मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षणको तयारी

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजाको मुख्य एवं सबैभन्दा जटिल संरचना सुरुङमार्ग पुनः परीक्षणको तयारी अघि बढाइएको छ । विगतको त्रुटि सच्याउँदै सुरुङमा पुनः गेट जडान गर्ने काम अन्तिमतिर पुगेपछि आयोजनाले परीक्षण तयारीको गृहकार्य थालेको हो ।

आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले ढिलोमा आगामी फेबु्रअरीभित्र सुरुङमा मेलम्ची खोलो छिराएर (पथान्तरण) परीक्षण गरिने बताए । ‘सुरुङ गेटको काम सकिनै लागेकाले पुनः परीक्षण तयारी थालिएको हो,’ उनले नागरिकसँग भने । उनका अनुसार सुरुङको गेट रहने संरचनामा कंक्रिटिङ ढलान गर्ने र फ्रेम झुन्डाउने काम सकिएको छ । अहिले झुन्डाइएको गेट कस्ने काम भइरहेको छ ।

आयोजना र दातृ निकायको समन्वयमा जर्मनीबाट झिकाइएको विज्ञ टोलीले समग्र सुरुङको अवस्था र गेट जडान कार्यको प्रत्यक्ष सुपरीवेक्षण र प्राविधिक अध्ययन गरिरहेको छ । सुरुङ र गेट विज्ञ सम्मिलित टोलीले अन्तिम प्रतिवेदन बुझाएपछि परीक्षणको काम सुरु हुने प्रवक्ता पन्तले जानकारी दिए । ‘विज्ञ टोलीले जनवरीको अन्तिमसम्म प्रतिवेदन बुझाउने भनेको छ,’ उनले भने, ‘प्रतिवेदनका आधारमा फेब्रुअरीदेखि सुरुङ परीक्षण थाल्ने तयारी छ ।’

आयोजनाका अनुसार विज्ञले डिसेम्बर अन्तिमसम्ममा प्रतिवेदन बुझाउने भने पनि गेटकै काम सकिएन । विज्ञले प्रतिवेदनमा केही त्रुटि औंल्याए पहिला त्यो सच्याउने काम हुने प्रवक्ता पन्त बताउँछन् । त्रुटि भेटिएपछि नै नयाँ डिजाइनअनुसार पुनः गेट जडान गर्ने काम भइरहेकाले ससानाबाहेक ठूला कमजोरी फेला नपर्ने आयोजनाको विश्वास छ ।  आजको नागरिक दैनिकमा समाचार  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?