दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सफल

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)ले विकास आयोजनाहरूलाई केही समय प्रभावित बनाए पनि कालीगण्डकी करिडोर दाना–खुर्कोट प्रसारण लाइन परीक्षण सम्पन्न भएको छ । शुक्रबारदेखि परीक्षण थालिएकामा खुर्कोट सबस्टेसन र प्रसारण लाइनको परीक्षण सफल भइसकेको छ । दाना सबस्टेसनको परीक्षण भने जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय प्रमुख मनोज सिलवालका अनुसार तल्लो मोदीबाट १३२ केभी क्षमतामा विद्युत् सबस्टेसन चार्ज गरिएको थियो । सबस्टेसनमा रहेका ट्रान्सफर्मरहरूको क्रमिक चार्जपछि १३२ लाई २२० केभीमा रूपान्तरण गरेर प्रसारण लाइनको परीक्षण गरिएको थियो । दुवै परीक्षण सफल भएपछि अहिले म्याग्दीको दानामा रहेको सबस्टेसन चार्ज थालिएको हो ।

पुसको दोस्रो साता म्याग्दीको दाना सबस्टेसन, पर्वतको खुर्कोट सबस्टेसन र बीचमा ११० टावर तथा ३९.६ किलोमिटर तार टाँग्ने सबै काम सकिएको थियो । प्रसारण लाइन तथा सबस्टेसनको नियमित सञ्चालन यसै साता गर्ने तयारीमा प्राधिकरण व्यवस्थापन जुटेको छ । यसपछि घलेम्दी जलविद्युत्को पाँच मेगावाट विद्युत् तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा आउने छ ।

त्यसैगरी थापाखोला जलविद्युत् आयोजनाको १३.५ मेगावाट विद्युत् पनि प्रणालीमा आउने छ । सबस्टेसनसम्म विद्युत् पु¥याउन थापाखोलाले अन्तिम तयारी गरिरहेको छ । त्यस्तै ४२ मेगावाट क्षमताको मिस्त्रिखोला जलविद्युत्ले पनि एक महिनामा विद्युत् जोड्ने लक्ष्यसहित काम गरिरहेको छ । निर्माणाधीन ४० मेगावाट क्षमताको रहुघाटको विद्युत् पनि यसले राष्ट्रिय प्रसारण लाइनमा ल्याउने छ ।
यो आयोजना निर्धारित समयभन्दा दुई वर्ष ढिला सम्पन्न भएको हो ।

एसियाली विकास बैङ्क (एडीबी)को सासेक पावर सिस्टम एक्सपान्सन कार्यक्रमअन्तर्गत सन् २०१६ मा निर्माण थालिएको यो दुई सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भइसक्दा तीन अर्ब रुपियाँ खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणले टाटा प्रोजेक्ट इन्डिया र चिन्ट इलेक्ट्रिक चीन जेभीलाई ठेक्का दिएको थियो । गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?