बेत र निगालोका सामग्रीको माग बढ्दो

सुर्खेत । कर्णाली प्रदेशमा बेतबाँस तथा निगालोका सामग्रीको माग बढ्दो छ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर बनाइएका सामग्री बलियो, टिकाउ हुने भएकाले बजारमा यसको माग बढेको हो । बजारको मागलाई पूर्ति गर्न सुर्खेतका दुईवटा सामुदायिक वन समूहमा आबद्ध उपभोक्तालाई भैरव बेतबाँस उद्योगले बेतबाँस तथा निगालोको सामग्री उत्पादन गर्ने तालिम दिएको छ ।

वीरेन्द्रनगर नगरपालिका–४ का भैरव सामुदायिक वन र जनजागरण सामुदायिक वनमा आबद्ध करिब २० महिलालाई उद्योगले नगरपालिका तथा स्याक नामक संस्थासँग समन्वय गरी एक महिने तालिम दिएको हो । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बेतबाँस र निगालोका सामग्रीको माग अत्यधिक भएकाले तालिम लिएकालाई ती सामग्री उत्पादन गर्न सुझाव दिए ।

वडा नं ४ का वडाध्यक्ष नीलकण्ठ खनालले बाहिरबाट आउने सामग्रीलाई अब बेतबाँस र निगालोका सामग्रीले प्रतिस्थापन गर्नुपर्ने र त्यसका लागि बजारको चिन्ता नगर्न आग्रह गरे । बेतबाँसका सामग्री उत्पादनको तालिममा सहभागी पुष्पा गौतमले तालिम प्रशिक्षण बढाएर कच्चा पदार्थको उपलब्धता भएमा सामग्री उत्पादन गर्न सकिने बताइन् ।

भैरव बेतबाँस उद्योगका अध्यक्ष अमरबहादुर कार्कीले एक महिनाको आधारभूत तालिमबाट जुत्ता राख्ने ¥याक, टोकरी, बास्केट, टी टेबुल, कुर्सी बनाउन सकिएको बताए । आगामी दिनमा बजारको मागका आधारमा बेतबाँस र निगालोका सामग्री उत्पादन गरिने जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?