माओवादीको दोहोरो चाल : सत्तामा काँग्रेस, सत्ता बाहिर एमाले

काठमाडौं, १८ असोज ।प्रमुख प्रतिपक्षी एमालेसंग चुनावी तालमेल गरेको माओवादी केन्द्रले तत्काल कांग्रेससंगको सत्ता गठबन्धनबाट भने नअलगिने बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलवार अपरान्ह ३ बजे बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुलाई सरकार परिवर्तन नगर्नेमा आश्वस्त पारेका हुन् । आजको कान्पिुर दैनिकमा खबर छ– एमाले र माओवादी केन्द्र चुनावी तालमेलसंगै सरकार परिवर्तनको चर्चा चल्न थालेको छ ।कांग्रेस नेताहरुले भने नयाँ सरकार गठनका लागि आवश्यक संख्या नपुगेकै कारण यस्तो आश्वासन आएको हुन सक्ने भन्दै माओवादी केन्द्र अध्यक्ष दाहालको धारणाबाट विस्वस्त हुन सकेका छैनन् । दाहालसंगको भेटपछि प्रधानमन्त्री देउवाले राप्रपा अध्यक्ष कमल थापा र संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवसंग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले थापा र यादवसित सरकारको समर्थन र चुनावी तालमेलको बिषयमा छलफल गरेको स्रोतले बतायो ।दाहालले देउवालाई नवमीका दिन नै आफ्नो पार्टीले एमालेसित चुनावी तालमेलको कुरा अघि बढेको संकेत दिएका थिए । देउवाले भने माओवादी केन्द्रलाई एमालेसित चुनावी तालमेल गर्नबाट रोक्न कुनै पहल नगरेको स्रोतले उल्लेख गरेको छ । स्रोतका अनुसार दाहालले देउवासित एमालेले आफ्नो पार्टीलाई प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा ५० प्रतिशत सिट दिन लागेको जानकारी गराउँदै कांग्रेस कति दिन तयार छ भनेर सोधेका थिए । देउवाले दाहाललाई कुनै आश्वासन दिएनन् ।प्रधानमन्त्री देउवासहित करिब आधा दर्जन कांग्रेस नेताहरुसँग माओवादी अध्यक्ष दाहालले एमालेसंगको तालमेल भए पनि सरकार नबदल्ने र यही सरकारबाट निर्वाचन गराउने धारणा राखेको जानकारी बैठकमा सहभागी कांग्रेस नेता एवं अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले दिए ।दाहालले कांग्रेस नेताहरुसंग करिव ४५ मिनेट कुराकानी गरेर निस्केका थिए । उनले मंगलबार विहान पनि प्रधानमन्त्री देउवासंग छुट्टै भेटेका थिए । बिहानको भेटमा एमालेसंग तालमेलको निर्णय लिइसकिएको जानकारी गराई विस्तृत कुराकानी दिउसो ३ बजे गर्ने भन्दै निस्केका थिए ।दिउसोको भेटमा प्रधानमन्त्री देउवाका अतिरिक्त काग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, बिमलेन्द्र निधि, अर्थमन्त्री ज्ञानेन्द्रवहादुर कार्की, पूर्व सहमहामन्त्री पूर्णबहादुर खडा, केन्द्रीय सदस्य महेश आचार्य, प्रकाशशरण महत, केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायत थिए । एक्लै बालुवाटार पुगेका दाहालले सुरुमै कांग्रेससंग कुनै असन्तुष्टी र गुनासोको कारण नभएर कार्यकर्ताको दबावका कारण एमालेसंग तालमेल गर्ने निर्णय लिएको जानकारी गराएका थिए । उनले कांग्रेसका मतदातालाई माओवादीमा र माओवादीका मतदातालाई कांग्रेसमा भोट हाल्न समस्या भएको र कार्यकर्ताको दबाव पनि एमालेसंगै मिल्दा सहज हुने भन्ने भएकाले यस्तो निर्णय भएको बताएका थिए ।‘एमालेसंग अहिल्यै पार्टी एकता नभई चुनावी तालमेलमा सहमति भएको हो । एकताका लागि त समितिमात्रै बनेको छ’ दाहालको भनाई उद्धृत गर्दै कांग्रेस केन्द्रीय सदस्य महतले भने,‘सरकार बदल्ने हाम्रो सोच छैन । यहि सरकारले समयभित्रै चुनाव गराउंछ ।’एमालेसंगको तालमेल र पार्टी एकताको निर्णय बाहिर आउनासाथ कांग्रेस नेताहरुको आन्तरिक छलफल बालुवाटारमा दिनभरजसो भएको थियो । एमाले र माओवादी केन्द्रबीच तालमेल र पार्टी एकताबारे नेताहरुलाई मंगलबार विहान मात्रै थाहा भएको हो । ‘एमाले अध्यक्ष केपी ओलीसंगको कुराकानीबारे जानकारी थियो, तर कांग्रेससंगको गठबन्धनले माओवादीले आफ्नो हैसियत उकासेका कारण उसले यस्तो निर्णय लिन्छ भन्ने हामीले कल्पनै गरेका थिएनौं’ बालुवाटारमा सहभागीमध्येका कांग्रेसका एक नेताले भने,‘तर एकैचोटी एमालेसित तालमेल गर्ने सहमति भएको खबर आउदा हामी आश्चर्यमा पर्‍यौं ।’