धार्मिक यात्राको राजनीतिक अर्थ: ईश्वरका नाममा शपथसमेत नलिने ओलीले किन गरे पशुपतिमा ‘संकल्प पूजा’ ?

काठमाडौँ । ‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका नाममा शपथ लिन्छु ।’ अर्थात् उनले ‘ईश्वर’ शब्द हटाएर शपथ लिए ।

२०७२ सालमा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिँदा पनि ओलीले यस्तै गरेका थिए ।

भगवान्‌को साटो देश र जनताका नाममा शपथ खाएका उनै प्रधानमन्त्री ओली सोमबार सबेरै धर्मपत्नी राधिका शाक्य, सहयोगी र सुरक्षाकर्मीसहित पशुपतिनाथ मन्दिर गए, ईश्वरका नाममा सवा लाख दीप प्रज्वलन गरे र ‘विश्व शान्ति र राष्ट्र कल्याणको संकल्प पूजा’ गरे । उनले पशुपति क्षेत्रभित्र झन्डै एक घण्टा बिताएका थिए ।

ईश्वरका नाममा शपथसमेत नलिने साम्यवादी धङधङी बोकेका प्रधानमन्त्री ओली एकाएक पशुपतिमा ‘संकल्प पूजा’ गर्न किन गए होलान् ? जबकि गणतन्त्र प्राप्तिपछिका कुनै पनि बहालवाला प्रधानमन्त्रीले पशुपतिमा गएर संकल्प पूजा गरेका थिएनन् ।

अर्कातर्फ, उनै प्रधानमन्त्री ओलीले आफ्नो पूर्वमान्यताविपरीत शनिबार मात्रै माओवादी ‘जनयुद्ध’ का लडाकुहरूलाई भेटेर वर्गीय विभेद अन्त्यका लागि एकजुट हुनुपर्ने बताएका थिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल यी दुवै कुरामा त्यति धेरै अर्थ खोज्न नहुने बताउँछन् । ‘पशुपतिमा पुगेर प्रधानमन्त्रीज्यूले त्यहाँको निर्माणबारे जानकारी लिनुभएको हो,’ रिमालले भने, ‘लोकतान्त्रिक आन्दोलनका योद्धालाई सम्मान गर्ने सरकारको नीति नै हो, यसको अर्थ सिधा छ ।’

ओली हालको संविधानले मुलुकलाई धर्मनिरपेक्ष किटान गरेपछिका पहिलो प्रधानमन्त्री हुन् । छिमेकी भारतमा एउटा ठूलो धार्मिक समुदायलाई आकर्षित गर्ने उद्देश्यले धार्मिक राजनीति फस्टाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि मठ–मन्दिर जाने र पूजाआजा गर्ने चलन अरू बढाएका छन् । के त्यसैको सिको यता हुन थालेको हो ? यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?