तल्लो अरुण जलविद्युत् आयोजना विकासका लागि एसजेभीएन छनोट

काठमाडौं । नेपाल सरकारले ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको ढाँचा विकास गर्न भारतको एसजेभीएन लिमिटेडलाई छनोट गरेको छ । सरकारले सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत उक्त आयोजनाको ढाँचामा विकास गर्न एसजेभीएनलाई छनोट गरेको हो ।

प्रधानमन्त्री एवम् लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रवार सम्पन्न बोर्डको ४६औं बैठकले यस्तो निर्णय गरेको हो । बैठकले अन्तरराष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरेर यस्तो निर्णय गरेको हो । हाल ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको निर्माण कार्य पनि सोही कम्पनीले नै गर्दै आएको छ ।

तल्लो अरुण जलविद्युत् आयोजना प्रदेश नं १ को संखुवासभा र भोजपुर जिल्लामा अवस्थित हुने बताइएको छ । २०७५ चैतमा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनको अवसरमा सरकारले सो परियोजना लगानीकर्तासमक्ष प्रस्तुत गरेको थियो ।

त्यसैगरी, उक्त बैठकले लगानी बोर्डमा विशेषज्ञ सदस्यका रूपमा राजेशकाजी श्रेष्ठ, हरिभक्त शर्मा र भवानी राणा एवम् आमन्त्रित सदस्यमा बालकृष्ण शिवाकोटीलाई मनोनयन गर्ने निर्णय गरेको छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?