बालुवाटारमा भेटमा प्रधानमन्त्री देउवाले दाहाललाई माओवादी केन्द्रले अनायसै यस्तो किन निर्णय लिएको भन्ने प्रश्न गरेका थिए । दाहालले कार्यकर्ताको दबाव र पार्टी एकताको प्रसंग दोर्‍याउंदै काग्रेसंगको तालमेललाई ढोका बन्द नगरेको जबाफ दिएका थिए ।देउवाले माओवादीसंगै लामो गठबन्धन कायम राख्न आफूले चाहेको र तालमेलको बिषयमा समेत पार्टीभित्र छलफल चलिरहेका बेला यस्तो निर्णय आउंदा आफू आश्चर्यमा परेको बताएका थिए ।बापन्थी एकता अघि बढे पनि कांग्रेस नेताहरुले लोकतान्त्रिक शक्तिहरुबीचको बृहत एकता गर्ने बिषयमा पनि छलफल अघि बढाएका छन् । उनीहरुले कमल थापा नेतृत्वको राप्रपा, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी ९राजपा० लगायतका राजनीतिक शक्तिहरुसंग चुनावी तालमेलको बिषयमा छलफल गरेका थिए ।कांग्रेस नेता महतले पार्टीका सामुन्ने नयां चूनौती खडा भएको बताउदै त्यसलाई सामना गरेर अघि बढ्ने बताए । ‘कांग्रेसका अगाडि चुनौती नहुदा पार्टीभित्रै आलोचना र असन्तुष्टीहरु हुन्थे’ उनले भने, ‘अब पार्टी पूर्ण एकताका साथ अब आउने चुनौती समाना गरेर अघि बढ्छ ।’कांग्रेस नेता महेश आचार्यले सरकार र प्रतिपक्ष दुवैतर्फ गठबन्धन गरेर माओवादीले राजनीतिक इमानदारी नदेखाएको बताए । ‘संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्ने मुख्य दायित्वबाट माओवादी केन्द्र विमुख भएको छ’ आचार्यले भने,‘यस्तो कार्यबाट माओवादीले राजनीतिक इमानदारी देखाएन ।’एमाले र माओवादीबीचको चुनावी तालमेलसंगै पार्टी एकीकरण हुने सहमतिले ल्याएको नयां तरंगका बिषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । नेता आचार्यले पार्टीको बैठकबाट माओवादी केन्द्र र एमालेबीचको एकताका बिषयमा पार्टीको औपचारिक धारणा आउने बताए । उनले बामपन्थीबीचको एकतासंगै कांग्रेसले पनि बृहत लोकतान्त्रिक एकताको पहल थाल्ने संकेत दिए ।बालुवाटार बैठकमा सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए के गर्ने भन्नेबारे पनि कांग्रेस नेताहरुबीच छलफल भएको थियो । एमालेले माओवादीसंग सरकारसंग अलग हुनु पर्ने शर्त पनि राखेको थियो । कात्तिक ५ को उम्मेदवारी मनोनयनपछि संसदको हैशियत समाप्त हुने भएकाले त्यसअघि नै अविश्वासको प्रस्ताव आउन सक्ने भन्दै कांग्रेसले विपक्षमा बहुमत पुग्न नदिने कसरत थालेको छ । केही नेताहरुले अविश्वासको प्रस्ताव ल्याएमा संसद विघटन गर्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहित रहेको बताउदै त्यस दिशामा जान सकिने सुझाव दिएका थिए । एमालेले अविश्वासको प्रस्ताव ल्याएमा समयमै चुनाव हुन नसक्ने कांग्रेसको ठम्याइ छ ।संसद विघटनबारे पनि छलफल भएको हो भन्ने प्रश्नमा कांग्रेस नेता महतले भने छलफल नभएको दावी गरे । ‘असोज २९ मा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय भएकाले त्यसै दिनबाट संसदको हैशियत रहँदैन, संसद विघट्न किन गर्नु पर्‍यो रु’ उनले भने,‘अहिले त्यस दिशामा छलफल भएको छैन । ’बैठकमा केही नेताहरुले एमाले र माओवादी केन्द्रलाई एक ठाउंमा ल्याउने दिशामा उत्तरी छिमेकी राष्ट्र चीन सक्रियपूर्वक लागेको विश्लेषण समेत सुनाएका थिए । ‘एमाले र माओवादीलाई एक ठाउंमा ल्याउने काम आन्तरिक भन्दा पनि बाहिय तत्वले बढी भूमिका निर्वाह गरेको छ’ बैठकमा कांग्रेसका एक नेताको धारणा थियो,‘दुई दलको गृहकार्यले मात्रै यो संभव भएको होइन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?