२०७७, १५ माघ बिहीवार ०६:३५

खोप अभियान: सरकार गम्भीर नहुँदा चुनौती


प्रकाशित मिति : २०७७, १५ माघ बिहीवार ०६:३५

काठमाडौँ । मुलुकमा पहिलोपटक चीनको वुहानबाट फर्केका एक नेपालीमा गत वर्ष माघ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसको एक वर्ष ५ दिनपछि बुधबार कोभिड–१९ विरुद्ध खोप लगाउन थालिएको छ ।

खोपको थालनीले आशा सञ्चार गरेको छ । कोरोना महामारीले नेपालसहित विश्वको सामाजिक जीवन र अर्थतन्त्रलाई नराम्ररी गिजोलेको छ । नेपालमा यो भाइरसले बुधबारसम्म दुई हजारभन्दा बढीको ज्यान लिएको छ भने झन्डै पौने ३ लाख मानिस संक्रमित भएका छन् । नेपालमा कोरोनाको मृत्युदर शून्य दशमलव ७ प्रतिशत छ ।

कोरोनाको उपचारमा निश्चित औषधि अझैसम्म बन्न सकेको छैन तर महामारी नियन्त्रणका लागि केही खोप प्रयोगमा आइसकेका छन् र दर्जनौं देशमा लगाउन सुरु गरिएको छ । यसअघि सामान्यतया कुनै पनि खोप विकास गर्न ५/७ वर्ष लाग्ने गरेकोमा कोभिड–१९ को खोप एक वर्षमै विकास हुन सकेको छ । यसलाई वैज्ञानिक चमत्कार मानिएको छ ।

भारत सरकारले गत साता उपलब्ध गराएको १० लाख मात्रा खोपका कारण नेपाल अभियान सुरु गर्न सफल भएको हो । नेपालले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले विकास गरेको र भारतीय खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटद्वारा निर्माण गरेको कोभिसिल्ड खोप लगाउन सुरु गरेको छ । खोप अभियान सुरु भएसँगै आगामी दिनमा कसरी अगाडि बढ्छ भन्नेमा सबैको ध्यान तानिएको छ । नेपालले अहिलेसम्म जोहो गरेको खोप बढीमा पाँच लाख मानिसलाई पुग्ने हो र अबको १० दिनमा यो खोप प्रयोग भइसक्नेछ । त्यसपछि नेपालले चरणबद्ध हिसाबले कति छिटो र कुन खोप प्राप्त गर्न तथा खरिद गर्न सफल होला भन्ने आम चासो छ ।

शुभारम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले थप खोप खरिद गर्न प्रयास भइरहेको बताए । १४ वर्षमुनिका बालबालिकाबाहेक सबै नेपालीलाई २ वर्षमा कोरोना खोप उपलब्ध गराउने भनेर स्वास्थ्य मन्त्रालयले यसअघि बताउँदै आएकोमा प्रधानमन्त्री ओलीले तीन महिनाभित्रै सबै नेपालीलाई खोप उपलब्ध गराउने आश्वासन दिए ।

प्रधानमन्त्रीले आश्वासन दिए पनि विज्ञ भने नेपालले यथाशीघ्र खोप प्राप्त गर्न गम्भीर गृहकार्य गर्न नसकेको बताउँछन् ।

खोप खरिद गर्न केही निर्माता कम्पनी र सम्बन्धित देशलाई नेपालले पत्राचार त गरेको छ तर अपेक्षित जबाफ पाएको छैन । नेपालले हालसम्म कुनै पनि खोप उत्पादकसँग अग्रिम बुकिङ वा सहमति केही पनि गर्न सकेको छैन । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बेलायत, रुसलगायतका मुलुकका कूटनीतिक व्यक्तिसँग कुराकानी गरिरहेका छन् । अहिले नेपालले पाएको १० लाख मात्रा खोप पनि त्यही सक्रियताको परिणाम हो । मन्त्री आफैं सक्रिय भएर बढी खोप ल्याउन सके भने बेग्लै हो अन्यथा तुरुन्तै खोप आउने देखिएको छैन ।

सीमित उत्पादनका कारण सन् २०२१ भर विश्वव्यापी रुपमा खोपको अभाव रहने देखिएको छ । अत्यधिक मागलाई सम्बोधन गर्न आपूर्ति हुन सक्ने स्थिति नरहेको विभिन्न प्रक्षेपणले देखाएका छन् । अर्काेतिर खोप उत्पादनमा केही सीमित राष्ट्रको वर्चस्व रहेकाले उनीहरू यसको आपूर्तिलाई आफ्नो शक्ति तथा प्रभाव विस्तारको कूटनीतिक संसाधनका रूपमा प्रयोग गर्न उद्यत देखिएका छन् । विश्व स्वास्थ्य संगठनलगायतका बहुपक्षीय निकायले खोपको न्यायसंगत खरिद र वितरणलाई प्रमुखता दिँदै बहुपक्षीय दृष्टिकोण राख्नुपर्ने बताउँदै आएका छन् । तर धनी राष्ट्रले खोप खरिदमा सोझै उत्पादक कम्पनी र राष्ट्रसँग ठूलो स्तरमा द्विपक्षीय सम्झौताहरू गरेका छन् । यसले जसको शक्ति उसकै भक्ति भनेजस्तो स्थिति उत्पन्न भई खोपको न्यायोचित वितरणमा प्रश्न उठेको छ । यही पृष्ठभूमिमा सीमित हिसाबले बुधबारदेखि नेपालमा कोरोना खोप लगाउन सुरु भए पनि आम जनसमुदायले सहज रुपमा खोप पाउन चुनौती कायमै छ ।  आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस