मिक्लाजुुङ नरसंहारदेखि टोखाको विभत्स हत्यापछि आत्महत्या : जसले उब्जाए सोच्नैपर्ने प्रश्न

परिवारभित्रै हत्याको योजना बन्नेबारे मनोविद्ले औँल्याए यी कारण

वि. सं २०७६ जेठ ६, पाँचथर मिक्लाजुङ ७ ।

दुई परिवारका नौ जना एक चिहान भएको यो विभत्स घटनाका बारेमा गाउँलेले बिहान मात्र चाल पाए । रगतमा लत्पतिएको अवस्थामा ९ जनाको शव उनीहरुकै घरबाट बरामद गरियो । ज्यान गुमाउनेमा ७४ वर्षका वृद्धदेखि लिएर ६ वर्षकी बालिका समेत थिइन् । घटना गराएका थिए, मानबहादुर माखिमले । शवको प्रकृति हेर्दा अन्धधुन्द खुकुरी प्रहार गरी हत्या गरिएको देखिन्थ्यो ।

श्रीमतीसँग सम्बन्धविच्छेद गराउन खोजेको रिसमा उनले आफ्नो ससूराली र साढु दाइको परिवार नै सखाप पारेको प्रहरी अनुसन्धानले बताउँछ । अझै अचम्मको कुरा के छ भने, सबैलाई मारेपछि उनले आफ्नो घरदेखि करिब डेढ किमी तल रहेको रुखमा पासो लागेर आत्महत्या गरेका थिए ।

वि. सं २०७६ माघ २७, ललितपुर महानगरपालिका–२ ।

पशुपति मन्दिरमा २ घण्टा लाइन बसेर पूजा गरी फर्किएका पूर्वसचिव अर्जुन कार्की घरभित्र पस्नासाथ डाँको छोडेर रुँदै बाहिर निस्किए । झुन्डिएको अवस्थामा घरमा काम गर्ने विजय चौधरी र भान्सा कोठामा रगतमा लत्पतिएको अवस्थामा श्रीमती मुना कार्की भूईंमा लम्पसार परेको दर्दनाक दृश्यले उनी विक्षिप्त भए ।
घटनास्थल, घरको सिसीटिभी फुटेज आदिको अध्ययनबाट प्रहरी यो निष्कर्षमा पुग्यो कि ‘मुनाको हत्या गरिसकेपछि विजय आफै पासो लागेर मरे ।’
२२ वर्षीय चौधरी कार्कीको घरमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । एक हिसाबले उनी परिवारकै सदस्य जस्तै नै भइसकेका थिए ।

२०७७ जेठ १५ गते बिहीवार, मोरङ बेलबारी नगरपालिका ४ ।

मोरङका ३१ वर्षीय जीवन लिम्बूले ६१ वर्षीया आमा देवीकुमारी लिम्बूको हत्या गरेर आफ्नै घाँटी रेटी आत्महत्या गरे । प्रहरी घटनास्थलमा पुग्दासम्म उनको ढुकढुकी बाँकी थियो पछि उपचारका क्रममा लिम्बूको मृत्यु भयो ।

प्रहरीका अनुसार जीवन अत्याधिक मात्रामा लागूऔषध र मादक पदार्थ सेवन गर्दथे । त्यसैको नशामा रहेका वेला उनले यो विभत्स घटना गराएको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

२०७७, भदौ २७ शुक्रवार, मध्यपुर थिमि नगरपालिका ९ ।

३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त मृत अवस्थामा फेला परेका थिए ।
घटना अनौठो यसकारण पनि थियो कि यी ३ शव घरको ३ भिन्नभिन्न तलामा फेला परेका थिए । क्रमशः पहिलो र दोस्रो तलामा भेटिएको आमा र छोराको मृत शरीरमा त हरेराम लेखिएको पिताम्बर समेत ओढाइएको थियो । पति सुदीपको शव भने तेस्रो तल्लामा पाइएको थियो । शव नजिकै उनीहरुको घरपालुवा कुकुर पनि मरेको अवस्थामा पाइएको थियो ।

आमा छोराको शवबाट चर्को दुर्गन्ध आएको र बाबुको शव भने केही दिन पछि मृत्यु भएको देखिएको कारण प्रहरीले बाबुले शुरुमा श्रीमती र छोराको हत्या गरेर सुदीप आफैले आत्महत्या गरेको हुनसक्ने बताएको थियो ।
घरनजिकैको खेतबारीबाट विषको २ वटा बट्टा फेला पर्नु, लकडाउनकै दौरान सुदीपले ससुरालीबाट २ लाख ऋण लिएको, घरसमेत धरौटीमा राखेको, श्रीमती र छोरासँग पनि केही समयदेखि विवाद हुने गरेको जस्ता कुराहरुले भने घटना सुदीपले नै गरेको हुनसक्ने प्रहरीको भनाइ थियो ।

यही पुस २४ गते काठमाडौंको टोखा नगरपालिका ।

आफ्नै घरमा एक दम्पत्तीको शव शंकास्पद अवस्थामा भेटियो । घटना नभइदिएको भए त्यसको ५ दिन पश्चात् पति उमेश केसी अमेरिकाका लागि उड्दै थिए । ३ महिनाअघि मात्रै उनले अमेरिकाको ग्रीन कार्डसमेत पाएका थिए ।

उमेशको टाउकोमा गम्भीर चोट लागेको थियो । शव छेउमै रहेको रगत लतपतिएको सिलौटाले प्रहार गरी उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

त्यस्तै श्रीमती सुदिक्षा गिरीको शव भने सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको थियो ।

घर भित्रबाटै ‘लक’ हुनु, सिसीटिभी फुटेज तथा सुरक्षाकर्मीको बयान अनुसार घरमा बाहिरको मान्छेको प्रवेश नहुनु र श्रीमानको मृत्यु भएको केही समयपछि मात्र श्रीमतीको मृत्यु भएको हुनु जस्ता क्लूहरुले पनि सुदिक्षाले पहिला श्रीमान् को हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरी बताउँछ ।
यी सबै घटनामा केही समानता छन् ।

घटनास्थल ?

घर ।

घटनामा संलग्न ?

आफ्नै घरका व्यक्ति ।

बाल्यकालमा स्कुल जानेहरुको स्मरणमा पक्कै यो पाठ ताजा हुनुपर्छ । सामाजिक विषयको पुस्तकमा ‘घर’ शीर्षकको पाठ हुन्थ्यो । शायद अहिले पनि छ । जसमा घरको महत्वका बारेमा पनि व्याख्या गरिएको हुन्थ्यो ।

घरले हावाहुण्डरी, बाढीपहिरो लगायत प्राकृतिक विपत्तिबाट जोगाउँछ ।

घरले जाडो, गर्मीबाट बचाउँछ ।

घरले खतरनाक जनावरको आक्रमणबाट जोगाउँछ ।

घरले खान, बस्नलाई सुरक्षित स्थान दिन्छ ।

उल्लेखित महत्वहरुले एउटै कुरा के प्रष्ट्याएका छन् भने, ‘घर सुरक्षित स्थान हो ।’

यद्यपि, के माथि दिइएका घटनाहरुले यस भनाइलाई पुष्टि गरे त ? आफ्नै घरमा आफ्नो हत्याको प्रपञ्च रचिन थालेपछि मान्छे जाओस् कहाँ ?

प्रहरीको अभिलेख अनुसार विगतका केही वर्षको तथ्याङ्क केलाउने हो भने आफ्नाआफन्तबाट भएको हत्याको ग्राफ निरन्तर उकालो लागेको देख्न सकिन्छ । आर्थिक वर्ष २०७५/७६ मा कूल हत्याको ३०% घटना आफन्तद्वारा भएको थियो भने २०७६/७७ मा बढेर त्यो सङ्ख्या ३२% पुगेको थियो । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या झनै तीब्र गतिले वृद्धि भएको छ । चालू आवको प्रथम ४ महिना अर्थात् कात्तिक मसान्तसम्ममै यस सङ्ख्यामा २ प्रतिशतले वृद्धि भएर ३६% पुगिसकेको छ । कोरोना महामारीका कारण भएको लकडाउनका दौरान यस्ता घटनाहरु भन् बढेको प्रहरीको भनाइ छ ।

प्राणभन्दा प्रतिष्ठा प्यारो ?

