनेछ । यस अवधिभित्र नै क्लिंकर उत्पादन पूर्ण क्षमतामा हुनेछ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?