सेल्फीसँग जीवन साट्दैछन् मानिसहरु : भाइरल हुने चक्करमा किन संवेदना गुमाउँदैछ समाज ?

६ वटा भन्दा बढी सेल्फी नखिच्न र नो सेल्फी बोर्ड राख्न मनोविदको सुझाव

काठमाडौं । बुबाको पसलमा रहेका सत्यम सोनीका कान रेलको आवाज सुनेर चनाखो भए । उनलाई पहिल्यैदेखि रेलमाथि चढेर सेल्फी खिच्नु थियो । हस्याङ फस्याङ गर्दै नजिकैको मयल रेलवे स्टेसन पुगे । सोनीले त्यहाँ तेलको ट्यांकर बोक्ने मालगाडी राखेको देखे । उनी हत्तपत्त त्यसमाथि चढे । र, छतमा उभिए । सेल्फी खिच्न उनले हात उचालेका मात्र के थिए हातले ठीक माथि भएको बिजुलीको ‘हाईटेन्सन तारलाई छोयो । छुनासाथ उनलाई झट्का लाग्यो । उनी ह्वार्रह्वार्ती जल्न थाले । जलनको पीडाले उनी चिच्याउन थाले । केही मिनेटमा उनको मृत्यु भयो । उनको पार्थीव शरीर जलेको ठुटाजस्तै भूईंमा बजारियो ।

प्रत्यक्षदर्शीको बयान अनुसार उनीहरुले सत्यमलाई मालगाडीको छतमा चढ्दै गरेको देखेका थिएनन् । एक्कासी आगोले जलेर छटपटाउँदै गरेको मात्र देखे । बचाउने कोसिस गर्दागर्दै सत्यमले प्राण त्यागिसकेका थिए ।

आइतवार दिउँसो भारतको झारखण्डस्थित रामगढ जिल्लाको मयल रेलवे स्टेसनमा भएको यस घटनालाई कल्पना मात्रै गर्न खोज्दा पनि मुटु काम्छ । १४ वर्षका सत्यम सोनीको कलिलो मस्तिष्कले उब्जाएको रहरको परिणाम उनी संसारबाटै बिदा भए ।

यस घटनाको केही दिन अघिमात्र भारतमा सेल्फी लिने क्रममा एक किशोरीको पनि मृत्यु भएको थियो । पिकनिक गएकी १४ वर्षीया पूनीता कुजूरको सेल्फी लिँदै गर्दा ४० फिट गहिरो खाडीमा लडेर मृत्यु भयो ।

आजभोलि यस्ता थुप्रै घटनाहरु भइरहन्छन् । भारतमा मात्र होइन विश्वभरि नै । आखिर सेल्फीको यति विघ्न क्रेज किन ? एउटा सेल्फीको मूल्य एउटा सिंगो प्राण हो त ?

यही पुसमा दाङको बबई गाउँपालिकामा पनि यस्तै किसिमको हृदयविदारक घटना भयो ।

दाङको तुलसीपुर उपमहानगरपालिका १९ बिजौरीका २४ वर्षीय रमेश थापा साथीहरुसँग वनभोज खान बबई नदीको किनार पुगेका थिए ।

टिकटक बनाउन भनेर नदीको झोलुङ्गे पुलमा राखिएको सपोर्ट तारमा झुन्डिन पुगेका उनको त्यहाँबाट झरेर मृत्यु भएको थियो ।

साथीहरुले रोक्ने प्रयास गर्दागर्दै पनि मदिराको नशामा रहेका थापा तारमा झुन्डिन पुगे । लामो समय झुन्डिएपछि हात गलेर उनी झन्डै २० मिटर तल बगरमा खसेका थिए । टाउको, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनको उपचारकै क्रममा २ दिन पश्चात् मृत्यु भयो ।

भाइरल हुने चक्करमा हराउँदै संवेदना

केही वर्षअघि ईटालीमा एउटा तस्वीर निक्कै आलोचित बन्यो । उक्त तस्वीरमा रेलले ठक्कर दिएर घाइते भएकी महिलालाई उद्धार टोलीले उपचार गरिरहँदा एक युवक भने सेल्फी लिँदै थिए । सो दृश्य एकजना फोटो पत्रकारले आफ्नो क्यामेरामा कैद गरे ।

‘अब चाहिँ मान्छेमा रत्तिभर मानवता बाँकी रहेन’ भन्ने क्याप्सन राखिएको त्यो फोटो भाइरल भइदियो । सामाजिक सञ्जालमा निक्कै आलोचित बन्यो त्यो तस्वीर ।

फोटो पत्रकारका अनुसार सेल्फी लिने क्रममा युवक अझ दुईवटा औँला देखाएर (भिक्ट्री) पोज पनि दिँदै थिए रे ! यसको अर्थ जित वा विजय प्राप्त भन्ने हुन्छ ।
आँखा अगाडि कोही व्यक्ति आफ्नो मृत्युसँग जुधिरहँदा अर्को मान्छे ‘भिक्ट्री’ को पोज दिएर सेल्फी खिच्नुले मानव प्रवृत्ति कुन दिशातर्फ जाँदैछ भन्ने संकेत गर्छ ?

के फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल हाम्रा ‘लाईफ लाइन’ बनिसकेका हुन् त ? अनि त्यहाँ पाइने लाइक र कमेन्ट हाम्रा खुराक ? के सामाजिक बन्ने चक्करमा हाम्रो संवेदना हराएको हो ?

यस्ता घटनाहरु प्राय सामाजिक सञ्जालमा ‘भाइरल’ हुने चक्करमा फोटो, भिडियो खिच्ने क्रममा हुने गरेका छन् ।
सत्यमलाई पनि यस्तै जोखिमपूर्ण, विचित्रका तस्वीर खिच्ने सोख पहिल्यैदेखि थियो । उनले आफ्नो फेसबुक पेजमा त्यस्ता फोटोहरु राख्नुले पनि यही कुरा पुष्टि गर्दछ ।

नो सेल्फी जोन !

सेल्फी नितान्त व्यक्तिगत कुरा हो । सेल्फी लिने/नलिने, कहाँ र कस्तो हदसम्म लिने भन्ने कुरा फगत मनोवैज्ञानिक उपज हो । त्यसैले सेल्फी लिन पूर्णरुपमा प्रतिबन्ध लगाएर नियम कानूनले यसलाई कसेर यसबाट हुने घटनाहरुलाई न्यूनीकरण गर्न शायदै सम्भव होला ।

यस्तो अवस्थामा सेल्फीका कारण दिनानुदिन भइरहेका घटनालाई कसरी न्यूनीकरण गर्ने त ?

मनोविद करुणा कुवँर भन्छिन्, ‘बालबालिकालाई सानैदेखि घरमा, विद्यालयमा यस्ता जीवनोपयोगी कुराहरु सिकाइरहनुपर्छ ।’ आजभोलि सानै उमेरदेखि केटाकेटीमा बढी सेल्फी क्रेज हुने भएकाले उनीहरुलाई यसका कारण संसारमा कस्ता घटनाहरु भइरहेका छन् भनेर वेलावेला भनिरहनुपर्ने बताउँछिन् मनोविद् कुँवर ।

‘यसो गर, त्यसो नगर भनेर बन्देज लगायो भने केटाकेटीहरु झन् त्यही काम गर्न उत्सुक हुन्छन्,’ कुँवर अगाडि थप्छिन्, ‘त्यसैले उनीहरुको स्वविवेकले सही र गलत छुट्याउन सक्ने बनाउनुपर्छ जुन जिम्मेवारी अभिभावक, शिक्षक वा आफ्ना आफन्तको रहन्छ ।’
सामाजिक सञ्जालमा हुने टिकाटिप्पणी, लोकप्रिय बन्ने होडबाजी, अदृश्य प्रतिस्पर्धा जस्ता कुराहरुका बारेमा राम्रोसँग बुझेर यसबाट रत्ति पनि प्रभावित नहुन आग्रह गर्छिन् मनोविद कुँवर ।

सेल्फीले गर्दा मानिस काल्पनिक दुनियामा बढी रमाउन थाल्ने र वास्तविक जीवनसँग विमुख हुँदै जाने भएकाले आफूलाई सेल्फीको मोह कति छ भनेर व्यक्ति आफैले मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ । कुँवरका अनुसार दिनको ६ वटा भन्दा बढी सेल्फी लिनु घातक हो । यसलाई लत मान्न सकिन्छ । यस्ता व्यक्तिले चाँडै नै विज्ञबाट परामर्श लिनुपर्ने सुझाउँछिन् मनोविद करुणा कुँवर ।

सामूहिक वा राज्यको स्तरबाट यस्ता घटनाहरुमा लगाम लगाउन के कस्ता पहल गर्न सकिन्छ भन्ने विषयमा उनी भन्छिन्, ‘नो सेल्फी जोन निर्धारण गरिदिने ।’

‘जोखिमपूर्ण, भीरालो, गहिरो वा दुर्घटना हुनसक्ने स्थानहरुमा सरकार वा स्थानीयवासीको पहलमा ‘सेल्फी खिच्न मनाही’ लेखिएका बोर्ड राख्ने सल्लाह दिन्छिन् कुँवर ।

