विद्युत आयात नयाँ उचाइमा

काठमाडौं । विद्युत्को आन्तरिक उत्पादन घटेपछि भारतबाट हुने विद्युत्को आयात नयाँ उचाइमा पुगेको छ । आन्तरिक माग आपूर्ति गर्न अहिले ‘पिक आवर’ मा ६८० मेगावटसम्म विद्युत् आयात भएको छ, जुन हालसम्मकै उच्च हो । गत पुसमा पिक आवरमा ६३८ मेगावाटसम्म विद्युत् आयात भएको थियो । पछिल्लो समय विद्युत्को माग पनि बढ्दै गएको र उत्पादन पनि घटेपछि विद्युत् आयात बढाउन परेको हो ।

नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले हाल पिक आवरमा ६८० मेगावाटसम्म विद्युत् आयात गरिएको बताए । त्यो हालसम्मकै उच्च भएको पनि उनको भनाइ छ । अहिले प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर, रक्सौल–परवानीपुर, कुशाहा–कटैयालगायत अन्तरदेशीय प्रसारणलाइनबाट भारतीय विद्युत् आयात गर्दै आएको छ ।

विद्युत्को आन्तरिक उत्पादन घटेपछि आयात बढाउनु परेको हो । यसपटक आन्तरिक उत्पादन बढी मात्रामा घटेको र माग पनि बढेकाले बढी मात्रामा विद्युत् आयात गर्नु परेको प्राधिकरणको भनाइ छ ।

नेपालमा रहेको अधिकांश विद्युत् आयोजना नदी प्रवाहमा आधारित छन् । हिउँदको समयमा खोला/नदीमा पानीको प्रवाह कम हुने भएकाले विद्युत् उत्पादन कम हुन्छ । अहिले निजीक्षेत्रका जलविद्युत् आयोजनाबाट २७० मेगावाटसम्म मात्र विद्युत् उत्पादन भएको छ । वर्षा याममा भने उनीहरूबाट ७०० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुन्छ ।

वर्षा याममा प्राधिकरणअन्तर्गतका विभिन्न आयोजनाबाट ६३६ मेगावाटसम्म विद्युत् उत्पादन गर्न सकिन्छ । तर, अहिले प्राधिकरणको जलाशययुक्तसहित विभिन्न आयोजनाबाट करीब ४९० मेगावाटको हारहारीमा मात्र विद्युत् उत्पादन भइरहेको छ । यसरी विद्युत् उत्पादन कम भएपछि विद्युत् आयात बढाउनु परेको भट्टराईले बताए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?