मार्सी चामलको ब्राण्डिङ गर्दै खाद्य कम्पनी

काठमाडौँ । जुम्लाको मार्सी चामल अब ‘नेपाल फुड’ ब्रान्ड बनेको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले नै मार्सीलाई ब्रान्डिङ गरेको हो । यसका लागि पहिलो चरणमा सुर्खेतबाट खरिद गरिएको २ सय ७० क्विन्टल मार्सी चामल काठमाडौं ल्याएर प्याकेजिङ भइरहेको कम्पनीका बिक्रीवितरण विभाग प्रमुख भीम थापाले बताए ।

दोस्रो चरणमा कम्पनीले जुम्लाबाटै थप ३ हजार क्विन्टल मार्सी धान खरिद प्रक्रिया सुरु गरेको छ । ‘सुर्खेतबाट ल्याएको मार्सी चामल प्याकेजिङ भइरहेको छ । बिहीबारदेखि नै उपभोक्ताले किन्न पाउँछन् । यसको मूल्य प्रतिकिलो २ सय २५ रुपैयाँ निर्धारण गरेका छौं,’ थापाले भने, ‘खाद्यले तोकेको मूल्य बजार भाउभन्दा धेरै सस्तो छ ।’

कम्पनीका अनुसार बजारमा एक किलो मार्सीको मूल्य २ सय ४० देखि २ सय ६० रुपैयाँसम्म पर्छ । सुर्खेतको बजारमै खुला प्रतिकिलो १ सय ८५ रुपैयाँमा खरिद गरेको खाद्यले ढुवानी, प्याकेजिङ खर्च, लोड–अनलोड, प्रशासनिक खर्चलगायत जोडेर खुद्रामा आफूले बेच्ने मूल्य निर्धारण गरेको जनाएको छ ।

‘फलाउनेलाई केही राहत होस् भनेर सुर्खेतका किसानसँग समन्वय गरेर पहिलो लट ल्यायौं,’ थापाले भने, ‘बिहीबारदेखि काठमाडौंको थापाथली, नक्खु, भक्तपुर, रामशाहपथ आउटलेटबाट बिक्री सुरु गर्छौं । बिक्री कक्ष नआई अनलाइनबाट किन्छु भन्नेलाई पनि डेलिभरी दिने व्यवस्था गरेका छौं ।’

दोस्रो चरणमा जुम्लाबाट धान खरिद गर्न कम्पनीले प्राथमिक खरिद समिति गठन भएको जनाएको छ । सरकारी प्रक्रियाअनुसार गठित समितिमा अध्यक्ष सम्बद्ध जिल्लाका प्रमुख जिल्ला अधिकारी हुने व्यवस्था छ । सदस्यमा खाद्य कम्पनी, कृषि ज्ञान केन्द्र, कृषि कार्यालयले तोकेको कृषक र सम्बन्धित हुन्छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?