बजेटको अर्धवार्षिक समीक्षा : सूचकांकहरू कमजोर तर वार्षिक लक्ष्य हेरफेर गरिएन

काठमाडौं । कोरोना महामारीले मुलुकको अर्थतन्त्र नै शिथिल भइरहेका बेला सरकारले वार्षिक लक्ष्य हेरफेर नै नगरी चालू आर्थिक वर्ष (आव) २०७७/७८ का लागि ल्याएको बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । अघिल्ला वर्षहरूमा विशेष समहारोहका बीच अर्थ मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्ने गरे पनि यसपालि सरोकारवाला मन्त्रालयका सचिवहरूलाई राखेर अर्थमन्त्री विष्णु पौडेलले आइतवार बजेटको अर्धवार्षिक समीक्षा गरे ।

कोरोना महामारीले अर्थतन्त्र अप्ठ्योरामा परेको र सरकारले बजेटमार्फत लिएका लक्ष्यहरू पूरा हुनै कठिन देखिए पनि बजेट समीक्षामार्पmत अर्थमन्त्री पौडेलले सूचकांकहरू हेरफेर गर्न इच्छा देखाएनन् । बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री पौडेलले खर्चमा शिथिलता आउनुमा विकास बजेट खर्च गर्ने मन्त्रालयहरूको कमजोरी रहेको बताउँदै जवाफदेहीबाट पन्छिन खोजेका छन् ।

उनले बजेट खर्च गर्न कर्मचारी चुकेको भन्दै आलोचना गरे । मन्त्री पौडेलले कोभिड–१९ को महामारीका बेला पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विकासका कामका साथै पूँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले सहजीकरण र छलफल गरेको भन्दै नीतिगत निर्णय र निर्देशनको अभावमा मात्र पूँजीगत खर्च कम नभई सम्बद्ध निकायको क्रियाशीलतामा कमी आएको बताए । उनले कोरोनाले असर गरेको समग्र अर्थतन्त्र सरकारले ल्याएको बजेटबाटै उकासिने दाबी गरे । आर्थिक अभियान दैनिकमा विजय दमासेले समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?