एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन शुरु गर्यो

काठमाडौं । नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन गरेको विद्युत् सोमवारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली र उद्योगका प्रतिनिधिहरूको सहभागितामा सोमवारदेखि १ हप्ताका लागि परीक्षण उत्पादन शुरू गरिएको हो । १ हप्तापछि भने व्यावसायिक रूपमै विद्युत् उत्पादन शुरू हुने एभरेस्ट सुगर मिल्सका कार्यकारी निर्देशक सरेस सर्राफले बताए ।

उक्त उद्योगबाट उत्पादित विद्युत् प्राधिकरणको औराही सबस्टेशनमा जोडिएको हो । सबस्टेशन र उद्योगबीचको दूरी भने १२ किलोमीटर छ । यससँगै चिनी उद्योगबाट प्राधिकरणलाई विद्युत् विक्री गर्ने एभरेस्ट सुगर मिल्स पहिलो चिनी मिल बनेको छ ।

उक्त उद्योगले ३ मेगावाट विद्युत् उत्पादन गर्ने गरी गत पुस ८ गते विद्युत् विकास विभागबाट उत्पादनको अनुमतिपत्र लिएको थियो । यद्यपि अनुमतिपत्र अनुसार हाल ३ मेगावाट विद्युत् नै उत्पादन भएको छैन । अहिले करीब २ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको कार्यकारी निर्देशक सर्राफले बताए । आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?