जबजब विदेशी परम्परा, चालचलन, रहनसहनसँग हामी आफ्नो पूर्वीय संस्कृति दाँज्छौं तबतब हाम्रो पक्षको तराजुलाई सन्तुलनमा राख्दछ ‘पारिवारिक मेलमिलाप र अपनत्वको भाव’ले । संयुक्त परिवारमा बस्ने, ठूलाबडाको आदर गर्ने, सानाप्रति माया र जिम्मेवार हुने आदिजस्ता हाम्रा चालचलनप्रति हामी गर्व गर्छौं ।

तर त्यही परिवार आफ्नो मान्छेको हत्यारा किन बन्छ ? मृत्युको कारण कसरी बन्न सक्छ ?

‘यस अपराधको कारण बुझ्न हामीले समाजका विभिन्न आयामलाई मिहीन ढंगले केलाउनुपर्ने हुन्छ,’ समाजशास्त्री सविता प्रसाईं भन्छिन्, ‘प्रविधिको विकास, सांस्कृतिक भूमण्डलीकरण, चरम पूँजीवाद आदिसँग प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सम्बन्धित छ यो मुद्दा ।’

आफ्नो भनाइलाई थप प्रष्ट्याउन उनी थप्छिन्, ‘प्रविधिको विकासले आजभोलि सबैको हातहातमा फोन, सामाजिक सञ्जालमा पहुँच र तिव्र सहभागिता हुन थालेको छ जसले अत्याधिक मात्रामा अतिरिक्त वैवाहिक सम्बन्धहरु जोडिन थालेका छन् ।’

‘त्यस्ता सम्बन्ध भण्डाफोर भएपछि श्रीमानश्रीमतीबीच कलह मच्चिन्छ र दुर्घटना घट्न सक्छ,’ उनी भन्छिन् ।

पूँजीवादी समाजले मान्छेलाई बढी व्यक्तित्ववादी बनाएको उनको भनाइ छ । ‘मान्छेले ‘हामी’ बिर्सियो, उसका लागि ‘म’ मात्रै सर्वोपरि भएको छ,’ समाजशास्त्री प्रसाईं समाजको वास्तविकता औल्याउँछिन् । ‘आफ्नो इच्छा, आफ्नो चाहना, आफ्नो सोच, आफ्नो योजना, आफ्नो समस्या, आफ्नो पीडा, आफ्नो खुसी जे पनि आफ्नो मात्र महत्वपूर्ण हो भन्न थाल्यो भने उसलाई परिवार, समाज गौण लाग्छन् र कसैको ज्यान लिनसमेत पछि हट्दैन ऊ,’ प्रसाईं भन्छिन् ।

त्यस्तै, आफ्नो इज्जत, मानसम्मान जोगाउने नाममा आफ्नै परिवारको सदस्यको हत्या सहजै गर्नुले समाजले अपराधको पराकाष्ठा नाघेको सङ्केत गर्ने बताउँछिन् समाजशास्त्री प्रसाईं । यस्तो हत्यालाई ‘अनर किलिङ’ भनिन्छ । अर्थात् परिवारको प्रतिष्ठामा आँच पु¥याएको निहुमा आफ्नै परिवारद्वारा गरिने हत्या ।

विशेषगरी जातीय, लैङ्गिक, धार्मिक तथा वर्गीय विभेद भएको समाजमा ‘ठूला’ भनिनेहरुले ‘साना’भनिने व्यक्तिसँग प्रेम वा वैवाहिक सम्बन्ध कायम गर्दा यस्तो अपराध हुने गरेको प्रसाईंको बुझाइ छ ।

यस्ता घटना प्राय भारतमा हुने गरेतापनि अहिले नेपालमा पनि हुन थालेको समाजशास्त्री प्रसाईंको ठहर छ ।

किनकी मान्छे आजभोलि आफ्नै रिसको दास बनेको छ…

विवाहमा सात फेरा घुमेर, सात जन्म साथ रहने कसम खान्छन् दम्पत्ती ।
अनि त्यही व्यक्तिलाई सात सेकेण्डको रिसमा आएर मारिदिन्छ । किन ?

