गुटगत निर्णय लिएर नेकपाका नेताहरु गाउँगाउँमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका शीर्ष नेताहरू गुटगत निर्णय एवं सन्देश लिएर अहिले गाउँगाउँमा कार्यक्रम गर्न व्यस्त भएका छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले पार्टी एकताको सन्देश र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले जिल्लाजिल्लामा आमसभा, भेला, बैठकलगायतका कार्यक्रम गर्ने निर्णय गरेको थियो ।

तर पार्टीको निर्णयअनुसार कार्यक्रम गर्न जिल्ला पुग्न नसकेका शीर्ष नेताहरू अहिले गुटगत निर्णयका सन्देश लिएर गाउँगाउँसम्म पुगिरहँदा आम कार्यकर्तामा अन्योल र निराशा छाइरहेको छ । यद्यपि दुवै समूहले आआफ्नो कार्यक्रममा कार्यकर्ताहरू उत्साहका साथ लागिपरिरहेको दाबी गर्दै आएका छन् ।

पार्टी एकतापछि कार्यकर्ता र नेताका बीचमा कम संवाद एवं भेटघाट हुने गरेको भए पनि अहिले गुटगत विषयमा घनिष्ट रूपमा कुराकानी हुँदा त्यसले पार्टीलाई उन्नत बनाउन नसक्ने कार्यकर्ताको गुनासो छ । केही शीर्ष नेताको अडान र हठका कारण नेकपा दुई समूहमा विभाजित भइसकेको छ । विचार र सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको लडाइँका कारण पार्टी विभाजन हुन पुगेको आम कार्यकर्ताको बुझाइ छ ।

५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध नेकपा दाहाल–नेपाल समूह आन्दोलित छ भने नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समूह भने निर्वाचनको तयारीमा जुटेको छ ।

दुवै समूहको पछिल्लो बैठकले एकले अर्कालाई कारबाही गर्दै आफू निकटका नेतालाई जिम्मेवारी तोक्ने क्रम जारी छ । एकले अर्कोलाई आरोप लगाउँदै विरोध र गाली गलौज गर्ने क्रम पनि रोकिएको छैन । गुटगत निर्णय लिएर अहिले शीर्ष नेताहरू जिल्लाजिल्लामा भेला, बैठक, प्रशिक्षण गर्नमा नै रमाइरहेका छन् ।

आआफ्नो समूहको नेकपा आधिकारिक नेकपा भएको भन्दै तल्लो तहका नेता, कार्यकर्तालाई आफ्नै समूहमा लाग्न नेताहरू फकाउँदै छन् । कतिपय नेताहरू कार्यकर्ताको घरघरसम्म पुग्ने गरेका छन् । कानुनी रूपमा पार्टी नफुटे पनि व्यवहारतः पार्टी फुटेकै अवस्थामा पुगिसकेको छ ।

पार्टी आधिकारिकताबारे निर्वाचन आयोगले दुवै समूहका निर्णय अध्ययन गरिरहेको छ । दुवै समूहले अहिले काठमाडौंमा युवा, विद्यार्थी, महिलालगायतका भेला, बैठक सम्पन्न गरेका छन् । नेकपा स्रोतका अनुसार बाँकी भ्रातृसंगठनका भेला तथा बैठक छिटै हुनेछ । पार्टी एकता पछि हुन नसकेको भेलाबैठकले अहिले तीव्रता पाएको नेकपा नेताहरू बताउँछन् । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?