महिनावारीमा प्रयोग भएको स्यानिटरी प्याड कहाँ जान्छ ? जानकारले औंल्याए केही खतरा

‘प्रयोग भइसकेका प्याडबाट रोग फैलिने जोखिम उच्च हुन्छ’

काठमाडौं । महिनावारी प्राकृतिक नियम हो । तर, समाजका लागि यो ‘विवादास्पद’ विषय बनेको छ । धार्मिक र आधुनिक मूल्यमान्यताको टसलमा पिल्सिएको महिनावारीलाई सामान्यीकरण गर्न विभिन्न प्रयास भएका छन् । भइरहेका छन् ।

महिनावारी ‘रोग’ होइन, अशुभ सङ्केत होइन, वर्जित अवस्था होइन भन्ने कुरा बुझाउन थुप्रै संघसंस्थाहरु कार्यरत छन् । विभिन्न अभियान पनि चलिरहेका छन् । महिनावारीका वेला स्वास्थ्यको ख्याल राख्ने, प्याडको सही प्रयोग आदिका बारेमा सिकाउनलाई नै कैयौं अभियान्ताहरु निरन्तर खटिरहेका छन् । वृत्तचित्र, टेलीसिरियल, विज्ञापन आदिमार्फत् पनि यस विषयमा जनचेतना फैलाइरहिएको छ ।

यद्यपि एउटा समस्या भने सम्बोधन गर्नै सकिएको छैन । त्यो हो, प्रयोग भइसकेका प्याडहरुको व्यवस्थापन ।

घरबाट निष्काशन हुने सामान्य फोहोर हुँदै होइन प्याड । यसले स्वास्थ्य र वातावरणमा निम्त्याउने जोखिम उच्च रहेको बताउँछन् विज्ञहरु पनि ।
वातावरणविदका अनुसार प्याड प्रयोग नगर्नु वा गलत तरिकाले प्रयोग गर्नु स्वास्थ्यका लागि जति हानिकारक हुन सक्छ त्यति नै हानिकारक हुन्छ प्रयोग गरिएका प्याडहरुको उचित व्यवस्थापन नगर्नु ।

महिनाको ८७ लाख भन्दा बढी प्याड कहाँ जान्छन् ?

वि.सं २०६८ मा भएको जनगणना अनुसार नेपालमा १ करोड ३६ लाख ४५ हजार ४ सय ६३ महिला छन् । जसमा महिनावारी हुने अनुमानित उमेर समूह १५ देखि ३९ वर्ष मान्ने हो भने महिलाको सङ्ख्या ५७ लाख ९३ हजार ८ सय ३७ छ ।

त्यस्तै, सोही तथ्याङ्क अनुसार नेपालको शहरी क्षेत्रमा २२ लाख १७ हजार ७ सय ७१ महिलाको बसोबास रहेको छ जसमा महिनावारी हुने उमेर समूहका १० लाख ९३ हजार ४ सय ५१ महिला पर्दछन् ।

स्यानिटरी प्याडको प्रयोग ग्रामीण भेगका भन्दा पनि शहरी क्षेत्रका महिलाले बढी गर्ने भएकाले शहरका महिलाले हरेक महिना प्रयोग गर्ने प्याडको हिसाब गरौं ।
एकपटक महिनावारी हुँदा १ प्याकेटमा ८ वटा भएको प्याड प्रयोग गर्ने हो भने १० लाख ९३ हजार ४ सय ५१ महिलाले एक महिनामा ८७ लाख ४७ हजार ६ सय ८ वटा प्याड प्रयोग गर्ने रहेछन् ।

यो हिसाब शहरी महिलाको जनसङ्ख्या र उनीहरुले १ पटक महिनावारी हुँदा प्रयोग गर्ने प्याडको अनुमानित सङ्ख्यालाई मिलाएर निकालिएको हो । वास्तविक आँकडा अझै बढी हुनसक्ने सम्भावना छ ।

अब प्रश्न यो छ कि प्रयोगमा आइसकेका ८७ लाख भन्दा बढी प्याड कहाँ जान्छन् ? कसरी व्यवस्थापन हुन्छन् ? र, वातावरणमा यसको कस्तो असर परिरहेको छ ?

कसरी डिस्पोज हुँदै आएको छ ?

