वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीको अघोषित सिन्डिकेट

वीरगञ्ज । वीरगञ्ज सुक्खा बन्दरगाहमा ढुवानी व्यवसायीले अघोषित सिन्डिकेट शुरू गरेका छन् । सुक्खा बन्दरगाहबाट वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरसम्म कन्टेनर ढुवानीमा संलग्न व्यवसायीले अघोषित सिन्डिकेट थालेका हुन् ।

ढुवानी व्यवसायीले भाडा बढाएर आलोपालो अपनाएपछि कोरिडोरका उद्योगीले यसको विरोध गरेका छन् । व्यवसायीहरूले विगतको तुलनामा भाडा बढाएर आलोपालो प्रणाली थालेकाले ढुवानीको लागत बढेको वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए ।

व्यवसायीले सुक्खा बन्दरगाहदेखि परवानीपुर, जितपुर र सिमराको पुरानो भाडादरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि गरेका छन् । यसअघि २० फिटको कन्टेनरमा २२ मेट्रिकटन (मेट) मालसामान परवानीपुरसम्म पुर्‍याएको भाडा ८ हजार रुपैयाँ थियो । जितपुरसम्मको १० हजार र सिमराको १२ हजार रुपैयाँ तोकिएको थियो । यो भाडा दरमा ३ हजार ५ सय रुपैयाँका दरले वृद्धि भएको छ ।

एक दर्जन व्यवसायीले नयाँ भाडादर तोकेर सूचना निकालेका छन् । भाडा बढाएर आलोपालो लगाएपछि माघ ५ गतेदेखि नयाँ भाडादरमा कन्टेनर ढुवानी भइरहेको छ । सुक्खा बन्दरगाह भन्सारबाट कन्टेनर जाँचपास भएको भोलिपल्ट साँझ ५ बजेसम्म ट्रक खाली नभएमा प्रतिदिन २ हजार रुपैयाँका दरले डिटेन्सन लाग्ने पनि व्यवसायीको सूचनामा उल्लेख छ ।

समुद्रपारबाट भारतीय बन्दरगाह हुँदै वीरगञ्ज सुक्खा बन्दरगाहसम्म ल्याइएका कन्टेनर ढुवानी व्यवसायीले कोरिडोरका उद्योगसम्म पु¥याउँछन् । भारतबाट रेलमार्फत् आएका औद्योगिक कच्चा पदार्थ पनि ट्रकले कोरिडोरका उद्योगसम्म ओसार्छन् ।

ढुवानीमा संलग्न व्यवसायीले आपसमा मिलेमतो गरी भाडा बढाएको नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका पूर्वअध्यक्ष अशोककुमार टेमानीले बताए । ‘ढुवानी व्यवसायीको अवैध मिलेमतोले उत्पादनको लागत बढ्ने निश्चित छ । सरकारले व्यवसायको आवरणमा मौलाएको दादागिरीविरुद्ध तत्काल कडा कदम चाल्नुपर्छ,’ टेमानीको माग छ ।

यता ढुवानी व्यवसायी भने अस्वस्थ्य प्रतिस्पर्धाका कारण व्यवसाय निरन्तर घाटामा गएकाले त्यसलाई व्यवस्थित गर्न खोजिएको बताउँदै आएका छन् । अव्यवस्थित प्रतिस्पर्धाले व्यवसाय धराशयी हुने अवस्थामा पुगेकाले व्यवसयीहरू आलोपालोको सहमतिमा पुगेको ढुवानी व्यवसायी श्याम सिंह प्रसाद पटेलले बताए । विगत १ वर्षदेखि ४ हजारदेखि ५ हजार रुपैयाँसम्ममा ढुवानी गर्दा उद्योगी मौन बसेको भन्दै अहिले बढेको भाडा अस्वाभाविक नभएको दाबी पटेलको छ । आर्थिक अभियान दैनिकमा ओमप्रकाश खनालले समाचार लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?