काठमाडौं । ६७९ मेगावाटको तल्लो अरूण जलविद्युत् आयोजना निर्माण गर्न छनोट भएको भारतको एसजेभीएन लिमिटेडले उक्त प्रोजेक्टबाट उत्पादन हुने ७९ प्रतिशत विद्युत भारतमै लैजाने भएको छ ।
कम्पनीले उक्त आयोजनाबाट उत्पादन हुने सो बराबरको विद्युत् अर्थात् ५३६.४१ मेगावाट विद्युत् भारतीय बजारमा नै निर्यात गर्ने भएको हो । २१ प्रतिशत अर्थात् १४६.३७ मेगावाट विद्युत् भने नेपालले निःशुल्क पाउनेछ । आयोजना बनाउने प्रस्ताव पेश गर्दा नै कम्पनीले यस्तो प्रस्ताव गरेको हो ।
योसँगै नेपालबाट विद्युत् निर्यात गर्नेगरी निर्माण हुने आयोजनाको संख्या ३ पुगेको छ । एसजेभीएनले नै निर्माण गरिरहेको ९०० मेगावाटको अरूण तेस्रो र भारतको जीएमआर कम्पनीले निर्माण गर्ने ९०० मेगावाटकै अपर कर्णाली जलविद्युत् आयोजनाले पनि नेपालाई तोकिएको मात्रामा निःशुल्क विद्युत् दिएर बाँकी सबै विद्युत् निर्यात गर्नेछन् । नेपालले अरूण तेस्रोबाट २१.८८ प्रतिशत र अपर कर्णालीबाट १२ प्रतिशत विद्युत् निःशुल्क पाउनेछ ।
लगानी बोर्डले गत हप्ता तल्लो अरूण जलविद्युत् आयोजना बनाउन भारतको एसजेभीएनलाई छनोट गरेको हो । उक्त कम्पनीसँग प्रतिस्पर्धामा रहेको चिनियाँ कम्पनीले भने २५ प्रतिशतसम्म विद्युत् निःशुल्क दिने प्रस्ताव गरेको थियो । तर, छनोटका लागि बनाइएको समग्र मापदण्ड मूल्यांकन गर्दा एसजेभीएनको नम्बर बढी आएपछि सोही कम्पनीलाई नै छनोट गरिएको बोर्डको भनाइ छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया