आजदेखि कोरोनाविरुद्ध खोप अभियान शुरु, खोप सुरक्षित रहेको विज्ञको धारणा

काठमाडौँ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य समूहले खोप लगाउने कार्यक्रम छ ।

अभियानसँगै नेपाल कोभिड–१९ विरुद्धको खोप पाउने मुलुकमा दक्षिण एसियामा भारतपछि दोस्रो मुलुक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालपछि बुधबार दिउँसो बंगलादेशमा खोप अभियान सुरु हुने भएको छ ।

भारतले एक साताअघि अनुदानस्वरुप दिएको अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनिकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिडसिल्ड’ नामक खोप लगाइँदै छ । पहिलो चरणमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा संलग्न कर्मचारी र शववाहन चालकलगायत छन् । पहिलो चरणमा ४ लाख ३० हजारलाई खोप लगाइने परिवार कल्याण महाशाखाले जनाएको छ । बुधबार देशभरि १ सयभन्दा बढी खोप केन्द्रबाट खोप दिइने कार्यक्रम रहेको छ ।

हाल नेपालमा प्रयोग हुन लागेको कोभिडसिल्ड खोप अनुसन्धानबाट प्रमाणित खोप भएकाले सुरक्षित रहेकाले खोप लगाउँदा डर मान्नु नपर्ने महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए । नयाँ रोगमा आएको खोप भएकाले कतिपयको मनमा डर लागिरहेको पाइएकाले कोही पनि नडराउन डा. पोखरेलको सुझाव छ । नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?