प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बोलेको कुराले अदालतको अवहेलना भएको दाबीसहित हदैसम्मको सजाय माग गर्दै सर्वोच्च अदालतमा मंगलबार दुईवटा निवेदन दर्ता भएका छन्। प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले आइतबार पेस गरेका रिट निवेदन दर्ता भएका हुन्।

कुनै पनि व्यक्तिले अदालतको मानमर्दन हुनेगरी बोलेमा अदालतको अवहेलनामा मुद्दा दर्ता गर्न सकिने कानुनी व्यवस्था छ। अदालतको फैसलाको अवज्ञा गरेमा, न्याय सम्पादनमा अवरोध गरेमा कारबाही चलाउनसक्ने न्याय प्रशासन ऐनमा व्यवस्था छ। ‘अदालतको अवहेलना ठहरेमा सम्बन्धित अदालतले कसुरदारलाई एक वर्षसम्म कैद वा १० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय वा अन्य उपयुक्त आदेश गर्न सक्नेछ’, कानुनमा व्यवस्था छ। सर्वोच्च प्रशासनले प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दा दर्ता गर्ने निर्णय मंगलबार दिउँसो गरेको थियो। अवहेलना मुद्दामा बिहीबारका लागि पेशी तोकिएको सर्वोच्चले जनाएको छ। निवेदकले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरी प्रधानमन्त्रीले सार्वजनिक भाषणमा ‘बाजे वकिलसमेत लगेर बहस गर्न लगाएछन्…’ भनी गरेको टिप्पणीले अदालतको अवहेलना भएको दाबी रिटमा गरिएको छ। नागरिक दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?