दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन: प्रधानमन्त्रीलाई सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ । ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेपछि त्यसविरुद्ध दाहाल–नेपाल समूहले आन्दोलन गर्दै आइरहेको छ ।

दोस्रो चरणको आन्दोलनअन्तर्गत दाहाल–नेपाल समूहले हजारौंको सहभागितामा काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललगायतका शीर्ष नेताहरूले सडकबाटै प्रधानमन्त्री ओलीलाई हटाउने चेतावनी दिएका छन् । सम्बोधनका क्रममा शीर्ष नेताहरूले प्रधानमन्त्री ओलीको चर्को विरोध गरे । धेरै नेताले मुलुकको समृद्धि र विकासका कुरा गर्नुभन्दा प्रधानमन्त्री ओलीलाई गाली गर्नमा नै धेरै समय व्यतीत गरेका थिए ।

माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिवाटिकालगायतका स्थानबाट जुलुस निकालिएको थियो । जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, शहीदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।

कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले तीन वर्षमा ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरेका दाहालले ओली प्रवृत्ति स्वीकार गर्ने भूल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए ।

आफूहरूको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफूहरू जनताका बीचमा आउनुपरेको उनले बताए । ओलीले निरकुंशवाद र अराजकता लादेर संघीयतामाथि नै प्रश्नचिह्न सिर्जना गर्ने काम गरेको आरोप उनले लगाए ।

अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको सर्वसत्तावाद, निरंकुशवाद, अराजकता र असंवैधानिक कदम स्थापित गर्न खोजिए शान्ति प्रक्रिया भंग हुने चेतावनीसमेत दिए । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री ओली हिटलरको संस्करण भएको टिप्पणी गरे ।

ओलीप्रति अब कोही पनि नतमस्तक नहुने बताउँदै उनले नेपाली जनता स्वाभिमानी भएको बताए । संविधानले विधिको आधारमा देश चल्ने बताए पनि अहिले देश विधिविपरीत चलाउन खोजिएको उनले आरोप लगाए । राजधानी दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?