कोभिसिल्ड खोप तुलनात्मक रूपमा सुरक्षित

काठमाडौं । बुधबारदेखि लगाउन थालिने कोरोना भाइरस संक्रमण रोकथामविरुद्धको ‘कोभिसिल्ड’ खोप तुलनात्मक रूपमा सुरक्षित भएको भन्दै लगाउन चिकित्सक र खोपविज्ञले आग्रह गरेका छन् । सरकारले पर्याप्त मात्रामा खोपको प्रभावकारिता र लगाएपछि हुने प्रभावबारे जनचेतना प्रवाह नगर्दा अधिकांश नागरिकले खोपबारे शंका व्यक्त गर्न थालेका छन् ।

केही सर्वसाधारणले खोप लगाएपछि झन् खतरा हुने आशंका गर्दै खोप नलगाउने प्रतिक्रिया दिन थालेका छन् । सरकारले खोपका लागि व्यवस्थापकीय तयारी गरे पनि खोपबारे जनचेतना जागरण गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले खोप लगाउनुपूर्व सरकारले पर्याप्त मात्रामा जनचेतना प्रवाह गरेको भए अझ प्रभावकारी हुने बताए । उनले भने, ‘खोप लगाउनुपर्छ । यो खोपले विभिन्न फेज पार गर्दै आएको छ । हरेक भ्याक्सिनमा सानातिना समस्या देखिन सक्छ । यस विषयमा सरकारले ढुक्क पार्ने खालका पर्याप्त मात्रामा जानकारी गराउनुपर्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?