काठमाडौं । खुद्रा व्यापारीले उद्योगी तथा थोक विक्रेताहरूबाट सही बिल-बीजक नपाउँदा खानेतेल विक्री गर्न समस्या उत्पन्न भएको बताएका छन् । उद्योगी र ठूला व्यापारीले खुद्रा व्यापारीलाई तेल विक्री गर्दा एमआरपी मूल्यभन्दा बढी मूल्यमा विक्री गर्ने र बिल दिने बेलामा कम मूल्यको बिल दिने भएकाले खुद्रा व्यापारीहरू समस्यामा परेका यो खबर आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
बजारमा देखिएका यस्ता समस्याले गर्दा अधिकांश खुद्रा व्यापारीहरू तेल बेच्नै नसक्ने अवस्थामा पुगेका छन् । आफूले किनेको भन्दा कम मूल्यमा तेल बेच्नुपर्ने अवस्था आएपछि १ महीनाभन्दा बढी समयदेखि आफूले पसलमा तेल राख्न र विक्री गर्न छाडेको खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्रमान वज्राचार्यले बताए ।
नियामक निकायले खुद्रा व्यापारीहरूलाई मात्र निगरानीमा राख्ने भएकाले ठूला व्यापारीहरूले त्यसको फाइदा उठाउँदै बजारमा मनोमानी गर्ने गरेको सरोकारवालाहरूको बुझाइ छ । खुद्रा व्यापारीले थोक विक्रेताहरूसँग तेल किन्दा किनेको मूल्य र एमआरपी मूल्यमा एकरूपता नभएको वज्राचार्यको गुनासो छ । ‘खुद्रा व्यापारीले प्रतिलिटर २ सय ५० रुपैयाँमा किनेको सनफ्लावर तेलको कार्टुन खोलेर हेर्दा त्यसको एमआरपी मूल्य २ सय ४५ रुपैयाँ मात्र हुने गरेको छ,’ उनले भने ।
खुद्रा व्यापारीले प्रतिलिटर २ सय ५० रुपैयाँमा किनेको सनफ्लावर तेलको बिलमा थोक व्यापारीले २ सय २५ देखि २ सय ३५ रुपैयाँ मात्र उल्लेख गर्ने गरेको बताइएको छ । यस्तो हुँदा खुद्रा व्यापारीले एमआरपी तोकिएको मूल्यमा पनि तेल विक्री गर्न समस्या उत्पन्न भएको हो ।
चाडपर्व शुरू भएसँगै वृद्धि भएको खाने तेलको मूल्य त्यसयता निरन्तर रूपमा उकालो लागिरहेको छ । विगत १ महीनाको अन्तरालमा भटमासको तेलको मूल्य प्रतिलिटर ३० रुपैयाँ सम्मले वृद्धि भई २ सय ३० रुपैयाँ पुगेको पाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया