आर्थिक अभाव झेल्दै बलात्कार पीडित परिवार

बुटवल । रुपन्देहीको तिलोत्तमा–१५ की पाँच वर्षीया बालिका ६ दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालको बेडमा छटपटाइरहेकी छिन् । अस्पतालमा सँगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौनांगमा गहिरो चोट छ । दिशापिसाबका लागि कोखाबाट पाइप लगाइएको छ । गालामा धारिलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ । कलिला ओठमा टोकेर बनाइएको गहिरो घाउ छ । दाहिने आँखाको परेला च्यातिने गरी चोट लागेको छ ।

अधिकांश समय बेहोसी अवस्थामै रहेकी बालिका छिनछिनमा बिउँझँदा चिच्याउँछिन्, छटपटाउँछिन् । माघ २ गते काठमाडौं पुर्‍याइएकी उनलाई आइतबार दिउँसो आइसियुबाट जनरल वार्डमा सारिएको थियो । ‘छोरीलाई आइसियुबाट अर्को कोठामा सारेका छन् । शरीरभरि घाउ छन् । घरीघरी दुख्यो भनेर चिच्याउँछे । अपरेसन गरेपछि अब त बाँच्छे कि भन्ने लागेको छ,’ उनले टेलिफोन कुराकानीमा भनिन् ।

स्थानीय एक कक्षामा पढ्ने पाँच वर्षीया ती बालिका माघ १ गते छिमेककै एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन् । बलात्कारमा संलग्न २८ वर्षीय होमबहादुर बिकलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । अभियुक्त कपिलवस्तुको बाणगंगा–१२ घर भई तिलोत्तमास्थित हीरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे । पसलमा सामान किन्न गएकी बालिकालाई बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए ।

घटनाको दिन साँझ ५ बजेतिर बालिका सामान लिन गाउँकै पसलमा गएकी थिइन् । पौने घण्टासम्म छोरी नफर्केपछि आमाले खोजी गरिन् । गाउँमा नभेटिएपछि आफन्तले झाडीतिर खोज्दै जाँदा बाँसको झाङमा बालिका अर्धमूर्छित अवस्थामा भेटिइन् । रगताम्मे भएकी बालिकाको यौनांग, ओठ, आँखा, गाला, घाँटीमा डरलाग्दा चोट थिए । बालिकाका आफन्त हरि मल्लाहका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निसान थियो । बालिकालाई तत्कालै भैरहवास्थित मेडिकल कलेज लगे पनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल पठाइयो । लुम्बिनीले तत्कालै काठमाडौं  रेफर गरिदियो ।

अहिले बालिका खतरामुक्त रहे पनि स्वास्थ्य अवस्था गम्भीर नै रहेको अस्पतालका चिकित्सकलाई उद्धृत गर्दै रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए । ‘अपरेसनपछि बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं,’ एसपी पोखरेलले भने । अभियुक्त बिकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ । नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्ने अपराधीलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन् । बालिकाका आफन्त र गाउँलेले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा केहीबेर धर्नासमेत दिएका थिए ।

बलात्कारी होमबहादुरका गलत क्रियाकलाप ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले हीरालाल मल्लाहलाई पनि कारबाहीको माग गरेका छन् । होमबहादुरको चालचलन पहिलेदेखि नै ठिक नभएकाले गाउँमा नराख्न स्थनीयले गरेको आग्रहलाई बेवास्ता गर्दा पाँच वर्षीया बालिका जघन्य अपराधको सिकार भएको भन्दै गाउँलेले हीरालाललाई कारबाहीको माग गरेका हुन् । आजको नागरिक दैनिकमा रेखा भुसालले समाचार लेखेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?