नेपाली समाजमा सामान्यतया स्यानिटरी प्याडका लागि छुट्टै डस्टबिन राखिएको बिरलै देखिन्छ । फोहोर फ्याल्नका लागि घरमा एउटा मात्र फोहोरदानी राखिने अथवा हदै भए गिलो र सुख्खा फोहोरका लागि दुईवटासम्म राखिएको हुन सक्छ ।

त्यसैले फोहोर संकलन गर्नेहरुले पछि ‘रिसाइकल’ हुने/नहुने फोहोर छुट्याउँदै गर्दा स्यानिटरी प्याडलाई ‘रिसाइकल’नहुने थुप्रोमा राखेर फोहोर फ्याल्ने ठाउँसम्म पु-याउँछन् । त्यही फोहोर पनि लगेर व्यवस्थित ढंगले जलाए त हुने हो तर खुल्ला क्षेत्रमा लावारिस पाराले छरपस्ट थुपारिएको मात्र हुन्छ ।

स्यानिटरी प्याडको प्रयोग ग्रामीण भेगमा भन्दा शहरी क्षेत्रमा बढी हुने भएकाले स्यानिटरी फोहोर उत्पादनमा शहरी महिलाहरु बढी जिम्मेवार देखिन्छन् ।

महिनावारी प्राकृतिक प्रक्रिया हो । र, नियमित पनि । यद्यपि, सार्वजनिक स्थानमा होस् या सार्वजनिक शौचालयमा यसका लागि छुट्टै फोहोरदानी राखिएको हुँदैन । त्यसैले, अक्सर शहरी महिलाहरुलाई बाहिर हिँड्दा प्याड व्यवस्थापनको निकै समस्या हुने गरेको उनीहरु बताउँछन् । प्याड फ्याँक्ने डस्टबिन नभएपछि शौचालयकै एक छेउमा फ्याल्नुपर्ने बाध्यता भएको गुनासो छ धेरै महिलाहरुको ।

तर सार्वजनिक शौचालयमा धेरैजसोले पोको नपारी प्रयोग भएको प्याड जथाभावी फ्याँक्ने गरेका छन् । त्यसो गर्नु पनि सही चाहिँ पक्कै होइन ।

यसको विकल्पमा अपनाइने अर्को तरिका भनेको ‘फ्लस’ गर्ने हो । फ्याल्ने ठाउँ नभएपछि त्यसलाई शौचालयभित्रै पानी हालेर बगाउने चलन छ । यस्तो प्राय शहरी क्षेत्रमा हुन्छ जहाँ कमोडको व्यवस्था छ । प्याडको कारण कहिलेकाहीँ शौचालय नै जाम हुने लगायतका समस्या पनि आइलाग्छ ।

ग्रामीण भेगमा भने फोहोर जलाउने वा खाल्डामा हाल्ने चलन भएकाले स्यानिटरी फोहोर पनि त्यसैगरी तह लगाउने गरिन्छ ।

स्वास्थ्यमा कतिसम्म असर गर्नसक्छ यसले ?

फोहोर संकलन तथा व्यवस्थापन गर्नेहरुले नाङ्गो हातले काम गरिरहेका हुन्छन् । जसकारण अन्य फोहोरसँग मिसाएर राखिएको स्यानिटरी प्याडलाई पनि उनीहरुले सोझै हातले छुनुपर्ने हुन्छ । रगतले लतपतिएको प्याडमा एचआइभी एड्स, हेपटाइटिस, टिटानस आदिजस्ता संक्रामक रोगका कीटाणुहरु पनि हुनसक्छन् । यस्तो अवस्थामा उनीहरु रोगको जोखिममा पर्न सक्ने चिकित्सक बताउँछन् ।

सार्वजनिक शौचालयमा अथवा घरमै पनि प्रयोग गरिसकेका प्याडहरुलाई उदाङ्गो पारेर राख्दा त्यसमा भएका कीटाणुहरुले विभिन्न रोग निम्त्याउन सक्छन् । कुकुर, चरा आदिले यस्ता प्याड बोकेर विशेष गरेर साना बालबालिकाहरु यसको जोखिममा रहने चिकित्सक बताउँछन् ।

वातावरणमा कस्तो असर ?

‘वातावरण स्वच्छ राख्नु भनेको कुच्चो लाउनु, झारपात उखेल्नु, रुख रोप्नु मात्र हो भन्ने ठूलो भ्रम छ मान्छेमा,’ वातावरणविद् अञ्जु शाह सिंह भन्छिन्, ‘तर हो यस्तै ससाना कुराहरुले अप्रत्यक्ष रुपमा वातावरण प्रदूषित बनाइरहेका छन् ।’

सिंहका अनुसार प्याडलाई निर्वाध रुपमा जलाउनाले वायु प्रदूषण हुन जान्छ भने जहाँ पायो उहीँ गाड्नाले जमिन प्रदूषित हुन पुग्छ । त्यस्तै, अव्यवस्थित रुपमा फ्याल्दा पानीको मुहानसम्म पुगेर खानेपानी नै प्रदूषित पार्न समेत सक्छ ।

सार्वजनिक शौचालयमा डस्टबिन नहुँदा स्यानिटरी प्याडलाई शौचालयमै फ्लस गर्नाले पानीको अतिप्रवाह हुने, ढलको पाइपलाइन अवरुद्ध हुने जस्ता समस्या निम्तिन सक्ने र ढल व्यवस्थापनमा समस्या आएर स्वतः वातावरणमा प्रभाव पार्ने हुँदा सिंह कुनै हालतमा पनि ‘फ्लस’ नगर्न सुझाउँछिन् ।

‘जलाउन, गाड्न, फ्याल्न, फ्ल्स गर्न नहुने हो भने यसको सुरक्षित व्यवस्थापन कसरी गर्ने?’ भन्ने हाम्रो प्रश्नमा सिंह भन्छिन्, ‘व्यक्तिगत तर्फबाट हामीले गर्न सक्ने भनेको प्रयोग भएका प्याडका लागि छुट्टै डस्टबिन राख्ने र प्रयोग गरिसकेपछि प्याडलाई खुल्ला रुपमा वा प्लाष्टिकमा पोको पारेर नफ्याल्ने । कागजमा पोको पार्ने र फोहोर संकलन गर्न आउने गाडीमा हाल्ने ।’

‘अनि यसरी संकलित फोहोरको व्यवस्थापन चाहिँ कसरी गर्नुपर्छ ?’

‘राज्यले हरेक स्थानीय तहलाई यसका लागि निर्देशन दिनुपर्छ । इनसिनरेटर नामक एउटा मेसिन पाइन्छ जसले विद्युतीय माध्यमबाट यस्ता फोहोरलाई नष्ट गर्छ । त्यसको प्रयोगबाट प्याड नष्ट पनि हुन्छ, त्यसमा भएका कीटाणु पनि र वातावरणलाई पनि कुनै असर पर्दैन,’ सिंह भन्छिन् ।

ग्रामीण भेगका महिलाले के गर्ने ?

ग्रामीण भेगका महिलाले प्राय कपडाको प्रयोग गर्ने भएकाले त्यसको व्यवस्थापनमा खासै समस्या पनि नहुने र यो अभ्यास स्वास्थ्य र वातावरणकै लागि पनि उचित भएको वातावरणविद् सिंह बताउँछिन् । सफा, घाममा सुकाइएको सुतीको कपडा प्रयोग गर्ने सल्लाह दिन्छिन् सिंह ।

यदि प्याडकै प्रयोग गरिन्छ र इनसिनरेटर जस्ता आधुनिक उपकरणको पहुँच छैन भने ग्रामीण भेगका महिलालाई प्रयोगमा आइसकेका प्याडलाई व्यवस्थापन गर्ने निम्नलिखित उपायहरु सुझाएकी छन् उनले :

गहिरो खाडलमा पुर्ने

कम्पोस्ट गर्ने

खाडलमा हालेर जलाइदिने

इनसिनरेटर(यदि छ भने) विद्युतीय माध्यमबाट नष्ट गर्ने

‘डिस्पोजल’को चिन्ता भन्दा उत्पादनमै समझदारी अपनाऔं’

नेपालकै पहिलो स्यानिटरी प्याड उत्पादक ‘सेफ्टी स्यानिटरी प्याड’की प्रबन्धक स्वर्णिमा राज भण्डारी ‘बायो डिग्रेडेवल’ प्याडको उत्पादनले केही हदसम्म प्याड व्यवस्थापनको समस्यालाई समाधान गर्ने बताउँछिन् ।

अक्सी बायो डिग्रेडेवल अर्थात् हावाले गल्ने र हाइड्रो बायो डिग्रेडेवल अर्थात् पानीले गल्ने दुई प्रकारका बायो डिग्रेडेवल प्याडको उत्पादन र प्रयोगमा वृद्धि ल्याउने हो भने वातावरणलाई असर नपुग्ने उनको भनाइ छ ।

‘हामीले पनि बायो डिग्रेडेवल प्याडको उत्पादन गरिरहेका छौं, बजारमा ल्याउनुअघि चरणवद्ध रुपमा परीक्षण भइरहेको छ,’ राजभण्डारी सुनाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?