कोरोना प्रभाव : गत वर्षभन्दा २ सय ५० केजी बढी सुन आयात, बैंकमा थुप्रिन्छ मात्रै !

लोकपथ
0
Shares

कमला अर्याल/ काठमाडौं – पछिल्लो समय सुनको आयातमा वृद्धि भएको देखिएको छ ।

आर्थिक वर्ष २०७७/७८ को पुस मसान्तसम्ममा गत वर्षको तुलनामा २ सय ५० केजी बढी सुन आयात भएको छ ।

पुससम्ममा १२ अर्ब १६ करोड ७ लाख रुपैयाँ बराबरको १७ सय केजी सुन आयात भएको छ ।

गत वर्ष ७ अर्ब ८८ करोड १६ लाख रुपैयाँ बराबरको १४ सय ५० केजी सुन आयात भएको देखिएको थियो । यो भन्सार विभागको तथ्यांक हो । यो आयात गत वर्षको तुलनामा ४ अर्ब २७ करोड ९१ लाख रुपैयाँ बराबर (२ सय ५० केजी)ले बढी हो ।सुनको आयात गत वर्षको तुलनमा बढेको छ । तर कारोबार हेर्ने हो भने शुन्य जस्तै अवस्थामा छ ।

विगतका वर्षहरुमा यो अवधी भनेको सबैभन्दा बढी सुन बिक्री हुने अवधी हो । वैशाख, जेठ, असार, भदौ, असोज, कार्तिक, मंसिर, माघ र फागुनमा लगन तथा ठूला चाडवाड पर्ने भएकाले दैनिक ५०/६० केजीको हाराहारीमा कारोबार हुने गथ्र्यो । तर यसपाली भने चाडवाड र विवाहको लगनमा पनि प्रशस्त मात्रामा सुन बिक्री भएको छैन ।

कोरोना भाइरस (कोभिड १९) का कारण सर्वसाधारणको क्रय शक्तिमा ह्रास आएका कारण सुन खरिद गर्न सर्वसाधारण आकर्षित देखिएका छैनन् ।

लकडाउन हुँदा कयौँ कामदारले रोजगारी गुमाएको तथा कयौँ कामदारको तलब सुविधा कटौती भएका कारण उनीहरुको क्रय शक्तिमा ह्रास आएको हो । एकातिर सर्वसाधारणको क्रय शक्तिमा ह्रास आउनु र अर्कातिर सुनको मुल्य पनि उच्च रुपले बढ्नुले पनि सुनमा सर्वसाधारणको आकर्षण घट्दै गइरहेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार कारोबारमा अझै सुधार आउन सकेको छैन । कोरोना संक्रमण फैलिएका बेला लकडाउन भएकाले सुन आयात पनि रोकिएको थियो ।

अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु पनि सूचारु भएकाले सुनको आयात बढेको तथा आम मानिसमा क्रय क्षमता नहुँदा बैकमा थन्किएको अध्यक्ष शाक्यको भनाई छ । त्यस्तै महासंघका पूर्व अध्यक्ष मणिरत्न शाक्यका अनुसार सुन आयात भइरहे पनि सर्वसाधारण किन्न आकर्षित नहुँदा सुन बैंकमै थुप्रिनुको विकल्प छैन ।

अहिले नयाँ गरगहनाको अर्डर पनि निकै कम आउने गरेको छ । सर्वसाधारणले गरगहना बनाइहाले पनि कम सुन लाग्ने र आकारमा ठूला देखिने गरगहना मात्रै बनाउने गरेको पूर्व अध्यक्ष शाक्य बताउँछन् । क्रय क्षमतामा ह्रास आएपछि मानिसहरु अत्यावश्यक बाहेकका कुनै पनि सामानहरु खरिद गर्न छाडे । सुन विलाशिताको वस्तुमा पर्छ ।

बाँच्नका लागि सुन अनिवार्य नभए पनि आफ्नो पहिचान र आर्थिक अवस्था दर्शाउन मानिसले सुनको प्रयोग गर्ने गरेको देखिन्छ । तर अबको अवस्था भनेको कसरी बाँच्ने, कसरी हातमुख जोड्ने भन्ने भएकाले सुनमा त्यति आकर्षित हुन छाडेको व्यवसायीहरु बताउँछन् । हरेक दिन ३०/३५ केजी बिक्री हुने गर्छ । तर कोरोनापछि भने व्यवसायमा भारी गिरावट आउँदा दैनिक १०÷१५ केजीको हाराहारीमा मात्रै सुन बिक्री हुने गरेको छ ।

नेपाल बैंकर्स संघका अनुसार बैंकमा २ सय ५१ केजी सुन स्टक छ । जसमा जसमा ९५ केजी काठमाडौँ उपत्यका र १ सय ५६ केजी उपत्यका बाहिर रहेको संघले जनाएको छ । कोरोनाको संक्रमणपछि लामो समयसम्म नखुलेको सुन व्यवसायमा आएको मन्दीका कारण बैंकको सुन पनि गत वर्षहरुमा जस्तो बिक्री नभएको संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।

यस्तो छ आजको भाउ
आइतवार (आज) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रवार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आइतबार प्रतितोला ३ सय रुपैँयाले घटेको हो । त्यसै,आइतबार तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै,आइतार चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रवार तोलामा १२६० रुपैयाँ रहेको चाँदी आइतवार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?