सरकारको स्वीकृतिबिनै नेपाली युवा कतार प्रहरीमा

काठमाडौँ । नेपालसँग कुनै किसिमको सम्झौता नगरी कतार सरकारले नेपाली युवालाई प्रहरीमा भर्ना गरेको समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन्। कुनै पनि मुलुकले अर्को मुलुकका नागरिकलाई आफ्नो सुरक्षा निकायमा भर्ना गर्दा सम्झौता हुनुपर्ने सर्वव्यापी मान्यता हो। कतारसँग नेपालको श्रम सम्झौता भए पनि नेपाली युवालाई सुरक्षा निकायमा भर्ना गर्ने किसिमको कुनै सम्झौता भएको छैन।

अहिलेसम्म नेपालले मलेसिया, सिंगापुर र भारतसँग मात्र नेपाली युवालाई सुरक्षा निकायमा भर्ना हुन दिनेगरी सहमति दिएको छ। नेपाल र यी तीन मुलुकबीच यसबारे सम्झौता पनि भएका छन्। तर कतारसँग अहिलेसम्म यस्तो कुनै सम्झौता भएको छैन।

कतारले नेपाली युवालाई प्रहरीमा भर्ना गर्न चाहेपछि नेपालले यसबारेमा चासो देखाइसकेको छ। कतारस्थित नेपाली राजदूतावासले नेपाली युवालाई कतार प्रहरीमा भर्ना गर्ने हो भने दुई देशका सरकारी निकायबीच सहमति र निर्णय भई संस्थागत रूपमा काम सुरु गर्नुपर्ने धारणा कतार सरकारसमक्ष राखेको छ। तर कतारले वास्ता नगरी अवैध रूपमा नेपाली युवालाई प्रहरीमा भर्ना गरिरहेको छ। नेपालका केही मेनपावर कम्पनी र व्यक्तिहरूले कतारलाई सहयोग गरिरहेका छन्।

‘कतार प्रहरीमा नेपाली युवालाई भर्ना गरेको थाहा पाएपछि नेपाल र कतारको श्रम मन्त्रालयले ठोस निर्णय गर्न आवश्यक देखिएको बेहोरा कतार सरकारलाई केही महिनाअघि नै दिइसकेका छौं,’ कतारका लागि नेपाल राजदूत नारद भारद्वाजले नागरिकसँग टेलिफोनमा भने, ‘तर कतार सरकारले अहिलेसम्म कुनै जवाफ दिएको छैन। अर्कोतिर प्रहरीमा भर्ना गर्ने काम पनि रोकिएको छैन।’

कुनै पनि मुलुकको सुरक्षाकर्मीमा भर्ना हुनु विशिष्ट काम भएकाले एमओसी (मेमोरेन्डम अफ कर्पोरेसन) गर्नुपर्ने धारणा नेपाल सरकारका तर्फबाट राखिएको उनले जानकारी दिए। ‘तर कतार सरकारले यसमा खासै चासो देखाएको छैन’, उनले थपे। उनले अहिलेसम्म आधिकारिक रूपमा कतार प्रहरीमा एक सय ८० नेपाली युवा भर्ना भएको जानकारी दिए। उच्च स्रोतले भने अवैध रूपमा भर्ना गर्ने क्रम जारी रहेकाले ठूलो संख्यामा नेपाली युवा कतारी प्रहरीमा भर्ना भइसकेको बतायो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?