प्रधानमन्त्री ओली र प्रचण्ड मिल्न सक्ने ५ संकेत (भिडियो रिपोर्ट)

काठमाडौं- पार्टी एकता (२०७५ साल जेठ ३ गते) को मसी सुक्न नपाउँदै आन्तरीक लफडा र आरोप/प्रत्यारोपमा होमिएर प्राप्त शक्ति क्षीण बनाउन पुगेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पछिल्लो ८ महिना निकै जटिल मोडमा गुज्रियो ।

अनेकन प्रयास र थामथुम गरेर पार्टीभित्रको किचलो हरेकपल्ट ढाकछोप गरेको नेकपाको लागि गत असार १० गतेको स्थायी कमिटी बैठक अभिशाप सावित भयो ।

असारमा पटक-पटक सारिँदै बसेको स्थायी कमिटी बैठकपछि सतहमा आएको विवाद अनेकन अप्ठेरोले बहुमतप्राप्त पार्टी शक्ति क्षीण अवस्थामा मात्रै पुगेन । त्यसपछिका घटना र तिनका उपक्रमले नेकपा पूर्णत: स्खलित नै भयो ।

सचिवालय बैठकमा पार्टीका अध्यक्षद्वयले ल्याएको राजनीतिक प्रतिवेदन, आरोप/प्रत्यारोप, बैठक बहिष्कार, दुई अध्यक्षको टकरावदेखि ‘कसै गरेर पनि मिल्न नसक्ने हठी प्रवृत्ति’ हाबी भइरहेका कारण नाङ्गिएको नेकपाको चरित्र एकाएक पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधीसभा विघटन  गरेपछि नेकपा प्रष्टै रुपमा दुई कित्तामा विभाजित भयो ।

प्रतिनिधिसभा विघटन गरेका ओलीको समर्थनमा कतै दीपावली त कतै विरोध प्रदर्शन भए । चरम मतभेदका कारण दुई कित्तामा उभिएका दुवै पक्षले सूर्य चिन्ह आफ्नो भागमा पर्नुपर्ने भन्दै निर्वाचन आयोगमा गुहारिरहेका छन् । यसैबीच सरकारले घोषणा गरेको मितिमा निर्वाचन गराउन निर्वाचन आयोगले सर्वदलीय छलफल गरेको छ ।

यहि बीचमा ओली पक्ष र प्रचण्ड नेपाल पक्षले आ – आफ्नै हिसावले एउटै पार्टी पुनर्गठन गरे ।

उता निर्वाचन आयोगबाट आधिकारिता पाउने र सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना हुने विश्वास प्रचण्ड-नेपाल पक्षसँग छ । यता ओली पक्ष पनि अदालतले आफ्नै पक्षमा निर्णय गर्नेमा विश्वस्त छन् ।

अझ प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले ‘ताजा जनादेशका लागि जनताकोबीचमा जान तयार रहन’ भनिरहेका छन् । यही रस्साकस्सीका बीच जसरी राजनीतिक गतिविधि अघि बढिरहेको छ, यसलाई लिएर नेकपाको एकताभन्दा विभाजन सहज हुने राजनीतिक विश्लेषक बताउँछन् । पार्टीको विवादका कारण सिंगो व्यवस्थामाथि प्रहार भयो भन्दै आम नागरिक, वुद्धिजीवि, नागरिक अगुवा, विश्लेषक, पत्रकारले चिन्ता व्यक्त गरिरहेका छन् ।

लोकपथसँगको कुराकानीमा निर्वाचन आयोगले यथासक्य नेकपाको वैधानिकता र सूर्य चिन्ह कुन पक्षलाई दिने भन्ने बारे निर्णय दिन तयारी गरिरहेको बताएको छ ।

व्यवस्था नै बदलिने हिसाबले प्रधानमन्त्रीको हठात् निर्णय आएपछि यी दुवै पक्षले आफूले बोल्न पाएसम्मका हरेक मञ्चमा एकअर्काविरुद्ध आगो ओकलेका छन् । यसैले पनि सिंगो व्यवस्थाको विरुद्धमा भएका पछिल्ला राजनीतिक गतिविधिका कारण निराश भएका जनताले नेताहरुका पछिल्ला भाषण हेरे/सुनेपछि पार्टी फुटिसकेको बुझेका छन् । तर यो पार्टी औपचारिक रुपमा फुटेको छैन । किनकी यसले वैधता पाएको छैन । अर्थात् कानूनी रुपमा नेकपा विभाजन भएको छैन ।

दुवै पक्ष ओली/प्रचण्ड-नेपाल एकअर्काविरुद्ध यसरी खनिएका छन् कि अब फुटभन्दा अर्को विकल्प नै छैन भनिएको वर्तमान परिस्थितीमा लोकपथलाई प्राप्त केहि क्लूले सत्तारुढ नेकपामा फेरि एकता हुनसक्ने संकेत भने देखिएको छ ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?