काठमाडौँ । भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरे अनुसारको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप कहिले आउने भन्ने अन्योल चिर्दै छिमेकी मुलुकबाट सबैभन्दा पहिले खोप आउने सुनिश्चित भएको छ ।
भारत सरकारले त्यसका लागि प्रक्रिया शुरू गरिसकेको भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले जानकारी दिए । ‘अबको केही दिनमा नै भारत सरकारका तर्फबाट नेपाललाई प्रदान गरिने खोपको घोषणा गरिँदैछ, त्यसपछि पहिलो चरणको खोप नेपाललाई पठाउनेछ,’ उनले भने । नेपाललाई दिने खोपको घोषणा लगत्तै खोप ढुवानीको अन्य प्रक्रिया शुरू हुने उनले स्पष्ट पारे ।
राजदूत आचार्यका अनुसार निकटको छिमेकी मुलुकको नाताले पनि भारतबाट खोप नेपाल भित्र्याउने सवालमा निकै राम्रो प्रगति भएको छ । भारतबाट आउने खोपको केही मात्रा अनुदानको हुनेछ भने अन्य खरिद प्रक्रियाअनुसार हुने सम्भावना रहेको छ ।
नेपालको कूल जनसंख्यालाई पुग्ने खोप भारतबाटै ल्याउन पहल भइरहे पनि पहिलो चरणमा कूल जनसंख्याको ३ प्रतिशत खोप भारतबाट आउने छ । राजदूत आचार्यले खोप नेपाल भित्र्याउनका लागि खोपको अन्तिम परीक्षण चलेकै बखतदेखि पहल थालेका थिए । जसका लागि त्यहाँस्थित खोप निर्माता तथा स्वास्थ्य मन्त्रालयका पदाधिकारीसँग संवाद गरेर नेपालमा खोप भित्र्याउने वातावरण बनाएका थिए । भारत बायोटेकले कोभिड–१९ विरुद्धको खोप विकास गरेको हो ।
राजदूत आचार्यले नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप भारतबाट ल्याउने तयारी रहेको बताए । शुरूआतमा आउने ३ प्रतिशत भने अग्रमोर्चामा रहेर काम गरिरहेकाका लागि प्रयोग गरिने छ । दोस्रो चरणमा आउने १७ प्रतिशत खोप भने जोखिममा रहेका समूहका लागि हुने गरी ल्याइने प्रक्रिया अगाडि बढेको छ ।
नेपाललाई भारतबाट खोप सुनिश्चित गर्न केही दिनअघि भारतमा भएको संयुक्त आयोगको बैठकले ठूलो भूमिका खेलेको राजदूत आचार्यले जानकारी दिए । बैठकमा भाग लिन भएका परराष्ट्रमन्त्री सहितको प्रतिनिधिमण्डलसामु भारतका विदेशमन्त्री डा. सुब्रमन्यम जयशंकरले खोप नेपाललाई आवश्यकताअनुसार दिने प्रतिबद्धता जनाएका थिए । गोरखापत्र दैनिकमा समाचार छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया