कुलेखानीमा १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने तयारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने भएकोे छ । प्राधिकरणले सो क्षमता बराबरको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको हो । प्राधिकरणले यसका लागि सर्वेक्षणको अनुमति माग्दै विद्युत् विकास बिभागमा आवेदन पनि दिइसकेको छ । प्राधिकरणले गत पुसमा नै उक्त आयोजनाको सर्वेक्षण अनुमति माग्दै विभागमा आवेदन दर्ता गरेको हो ।

प्राधिकरणअन्तर्गतको एनईए इन्जिनीयरिङ कम्पनीले केही समयअघि नै यस सम्बन्धमा अध्ययन गरेको थियो । अध्ययनका क्रममा त्यहाँ पम्प स्टोरेज प्लान्ट बन्ने देखिएपछि प्रक्रिया अगाडि बढाइएको हो । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उक्त पम्प स्टोरेज प्लान्ट बनाउने प्रक्रिया अगाडि बढाइएको बताए ।

कुलेखानी बाँधभन्दा २ किलोमीटर तल रहेको सिस्नेरीमा उक्त आयोजना बन्नेछ । साँझको पिक आवर (४ घण्टा) मा उक्त आयोजना सञ्चालन गरिनेछ । उक्त समयमा कुलेखानी बाँधबाट नै पानी लगेर १०० मेगावाट विद्युत् उत्पादन गरिनेछ ।

विद्युतगृहको टर्वाइनबाट बाहिरिने पानीलाई नजीकै अर्को बाँध बनाएर जम्मा गरिनेछ । पिक आवर सकिएपछि रातिको समयमा पम्प तथा मोटर लगाएर बाँधको पानी माथि कुलेखानी बाँधमा फिर्ता पठाउने गरी आयोजना बनाउन लागिएको हो । यो चक्र पूरा गर्दा लगभग १० प्रतिशत पानी खेर जान सक्ने बताइएको छ ।आर्थिक अभियान दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?