‘यसो गर्दा कम्तीमा दण्ड सजायकै डरले भएपनि मानिसहरु सतर्क हुन्छन् ।’

सेल्फीका कारण सबैभन्दा धेरै मृत्यु हुने राष्ट्र भारत

सामाजिक सञ्जाल, सेल्फी, डिजिटल मिडिया जस्ता शब्दावली हाम्रा लागि केहि समयअघिदेखि मात्रै परिचित हुन् । छोटो समयमै यिनले मानव जीवनमा गहिरो प्रभाव पारिसकेको भएतापनि यस शीर्षकमा अध्ययन, अनुसन्धान भने कमै भएका छन् । त्यसैले यस्ता विषयमा तथ्याङ्कहरु संकलन गर्न गाह्रै छ अहिले ।

यद्यपि अखिल भारतीय आयुर्विज्ञान संस्थानका विद्यार्थीहरुले ‘जर्नल अफ फेमिली मेडिसिन एण्ड प्राइमरी केयर’मा एक शोधपत्र प्रकाशित गरेका छन् जसले सेल्फी लिने क्रममा हालसम्म भएको मृत्युमा सर्वाधिक घटना भारतमा भएको देखाएको छ । उक्त अनुसान्धान अनुसार भारतलाई पच्छ्याउँदै रुस, अमेरिका र पाकिस्तान क्रमश दोस्रो, तेस्रो र चौंथो स्थानमा परेका छन् ।

अनुसन्धानमा सन् २०११ को नोभेम्बरदेखि २०१७ को बीचमा भएका घटनाहरुलाई आधार मानिएको छ । यस अवधिमा भएका १३७ घटनामा कूल २५९ जनाको मृत्यु भयो । जुन प्रायजसो भारतमै भएको हो ।

आयुर्विज्ञान संस्थानको सो अनुसन्धानले यस्ता घटनामा परी मृत्यु हुनेमा ७५.२ प्रतिशत पुरुष र २७.५ प्रतिशत महिला रहेको देखाएको छ ।
त्यस्तै, उमेर समूहको आधारमा हेर्ने हो भने दुर्घटनामा ज्यान गुमाउने सङ्ख्या युवा र किशोरावस्थाका केटाकेटीको बढी रहेको छ ।

अप्ठेरो ठाउँ र प्रतिकूल अवस्थामा सेल्फी लिने क्रममा भएका केही दर्दनाक मृत्युहरु :

भारत : रेलमा यात्रा गरिरहँदा ढोका भन्दा बाहिर ढल्केर एक युवक सेल्फी लिन खोज्दै थिए । दुर्भाग्यवश उनको खुट्टा चिप्लिएर उनी रेलबाट खसे । युवकलाई बचाउन उनका ३ जना साथी पनि रेलबाट हाम फाले तर अगाडिबाट आइरहेको रेलको ठक्करबाट उनीहरुको पनि मृत्यु भएको थियो ।

इंगल्याण्ड : सि फर्ड प्राकृतिक आरक्षण क्षेत्रमा रहेको भीरमा उफ्रेर पोज दिने क्रममा एक २३ वर्षीया युवतीको मृत्यु भएको थियो ।

श्रीलंका : कहवा रेलवे ट्र्याकमा एक नवविवाहित जोडी सेल्फी लिँदै थिए । ट्रेनको ठक्करमा परेर दुर्भाग्यवश बेहुलाको लागि त्यही सेल्फी जीवनकै अन्तिम सेल्फी हुनपुग्यो भने बेहुली गम्भीर घाइते भइन् ।

रुस : १२ वर्षीया एक बालिका सेल्फी खिच्नलाई १७ औँ तलाको बरण्डामा चढ्ने क्रममा त्यहाँबाट खसेर उनको मृत्यु भयो ।

पाकिस्तान : कुँहर नदीमा सेल्फी लिने क्रममा ११ वर्षीया बालिका पानीमा डुबिन् । उनलाई बचाउन उनकी आमा पनि पानीमा हाम फालिन् । आफ्नी छोरी र श्रीमतीलाई डुबेको देखेर बाबु पनि हतारहतार हाम फाले । दुर्भाग्यवश एकै परिवारका तीन सदस्यको चिहान त्यहि नदीमा भयो । यो दृश्यका प्रत्यक्षदर्शी त्यस दम्पतीका ६ वर्षीय छोरा थिए । यस घटना पछि पनि सोही नदीमा यसै गरी सेल्फी खिच्ने क्रममा दुईजनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?