‘नेशनल पेमेन्ट स्वीच’को तयारी अन्तिम चरणमा, सबै विद्युतीय भुक्तानी प्रणालीहरू एकै ठाउँमा हुने

काठमाडौं । बैंकिङ प्रणालीमा विद्युतीय कारोबारलाई सस्तो र सुरक्षित बनाउन आफ्नै देशको ‘नेशनल पेमेन्ट स्वीच’ स्थापनाका लागि प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकबाट यस्तो स्वीच बनाउन अधिकार पाएको नेपाल क्लीयरिङ हाउस लिमिटेड (एनसीएचएल)ले विस्तृत प्राविधिक प्रतिवेदन अन्तिम चरणमा पुगेको बताएको छ ।

प्रतिवेदनमाथि २–३ दिनभित्र छलफल गरेर राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागमा पठाइने एनसीएचएलका अध्यक्ष नरेश शाक्यले जानकारी दिए । उनका अनुसार हालसम्म सञ्चालनमा रहेका आईपीएस, कनेक्ट आईपीएस र बजारमा चलेका वालेट, क्यूआर कोड, डेबिट तथा क्रेडिट कार्डलगायत विद्युतीय भुक्तानी प्रणालीहरू सबैलाई स्वीच मा समावेश गरिनेछ । एनसीएचएलको प्राविधिक कमिटीले तयार पारेको प्रतिवेदनलाई अब बोर्डमा छलफल गरेर राष्ट्र बैंकलाई बुझाउने अध्यक्ष नरेश शाक्यले बताए ।

अहिलेसम्म नेपालको आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारमा भिसा, मास्टर्ड कार्डजस्ता अन्तरराष्ट्रिय पेमेन्ट गेटवेलाई महँगो शुल्क तिर्नु परिरहेको छ । नेपालका बैंकहरूले विदेशी स्वीचका माध्यमबाट डेबिट क्रेडिट कार्ड र एटीएमको भुक्तानी दिने गरेका छन् । प्रत्यक कारोबारको करीब न्यूनतम १२ रुपैयाँको दरले विदेशी स्वीचलाई शुल्क तिरिरहनु परेको समेत राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

स्वीच स्थापनापछि अहिले भएका कार्डहरू सबै बैंकमा एउटै हुनेछ र जुनसुकै बैंकको एटीएम बुथ तथा पोसबाट गरेको कारोबारमा अतिरिक्त शुल्क लाग्ने छैन । यस्तो स्वीचले बैंक अन्तरआबद्धता कायम गर्ने भएकाले शुल्क सस्तो पर्न जाने राष्ट्र बैंक प्रवक्ता डा. भट्टले बताए । राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग उक्त स्वीच स्थापनापछि दीर्घकालीन योजनाअन्तर्गत जुनसुकै वालेट देशभित्र दोहोरो भुक्तानी गर्न मिल्ने र जुनसुकै वालेटबाट बैंक खातामा कारोबार गर्न मिल्ने बताउँछ । आर्थिक अभियान दैनिकमा ममता थापाले समाचार लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?