किन बिगार्‍यो इन्भेष्टमेन्ट बैंकले आफ्नो छवि ? गर्दैछ मर्जरबाट सुधार्ने प्रयास !

काठमाडौँ – पछिल्लो समय नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्नो छवि सुधार्ने प्रयास गरिरहेको छ । आफ्नो छवि सुधार्न बैंकले हिमालय बैंकसँगको मर्जर प्रक्रियालाई थप तीब्र रुपमा अगाडि बढाएको छ । पछिल्लो समय बैंकिङ क्षेत्रमा चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

यस्तो प्रतिस्पर्धी समयमा राम्रो ‘पर्फर्मेन्स’ गर्न नसकेपछि बैंकले मर्जरबाट बिग्रेको छवि सुधार्ने प्रयास गरिरहेको हो ।

इन्भेष्टमेन्ट बैंक र हिमालय बैंकबीच मर्जर गर्न राष्ट्र बैंकले यसअघि नै सुझाएको थियो । त्यसलगतै यी दुवै बैंकबीच मर्जरका लागि पटकपटक छलफल समेत भएको छ ।

बैंकले लगानी गरेको ठूलो कर्जा असुल उपर हुन नसकेपछि बैंकले केही वर्ष यता राम्रो प्रगति गर्न सकिरहेको छैन । त्यसैले बैंकको छवि विस्तारै धमिलिँदै गएको छ । यी दुई बैंक नातेदारहरुको बैंक हो । त्यसैले पनि राष्ट्र बैंकले बिग मर्जरका लागि मिल्न सुझाव दिँदै आएको थियो ।

“नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंक बीचको मर्जरलाई राष्ट्र बैंकले पनि चासो दिएको छ,” राष्ट्र बैंक स्रोतले भन्यो । सम्भवतः यी दुई बैंक मर्ज हुने राष्ट्र बैंक स्रोतको दाबी छ ।

वित्तीय कारोबारमा खराब प्रदर्शन

वाणिज्य बैंकहरुमध्ये शक्तिशाली मानिने नेपाल इन्भेष्टमेण्ट बैंकको वित्तीय प्रगति सन्तोषजनक देखिएको छैन । बैंकले लगानी गरेको ठूलो कर्जा असुल उपर गर्न समस्या भएपछि केही वर्ष यता बैंकको वित्तीय अवस्था खस्किन थालेको हो ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ८ करोडले नाफामा गिरावट आएको छ । बैंकले बिहीवार प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५८ करोड ६६ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यही अवधिमा बैंकले १ अर्ब ६६ करोड ६१ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४.७७ प्रतिशतले बैंकको नाफामा गिरावट आएको हो । बैंकको ब्याज आम्दानीसँगै अधिकांश आम्दानीका स्रोतहरुमा कमी आएका कारण बैंकको नाफामा धक्का लागेको हो । विगतका वर्षहरुमा राम्रो प्रगति गर्ने इन्भेष्टमेन्ट बैंकले अहिले आफूभन्दा पछिका बैंकलाई पनि उछिन्न सकिरहेको छैन ।

बैंकले यस अवधिमा ४९ करोड ३८ लाख ३८ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । यस अवधिमा बैंकले प्रतिशेयर आम्दानी पनि घटाएको छ । यस्तो आम्दानी १.११ रुपैयाँ घटेर २२.२७ रुपैयाँमा झरेको हो । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा खुद ब्याज आम्दानी ८ करोड ९ लाख, सञ्चालन नाफा ४ करोड ८८ लाख रुपैयाँ, शुल्क तथा कमिशन आय १५ करोड ९२ लाख र नेट ट्रेडिङ इन्कम १४ करोड ५४ लाख रुपैयाँले घटेको छ ।

पुस मसान्तसम्म २ अर्ब ९८ करोड २४ लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले ५६ करोड ९४ लाख रुपैयाँ शुल्क तथा कमिशन आय, ३२ करोड ७ लाख रुपैयाँ नेट ट्रेडिङ इन्कम, १९ करोड २४ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी तथा २ अर्ब ३३ करोड १३ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

बैंकले जगेडा कोषमा १२ अर्ब १५ करोड ३७ लाख रुपैयाँ रहेको छ भने शेयर प्रिमियममा ३ करोड २६ लाख रुपैयाँ रहेको बैंकको वित्तीय विवरणले देखाएको छ ।

शेयरधनी कोषमा ३ अर्ब ११ करोड ६२ लाख रुपैयाँ सञ्चित रहेको छ ।

त्यस्तै, बैंकले खराब कर्जामा भने सुधार गरेको देखिन्छ ।

बैंकले आफ्नो खराब कर्जालाई घटाएर २.९० प्रतिशतबाट घटेर २.७५ प्रतिशतमा झारेको छ ।

बैंकले यस अवधिमा १ खर्ब ६६ अर्ब ३५ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३८ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको चुक्ता पूँजी १४ अर्ब २४ करोड ८९ लाख ५५ हजार रुपैयाँ वित्तीय विवरणले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?