सन्तान नहुँदा मान्छे छोराछोरीका लागि तड्पिन्छ ।
अनि त्यही सन्तानलाई गल्ती ग-यो भन्दैमा तड्पाई तडपाई मार्छ । किन ?

आफ्नाआफन्तको लागि ज्यान दिन्छ मान्छे ।
अनि सामान्य घरझगडा भयो भन्दैमा फेरि किन त्यही आफन्तको ज्यान लिन्छ ?

नेपाल साइकोलोजिस्ट एसोसिएसनका संस्थापक महासचिव मनोविद् गोपाल ढकाल भन्छन्, ‘किनकी मान्छे आजभोलि आफ्नै रिसको दास बनेको छ ।’
ढकालका अनुसार परिवारका सदस्यले नै हत्या गरेका जति पनि घटनाहरु सार्वजनिक भएका छन् तिनमा प्रायजसो नियोजित भन्दा पनि क्षणिक आवेगमा आएर भएका घटना बढी छन् ।

‘मान्छेले आफ्ना संवेगहरुमा नियन्त्रण गुमाएपछि आफू को हो, के गर्नु हुँदैन भन्ने नै बिर्सिन्छ,’ मनोविद ढकाल भन्छन्, ‘त्यसैले रिसको जोशमा आएर अप्रत्यासित घटना हुन पुग्छ ।’

चाहे त्यो पाँचथर मिक्लाजुङको नरसंहार होस् या टोखाको सुदिक्षा हत्या प्रकरण, यी घटनाको मूख्य कारण भनेकै आफ्नो रिसमा काबू नहुनु भएको ढकाल बताउँछन् । नियोजित घटना घटाउनेहरुले जहिले पनि आफू बच्न खोज्ने, लुकिछिपी अपराध गर्ने गर्छन् तर अचानक आवेगमा आएर भएको अपराधमा अपराधी लुक्न नचाहने ढकालको भनाइ छ ।

“आफ्नै परिवारको हत्या गर्दा मान्छेले ‘आज तँ पनि छैनस्, म पनि छैन’ भन्ने किसिमको सोच राखेर अपराध गर्दछ भने कुनै तेस्रो व्यक्तिको हत्या गर्दा उसको ‘तँलाई छोड्दिन’ भन्ने किसिमको मनोविज्ञान हुन्छ,” मनोविद प्रष्ट्याउँछन्, “त्यसैले पनि आफन्तलाई मारेपछि प्राय मान्छेले आत्महत्या गर्छ किनभने रिस मरेपछि उसलाई भित्रभित्रै आत्मग्लानीले पिरोल्छ ।”

‘मान्छे किन यति विघ्न रिसाउँछ त आजभोलि ?’ लोकपथ डटकमले अर्को प्रश्न तेर्सायो ।

‘मान्छे शान्त नै छैन,’ ढकालले सरल भाषामा गहिरो उत्तर दिए ।

सामाजिक प्रतिस्पर्धा, विखण्डन, तनाव, व्यस्तता, आलोचना, हीनतावोध, भागदौड, अस्थिरता आदिका कारण मान्छे विक्षिप्त छ । थाहै नपाइ मान्छे भित्रभित्रै इन्टरमिटेन्ट एक्सप्लोसिभ डिसअर्डर तथा बोर्डरलाइन पर्सनालिटी डिसअर्डर जस्ता रिससँग सम्बन्धित मानसिक समस्याको शिकार भइसकेको हुने मनोविद बताउँछन् ।

हाम्रो खानपान, रहनसहन आदिले पनि हाम्रा संवेगहरुमा प्रभाव पार्ने भएकाले स्वस्थ्य जीवनशैली कायम गर्नुपर्ने सल्लाह दिन्छन् उनी । आफू अलि बढी चिढिने, रिसाउने, झर्किने गर्न थाले वा व्यवहारमा एकाएक परिवर्तन देखापरेमा तुरुन्तै मनोविद वा मनोचिकित्सकको परामर्श लिनुपर्ने पनि उनले सुझाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?