नेकपा दुवै पक्षको दाबी आयोगले नमान्‍ने, औपचारिक रुपमा पार्टी एउटै रहेको निस्कर्ष

काठमाडौँ । नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको फेरबदललाई निर्वाचन आयोगले पुनः अस्वीकार गर्ने भएको छ । दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको खबर आजको कान्तिपुर दैनिकमा छ ।

आयोग स्रोतका अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले लिएका निर्णय दलको विधानसम्मत छैनन् । ‘दुवै पक्षबाट पार्टीमा गरिएका फेरबदल दलको विधानअनुसार मेल खाएको देखिएन, उहाँहरूले आफ्नो निर्णय तथा कामकारबाहीलाई विधानअनुकूल दाबी गरे पनि त्यो मिलेको छैन,’ स्रोतले भन्यो, ‘आयोग करिब–करिब त्यही निष्कर्षमा पुगेको छ । २/३ दिनभित्र बस्ने बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय लिनेछ ।’

आयोगले दुवै पक्षको निर्णयलाई अवैधानिक भन्दै त्यसलाई अस्वीकार गर्नुको अर्थ औपचारिक रूपमा नेकपा एउटै रहेको मानिनेछ । आयोगको रेकर्डमा नेकपाका दुई अध्यक्ष ओली र दाहाल नै हुनेछन् । वरिष्ठ नेता नेपाल पार्टी अध्यक्ष बनेको विषयले वैधानिकता पाउने छैन । ‘बाहिर नेकपा विभाजित अवस्थामा रहे पनि कानुनी परिभाषामा नेकपा एउटै मानिनेछ,’ आयोग स्रोतले भन्यो, ‘दल विभाजनको कानुनी प्रक्रियामा उहाँहरू नपस्दा आयोगले जबर्जस्ती दल विभाजन गरिदिने अवस्था रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?