उद्योगपति विनोद चौधरीको संयोजनमा ‘गरीखाने अभियान’ शुरू

वीरगञ्ज । उद्योगपति विनोद चौधरीको संयोजनमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ शुरू गरेको छ । बिहीवार वीरगञ्जमा पत्रकारी सम्मेलन गरी उक्त अभियानको घोषणा गरिएको हो । कार्यक्रममा उद्योगपति चौधरीले कुनै पनि राष्ट्रको विकासका लागि समाजमा गरीखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने बताए । समाजमा ठगी खाने र मागी खानेको सट्टा गरीखाने प्रोत्साहित भएमात्रै समाजको आर्थिक रूपान्तरण सम्भव हुने उनको भनाइ थियो ।

पत्रकार सम्मेलनमा चौधरीले गरीखाने सोच भएकालाई समाजले महत्त्व नदिएसम्म आर्थिक, सामाजिक र राजनीतिक समस्या समाधान नहुने दाबी गरे । सातै प्रदेशमा उक्त अभियानको स्थायी संरचना बनाउने योजना चौधरीले सुनाए । ‘यस्तो संरचना प्रत्येक जिल्लामा बनाउनुपर्छ भन्ने नै हाम्रो सोच हो । उद्यम र व्यवसायको रूपमा सबैभन्दा अगाडि वीरगञ्ज छ, त्यहीँबाट हामीले अभियान शुरू गरेका छौं,’ उनले भने ।

कोरोना महामारीका कारण उत्पन्न समस्याको सामना गरिरहेको अवस्थामा यो अभियानको उद्देश्य बेरोजगारी समस्या, आपूर्ति र उत्पादन तथा माग र उत्पादनबीचको खाडल पूर्ति गर्ने भएको चौधरीको भनाइ छ । मुलुकमा स्थायित्व र विकासको वातावरणका लागि गरीखाने तप्कालाई प्रोत्साहनको खाँचो रहेको उनले बताए ।

सरकारले युवालाई प्रमाणपत्रको आधारमा विनाधितो ऋण उपलब्ध गराउने, रोजगारी दिनेजस्ता योजना सुनाए पनि कार्यान्वयनमा नदेखिएको उद्योगी चौधरीको भनाइ थियो । अब उद्यम लगानी र विकासको वातावरणका लागि अभियान शुरू गरिएको दाबी उनले गरे ।

अभियानका सहसंयोजक उद्यमी एवम् संविधानसभा सदस्य अनिलकुमार रुङ्गटाले गरीखाने अभियान नेपालीको जीवनस्तर रूपान्तरणमा केन्द्रित रहेको बताए । अहिले गरीखाने बाटोमा अग्रसर गराएर समयान्तरमा हुनेखाने वर्गमा रूपान्तरण गर्ने योजनाका साथ यो अभियान थालिएको उनको भनाइ छ । आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?