मेलम्चीको पानी काठमाडौँ आउने समय सरेको सर्‍यै !

काठमाडौँ । मेलम्ची खोलाको पानी काठमाडौँ आउन कम्तीमा अझै तीन महिना लाग्ने भएको छ । आयोजनाको प्रमुख दाता एसियाली विकास बैङ्क (एडीबी)ले पानी पथान्तरणअघि विज्ञहरूबाट अनुगमन गराएर थप काम गर्नुपर्ने सुझाव दिएपछि एक महिना थप काम गर्नुपर्ने भएको छ ।

पानी पथान्तरणको दुई महिनापछि मेलम्चीको पानी सुन्दरीजलमा आउनेछ । जसअनुसार मेलम्चीको पानी काठमाडौँ आउन कम्तीमा तीन महिना तालिकाअनुसारको काम गर्नुपर्नेछ । विज्ञ टोलीले दिएको सुधारका काम सम्पन्न भएपछि पानी पथान्तरण गरिनेछ । सुधारको काम गर्न एक महिना लाग्नेछ ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार फागुन पहिलो हप्ता सुधारको काम सकिनेछ । सुधारको काम सकिएपछि पानी पथान्तरण तथा सुरुङको परीक्षण गरिनेछ । दुई महिना पथान्तरण गरिएपछि सुन्दरीजलमा पानी पठाइनेछ । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री भन्छन्, “फागुन पहिलो हप्ता सुधारका काम सबै सकिन्छ, त्यसपछि दुई महिना सुरुङ टेस्टिङ गर्न लाग्छ अनि मात्र पानी आउँछ । ”

मेलम्चीमा सुरुङ प्रवेशद्वार (गेट)को जडान र फिनिसिङ सम्पन्न भएपछि पानी पथान्तरण गर्नुअघि प्राविधिक टोलीमार्फत अनुगमन गरिएको थियो । हाल प्राविधिक टोलीले दिएको सुुझावअनुसार थप काम भइरहेको खत्रीले जानकारी दिए। उनका अनुसार टोलीले सुरुङ फिनिसिङमा थप बलियो गरी काम गर्नुपर्नेलगायतका प्राविधिक काम गर्न सिफारिस गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?